‘आक्रोशको आगो’ मा सदाका लागि जले नेपाली

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि यो प्रकरणमा सरकारलाई जिम्मेवार ठहर गर्दै सदनदेखि सडकसम्म प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग भएको छ ।

सडकदेखि सदनसम्म प्रधानमन्त्रीको राजीनामा माग

बिहीबार काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरीले रोकेर राखेको मोटरसाइकलमा ह्वील लक गरिदिएपछि आक्रोशमा नेपालीले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए ।

उपचारका क्रममा उनलाई शुक्रबार वीर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् । उनको मृत्युलगत्तै यो प्रकरणमा सरकारको कमजोरी भन्दै प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बैठकमा सत्तापक्षकै सांसदले समेत यो घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

सरकारले बिहीबार त्रिपुरेश्वरमा डिउटीमा रहेका नगर प्रहरी बलका तीनजना नगर प्रहरी पक्राउ गरी घटनाको छानबिन गर्न समिति बनाइसकेको छ । तर नेपालीको मृत्युपछिको आक्रोश भने सदनदेखि सडकसम्म पुगेको छ ।

आत्मदाह प्रकरणमा सरकार जिम्मेवार भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरिएको छ । राजधानीमा बसोबास गर्ने मुगेलीहरुको अगुवाइमा माइतीघर मण्डलमा जम्मा भएका युवा विद्यार्थीले बालेनको पुत्ला जलाएका हुन् ।

आत्मदाह गरेका गणेश नेपालीलाई न्याय माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको पुत्ला दहन गर्दै भीड उत्तेजित भएपछि घटनास्थलमा तैनाथ प्रहरीको रिपोर्टिङको आधारमा गृहमन्त्री सुधन गुरुङले ब्यारिकेड लगाएर भीड नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री शाहको विरोधमा पुत्ला दहन र विरोध प्रदर्शन भएपछि झडपको अवस्थासमेत सिर्जना भएको थियो । प्रदर्शनकारीले सरकारविरोधी नारा लगाएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएर गृह मन्त्रालयले पीडित नेपालीका परिवारसँग वार्ता सुरु गरेको छ ।

सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको राजीनामा मागिएको छ । माइतीघर मण्डलामा नागरिक समाजका विभिन्न समूहले जुलुस निकालेर प्रधानमन्त्री शाहको राजीनामा मागेका छन् । गृहमन्त्री सुधन गुरुङले संसद्मा बोल्दै काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेको क्रियाकलापले घटना भएको भन्दै स्थानीय सरकारतिर औंलो तेस्र्याएपछि नागरिकहरू झन् आक्रोशित छन् ।

सदन र सडकले सम्झियो बालेन, रवि र विक्रमको त्यो अभिव्यक्ति
सन् २०२३ मा इलामका प्रेमप्रसाद आचार्यले बानेश्वरमा आत्मदाह गरेको घटनालाई लिएर वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालगायतका रास्वपा नेताले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग तथा राज्य असफलता भएको चित्रण गरेका स्टाटसहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनीहरूलाई पूर्ववत् धारणामा उभिएर नैतिक जिम्मेवारी लिई राजीनामा दिन दबाब बढाइएको हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले समेत रास्वपाका नेताहरूले आचार्यको आत्मदाहका बेला व्यक्त गरेको धारणा सम्झँदै नेपालीको आत्मदाहमा विगतका अभिव्यक्ति लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् । बैठकमा बोल्दै नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको पुरानो धारणा नै पढेर सुनाउँदै बिहीबारको घटनामा उनको धारणा के हो भनेर प्रश्न गरे ।

माइतीघर मण्डलामा भेला भएको आक्रोशित भीडले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेपसमेत गरेको छ ।

मनोविद् भन्छन्– भरोसा टुटेपछि मर्ने मन आउँछ
गणेश नेपाली आत्मदाह घटना नगरप्रहरीसँगको विवादको परिणाम मात्र नभई लामो निराशा, पीडाबोध, कुण्ठा र डिप्रेसनको परिणाम भएको मनोचिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय राजनीतिक परिवर्तन, सामाजिक अवस्थाको सुधार चाहने सचेत युवाहरूमा समेत तत्काल परिवर्तन नभएका कारण असन्तुष्टि सिर्जना भइरहेको भए पनि राजनीतिक र सामाजिक असन्तुष्टिले मात्रै आत्महानीको अवस्थामा मानिस नपुग्ने मानसिक अस्पताल ललितपुरका पूर्वकार्यकारी निर्देशक तथा वरिष्ठ साइक्याट्रिक डा. अनन्त अधिकारी बताउँछन् ।

देशमा युवाका लागि बस्ने अवस्था भएन भन्दै जेनजी आन्दोलनमा उत्रिएका गणेश जेनजी आन्दोलनपछि भएको परिवर्तन र निर्वाचनसम्म निकै उत्साही भएपनि केही समययता देशमै केही गर्न सकिन्छ भन्ने भावनामा थिए ।

गाउँको जग्गा धितो राखेर बाइक किनी पठाओ सञ्चालन गर्न थालेपछिका दिनमा सरकारले गरिखाने वर्गलाई शोषण गर्ने गरी ल्याएका नीति नियमसँग असन्तुष्ट थिए ।

पछिल्ला केही दिनयता पठाओ चालकको रूपमा काठमाडौं महानगर प्रहरीले सताएको विषयमा उनले आफन्तहरुसँग गुनासो गर्ने गरेको मेसेजसमेत सार्वजनिक भएका छन् । आफूले भरोसा गरेर ल्याएको नेतृत्वबाटै परिवर्तनको अनुभूति गर्न नसकिएको महसुस गरेर आत्मदाह गरिएको हुनसक्ने मनोविद्हरू तर्क गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्ली