काठमाडौं । ९० मिनेटको मेहनत फुटबलमा कहिलेकाहीँ केही सेकेन्डले सिध्याइदिन्छ । ‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ १६’मा यस्तै क्षण इतिहास बन्यो । खेल अतिरिक्त समय पुग्ने लगभग निश्चित देखिएको अवस्थामा स्पेनका मिकेल मेरिनोले ‘इन्जुरी टाइम’मा गरेको निर्णायक गोलले पोर्चुगललाई १–० ले पराजित ग¥यो ।
यससँगै स्पेनले क्वार्टरफाइनल स्थान सुरक्षित ग¥यो भने क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने जीवनभरको सपना अन्ततः अधुरै रह्यो । अन्तिम सिटी बज्नेबित्तिकै स्पेनी खेलाडी खुसीले उफ्रिरहे । मैदानको अर्को कुनामा भने पोर्चुगलका कप्तान रोनाल्डो भावुक बनेर आँसु रोक्ने कोशिश गरिरहेका थिए । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने रोनाल्डोका लागि यो हारमात्रै थिएन, सम्भवतः विश्वकप मञ्चसँगको अन्तिम बिदाइ पनि थियो । सुरुदेखि नै दुवै टोलीले आक्रामक फुटबल खेले । स्पेनले बलमा नियन्त्रण राख्दै पोर्चुगलको रक्षापंक्तिमाथि दबाब बनायो भने पोर्चुगलले तीव्र ‘काउन्टर अट्याक’मार्फत जवाफ फर्काइरह्यो ।
पहिलो हाफमा स्पेनले गोल गर्ने केही उत्कृष्ट अवसर सिर्जना ग¥यो । मिकेल ओयारजाबालले खाली पोस्टतर्फ गरेको प्रहार लक्ष्यबाहिर जाँदा स्पेन अग्रता लिनबाट चुक्यो । त्यसपछि एलेक्स बेनाको घुमाउरो प्रहारलाई गोलकिपर डियोगो कोस्टाले सानदार बचाउ गर्दै पोर्चुगललाई ठूलो संकटबाट जोगाए । पोर्चुगल पनि कम खतरनाक थिएन । कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार आक्रमणको नेतृत्व गरे । नुनो मेन्डेसको डिफ्लेक्टेड प्रहार क्रसबारमा लाग्दा स्पेनी समर्थकको मुटु एकछिन रोकिएजस्तै भयो । तर, भाग्य पोर्चुगलको पक्षमा उभिन सकेन ।
दोस्रो हाफमा बढ्यो तनाव
दोस्रो हाफमा खेल अझ रणनीतिक बन्दै गयो । दुवै टोलीले गल्ती नगर्ने प्रयास गरे । स्पेनले बलमा नियन्त्रण कायम राखे पनि पोर्चुगलको अनुशासित रक्षापंक्ति भत्काउन सकेन । अर्कोतर्फ, पोर्चुगलले पनि केही राम्रो अवसर सिर्जना गरे पनि अन्तिम टच अभावले गोल निस्कन सकेन । समय बित्दै जाँदा खेल अतिरिक्त समय जाने अनुमान बलियो बन्दै थियो । स्टेडियमभरि समर्थक अतिरिक्त ३० मिनेटको तयारी गरिरहेका थिए । तर, फुटबलले फेरि एकपटक अन्तिम क्षणको नाटकीयता देखायो ।
मेरिनो बने स्पेनका नायक
‘इन्जुरी टाइम’को पहिलो मिनेटमा स्पेनका दुई वैकल्पिक खेलाडीले खेलको कथा नै बदलिदिए । फेरान टोरेसले दायाँतर्फबाट सटीक पास उपलब्ध गराए र मिकेल मेरिनोले एक स्पर्शमै बललाई जाली चुमाए । मेरिनोको त्यो गोलसँगै स्पेनी खेलाडी उत्सवमा डुबेका थिए भने पोर्चुगिज खेलाडी स्तब्ध बने । रोनाल्डो निराश मुद्रामा घुँडा टेकेर बसिरहेका थिए । केही क्षणपछि रेफ्रीले अन्तिम सिटी बजाए र स्पेन क्वार्टरफाइनलमा पुग्यो ।
दुई पुस्ताको प्रतीकात्मक भिडन्त
यो खेललाई धेरैले दुई फरक युगबीचको भेटका रूपमा पनि हेरे । एकातिर १९ वर्षीय लामिन यामाल थिए, जसलाई भविष्यका विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ । अर्कोतर्फ ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो, जसले दुई दशकभन्दा बढी समय विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राखे । रोनाल्डोले पूरा ९० मिनेट मैदानमा बिताए । उनले केही अवसर सिर्जना गरे पनि स्पेनको संगठित रक्षापंक्ति र गोलकिपर उनाई सिमोनलाई पार गर्न सकेनन् । मेरिनोको एक गोलले दुई पुस्ताबीचको यो ऐतिहासिक भिडन्तको फैसला गरिदियो ।
स्पेनको ऐतिहासिक उपलब्धि
यो जितसँगै स्पेनले अर्को उल्लेखनीय कीर्तिमान पनि बनायो । टोलीले लगातार छैटौं विश्वकप खेलमा विपक्षीलाई गोल गर्न नदिँदै ‘क्लिन शीट’ कायम राख्यो, जुन विश्वकप इतिहासमै दुर्लभ उपलब्धि मानिन्छ । अब स्पेनले क्वार्टरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
अब केही समय परिवारसँग बिताउँछु र त्यसपछि भविष्य’bout सोच्ने छु
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले निराशा लुकाएनन् । ‘यसरी विश्वकपबाट बाहिरिनु निकै पीडादायी छ । मैले आफ्नो सम्पूर्ण शक्ति दिएँ, कुनै कसर बाँकी राखिनँ,’ उनले भने, ‘हो, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताउँछु र त्यसपछि भविष्य’bout सोच्ने छु । म भावनामा बगेर निर्णय लिने व्यक्ति होइन ।’ पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको पनि उनले खुलेर प्रशंसा गरे ।
‘उनी उत्कृष्ट प्रशिक्षकमात्र होइन, असाधारण व्यक्ति पनि हुन् । पोर्चुगलका लागि उनले गरेको योगदान प्रशंसनीय छ । म उनलाई धन्यवाद दिन चाहन्छु र भविष्यका लागि शुभकामना दिन्छु’ रोनाल्डाले भने । हार’bout प्रतिक्रिया दिँदै उनले थपे, ‘ठूला प्रतियोगिताबाट बाहिरिनु सधैं पीडादायी हुन्छ । हाम्रो टोली निरन्तर सुधार भइरहेको थियो । खेल जुनसुकै दिशामा जान सक्थ्यो । तर, फुटबल यस्तै हो । अब हामीले फेरि उठ्नुपर्छ ।’
अधुरै रह्यो रोनाल्डोको अन्तिम सपना
४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले खेलअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने संकेत दिएका थिए । त्यसैले यो हार एउटा प्रतियोगिताबाट बाहिरिनुमात्र थिएन, विश्व फुटबलका महान् अध्यायमध्ये एकको अन्त्यतर्फको संकेत पनि थियो । विश्वकप करियरमा उनले २७ खेल खेल्दै ११ गोल गरेका छन् । लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो पुरुष फुटबलर बनेर उनले इतिहास रचेका छन् । तर, सबै व्यक्तिगत उपलब्धिका बाबजुद ‘विश्वकप ट्रफी’ भने उनको हातमा कहिल्यै परेन । पोर्चुगलका समर्थकका लागि यो हार झन् पीडादायी बन्दा उनीहरूले अन्तिमपटक रोनाल्डोलाई विश्वकपको मञ्चमा देखिरहेका थिए ।
आयोजक अमेरिका बेल्जियमसँग स्तब्ध
‘राउन्ड अफ १६’को बहुप्रतीक्षित खेलमा युरोपेली शक्ति बेल्जियमले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै सहआयोजक संयुक्त राज्य अमे रिकालाई ४–१ ले पराजित गरेको छ । सियाटलमा सम्पन्न खेलमा बे ल्जियमले सुरुवाती मिनेटदेखि नै आफ्नो प्रभाव जमाउँदै घरेलु टोलीलाई कुनै पनि समय खेलमा सहजरूपमा फर्किन दिएन । आक्रामक आक्रमण, उत्कृष्ट पासिङ, सन्तुलित मिडफिल्ड र मजबुत रक्षात्मक प्रदर्शनका कारण बेल्जियमले एकपक्षीयजस्तै देखिएको खेलमा प्रभावशाली जित निकाल्दै ‘अन्तिम ८’मा स्थान सुरक्षित ग¥यो । यो नतिजासँगै बेल्जियमले विश्वकप उपाधितर्फको आफ्नो यात्रा थप मजबुत बनाएको छ । टोलीले अब क्वार्टरफाइनलमा अर्को युरोपेली महारथी स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । स्पेनले आफ्नो ‘राउन्ड अफ १६’को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको होे । त्यसैले दुई बलिया युरोपेली टोलीबीच हुने आगामी भेटलाई यस विश्वकपकै सबैभन्दा रोमाञ्चक र उच्चस्तरीय प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ ।
यसअघि, खेल सुरुवातदेखि नै बेल्जियम आत्मविश्वासले भरिएको देखियो । बलमाथिको नियन्त्रण, तीव्र गतिमा आक्रमण निर्माण गर्ने शैली र विपक्षीको रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्ने रणनीतिले अमेरिकालाई सुरुदेखि नै कठिन अवस्थामा पु¥यायो । यसको प्रतिफलस्वरूप खेलको नवौं मिनेटमै चाल्र्स डे केटेलेरले टोलीका लागि पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । विपक्षीको रक्षात्मक कमजोरीको भरपुर फाइदा उठाउँदै उनले गरेको उत्कृष्ट फिनिसिङले बेल्जियमलाई थप आत्मविश्वासी बनाएको थियो ।
प्रारम्भिक गोलपछि पनि बेल्जियमले आफ्नो आक्रमणलाई निरन्तरता दियो । अमेरिकाले केही समय बल नियन्त्रणमा सुधार गर्ने प्रयास गरे पनि बेल्जियमको संगठित खेलका कारण स्पष्ट अवसर सिर्जना गर्न सकेन । घरेलु समर्थकले टोलीबाट पुनरागमनको अपेक्षा गरिरहेका बेला ३१औं मिनेटमा मलिक टिलम्यानको प्रहार डिफ्लेक्ट हु ँदै गोलमा परिणत भएपछि खेल १–१ बराबरीमा पुग्यो । स्टेडियममा उपस्थित हजारौं समर्थक खुसीले उत्साहित बने र अमेरिकाले खेलमा फर्किने संकेत देखायो । तर, त्यो उत्साह धेरैबेर टिकेन । बराबरी गोल भएको दुई मिनेट नबित्दै बेल्जियमले फेरि आफ्नो उत्कृष्ट आक्रमण ग¥यो । चाल्र्स डे केटेलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । पहिलो हाफ २–१ को अवस्थामा सकिँदा बेल्जियम सबै क्षेत्रमा अमेरिकाभन्दा माथि देखिएयो ।
बेल्जियमका मिडफिल्डरले खेलगति नियन्त्रण गर्दै अमेरिकालाई बलमाथि लामो समय नियन्त्रण जमाउनै दिएनन् । यही दबाबबीच ५७औं मिनेटमा हान्स भानाकेनले सुन्दर गोल गर्दै बेल्जियमको अग्रता ३–१ मा पु¥याए । खेल अन्तिम समय अमेरिकाले केही अवसर सिर्जना गर्ने प्रयास गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
यद्यपि, इन्जुरी समय अन्त्यतिर अनुभवी फरवार्ड रोमेलु लुकाकुले अर्को गोल थप्दै बेल्जियमको जितलाई अझ फराकिलो बनाए । उनले गरेको गोलसँगै स्कोर ४–१ पुग्यो र बेल्जियमले प्रभावशाली शैलीमा क्वार्टरफाइनल यात्रा तय ग¥यो । अन्तिम सिट्टी बज्नेबित्तिकै बेल्जियमका खेलाडी र समर्थक उत्सवमा रमाए भने घरेलु टोलीका समर्थक निराश देखिए । यस खेलमा बेल्जियमको टोलीगत प्रदर्शन विशेष प्रशंसायोग्य रह्यो । आक्रमणदेखि रक्षासम्म सबै विभागले सन्तुलित खेल प्रस्तुत गरे । चाल्र्स डे केटेलेर दुई गोलसहित जितका मुख्य नायक बने भने हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल गर्दै टोलीको सानदार प्रदर्शनलाई पूर्णता दिए । मिडफिल्डमा बेल्जियमले खेलको लय नियन्त्रणमा राखेको थियो भने रक्षापंक्तिले अमेरिकी फरवार्डहरूलाई प्रभाव जमाउनै दिएन ।
अर्को तर्फ, सह–आयोजक संयुक्त राज्य अमेरिका बराबरी गोलपछि केही समय खेलमा फर्किएझै ं लागे पनि बेल्जियमको उच्चस्तरीय फिनिसिङका कारण अमेरिकी टोली अन्ततः निरीह साबित भयो । प्रतियोगिताबाट बाहिरिएसँगै अमेरिकाको विश्वकप यात्रा ‘राउन्ड अफ १६’मै टुंगिएको छ ।











