काठमाडौं । सरकारले गत २६ वैशाखदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि औद्योगिक क्षेत्रभित्र रहेकै अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगसमेत पूर्ण रूपमा सञ्चालन आउन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १० वटा औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ४६ प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन् ।
सञ्चालन आउने अधिकांश उद्योग खाद्य वस्तु र औषधिजन्य उद्योग रहेका छन् । १० वटा औद्योगिक क्षेत्रमा रहेका ५ सय ९७ वटा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगमध्येमा जम्मा ३ सय ३८ वटा उद्योग मात्र सञ्चालनमा छन् । ५ सय ९७ वटा अत्यावश्यक वस्तु उत्पादन उद्योगमध्येमा २ सय ४१ वटा उद्योग बन्द भएका छन् । मन्त्रालयकको तथ्यांक अनुसार लकडाउनअघि ३ सय ३८ वटा उद्योगमा ११ हजार ७ सय ३६ जना मजदुर कार्यरत रहेकामा अहिले ४ हजार ९ सय जना मजदुर मात्र काम गर्दै आएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गत ११ चैतमा सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगमा काम गर्ने ६ हजार ८ सय ३६ जना मजदुर काममा आउन सकेका छैनन् ।
लकडाउनका कारण बजारको माग र उद्योगमा काम गर्ने श्रमिकको अभावले पूर्ण क्षमतामा उद्योग सञ्चालन ल्याउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवनी राणाले बताइन् । सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिएको भए पनि उद्योगबाट उत्पादन गरेको वस्तुको बजारमा माग नहुनु, उद्योग सञ्चालनका लागि एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान सहज रूपमा पासको व्यवस्था नहुनु, उद्योगमा काम गर्ने श्रमिकलाई उद्योगमै बस्न खान क्वारेन्टाइनको सुविधा नहुँदा पूर्ण क्षमतामा उद्योग सञ्चालन ल्याउन नसकेको अध्यक्ष राणाको भनाइ छ । उनले भनिन्, ‘पूर्णरूपमा उद्योग सञ्चालन ल्याउन बजारको माग हुनुपर्छ । खाद्यवस्तु र औषधिबाहेक अन्य वस्तुको अहिले बजार माग नै छैन । उद्योग सञ्चालन ल्याउन र बजारको माग बढाउन अर्थतन्त्रलाई चलायमान बनाउन अब लकडाउनलाई खुकुलो पार्नुपर्ने हाम्रो माग छ, ।’
लकडाउनअघि ३ सय ३८ वटा उद्योगमा ११ हजार ७ सय ३६ मजदुर कार्यरत रहेकामा अहिले ४ हजार ९ सय मात्र कार्यरत छन्
उनले भनिन्, ‘अब उद्योग पूर्णरूपमा सञ्चालन ल्याउन के गर्ने भन्ने विषयमा उद्योग मन्त्रालयसँग छलफल भएको थियो । छलफलमा हामीले अब विस्तारै लकडाउन खोल्नुपर्ने र बजारलाई सामान्य अवस्था ल्याउनुपर्ने माग गरेका छौं । अब पनि लकडाउन लम्ब्याउँदै जाने हो भने अर्थतन्त्र नै तहसनहस हुन सक्छ ।’ लकडाउनका कारण करिब ३०÷३५ प्रतिशत उद्योग मात्र सञ्चालन रहेको उनले बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग पूर्णरूपमा सञ्चालन ल्याउन विभिन्न निजी क्षेत्र उद्योग वाणिज्य महासंघ र अन्य व्यवसायी र सम्बन्धित मन्त्रालयसँग छलफल गरी रायसुझाव संकलन गरिरहेको उद्योगमन्त्री लेखराज भट्टका निजी सचिवालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उनले कृषिसँग सम्बन्धित उद्योग कृषि तथा पशपुन्छी विकास मन्त्रालयले जिम्मा लिने र औषिधजन्य उद्योग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भन्ने तयारी भइरहेको बताए ।
मन्त्रालयको तथ्यांकअनुसार लकडाउनपछि पाँच मुख्य औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको खाद्य उद्योग चामल, चिउरा, दाल, पिठो तेलका उद्योग ५५ प्रतिशत मात्र सञ्चालन छन् । डेरी उद्योग ६० प्रतिशत, दाना, ह्याचरी र पोल्ट्री उद्योग ४० प्रतिशत मात्र सञ्चालन छन् । अन्डा उत्पादनमा समस्या नभएको तर ब्रोइलर उत्पादन गर्ने पोल्ट्री उद्योगको मागमा कमी आएकाले धेरैजस्तो उद्योग बन्द हुँदै आएको मन्त्रालयले जनाएको छ । चाउचाउ, बिस्कुट उत्पादन हुने उद्योग ६० प्रतिशत मात्र सञ्चालन छन् ।
मन्त्रालयका अनुसार खानेपानी उद्योगमा ६० प्रतिशत मात्र उत्पादन भएको छ । होटल रेस्टुरेन्ट सञ्चालन नरहेकाले बोतलको पानीको बन्द भएको छ । बोतल बनाउन चाहिने कच्चा पदार्थ आयात गर्न नसकिएकाले उत्पादन कम आएको जनाएको छ । इँटा उद्योग २० प्रतिशत चिनी उद्योग ४० प्रतिशत सञ्चालन रहेको मन्त्रालय जनाएको छ । अक्सिजन प्लान्ट र खान पकाउने ग्यास रिफिलिङ उद्योग भने पूर्ण क्षमतामा नै सञ्चालन आएको मन्त्रालयले जनाएको छ ।






