नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म

भोजपुर । जनप्रतिनिधि भनेपछि प्रायः प्रशासनिक काममै सीमित हुने धारणाबीच भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदास भने फरक पहिचान बनाउन सफल भएका छन् । सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै बाँकी समयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर उनले नेतृत्वसँगै समृद्धिको सशक्त उदाहरण प्रस्तुत गरेका छन् ।

विगत ३५ वर्षदेखि निरन्तर व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका मेयर उदासले हाल १५ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा करिब ३ सय बोट सुन्तला हुर्र्काएका छन् । अनुभव, निरन्तरता र मेहनतको संयोजनले उनको सुन्तला खेती सफल बन्दै गएको छ ।

सुन्तला बगैँचाबाट मात्रै वार्षिक ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ । व्यावसायिक सुन्तला खेतीबाट ग्रामीण भेगमै बसेर पनि स्थिर आम्दानी लिन सकिने उनको अनुभव छ ।

कृषिमा विविधीकरणलाई जोड दिँदै उनले पाँच वर्षअघि २० रोपनी क्षेत्रफलमा आँप र लिची खेती विस्तार गरेका छन् । अहिले सो क्षेत्रमा करिब २ सय बोट आँप र २ सय बोट लिची रहेको उनको भनाइ छ । विस्तार गरिएका केही बोटले फल दिन शुरु गरेको उनले जानकारी दिए । यी फलफूलका बोटले पूर्ण उत्पादन दिँदा वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

यसैगरी, दीर्घकालीन सम्भावना बोकेको कफी खेतीतर्फ पनि उनको ध्यान गएको छ । दुई रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गरेर उनले भविष्यमा थप आयको स्रोत निर्माण गर्ने प्रयास गरेका छन् । बजारमा कफीको बढ्दो माग र मूल्यका कारण यसले राम्रो प्रतिफल दिने उनको विश्वास छ ।

पूर्व शिक्षक तथा सामाजिक अभियन्ता उदासले २५ वर्ष शिक्षण पेशामा बिताएको अनुभवलाई अहिले कृषि र नेतृत्व दुवै क्षेत्रमा प्रयोग गरिहेका छन् । योजना र निरन्तरतामा विश्वास गर्ने उनको बानीले कृषि कर्मलाई पनि व्यवस्थित बनाएको छ ।

शिक्षण पेसाबाट अवकाशपश्चात सामाजिक कामसँगै व्यावसायिक कृषि पेसामा लागेको भएपनि जनताको साथ सहयोगले नगर प्रमुख बन्ने अवसर मिलेको उनको भनाइ छ ।

‘जनताको काम मेरो पहिलो प्राथमिकता हो,’ मेयर उदास भने, ‘तर बाँकी समयलाई पनि उत्पादनमूलक बनाउनु पर्छ । कृषि मेरो रुचिको विषय मात्र होइन, सम्भावनाको क्षेत्र पनि हो । त्यसैले नगरको जिम्मेवारीसँग कृषि कर्ममा पनि जुटेको छु ।’

कृषि कर्म आम्दानीको माध्यम मात्र नभई आत्मनिर्भरता र सम्मानजनक जीवनको आधार रहेको उनले बताए । बहुवर्षीय बाली जस्तै सुन्तला, कागती, आँप, लिची र कफी एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै पनि वर्षेनी राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ ।

मेयर उदासको सक्रियता व्यक्तिगत सफलतामा मात्र सीमित छैन । अन्य किसानलाई उत्प्रेरित गर्ने लक्ष्यसहित उनले आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित गर्न प्रेरणा दिएको उनको भनाइ छ । ‘राजनीति गर्ने मान्छेले समाजका लागि उदाहरण बन्नुपर्छ,’ उनले भने, ‘काम गरेर देखाउँदा मात्रै अरूलाई विश्वास लाग्छ ।’

उनले जनप्रतिनिधिहरू नीति निर्माण र सेवा प्रवाहसँगै उत्पादनशील क्षेत्रमा पनि सक्रिय हुन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म