कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ ।
वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघु उद्यममार्फत वनले आम्दानी बढाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ ।
करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेका छन् ।
सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै चार लाख ९२ हजार ९०५ रुपैयाँ आम्दानी भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९२ हजार १०५, २०८१/८२ मा एक लाख ३० हजार ९५० र २०८२/८३ मा एक लाख ६९ हजार ८५० रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।
स्थानीय किसानले व्यावसायिक तरकारी खेती, डोको–डालो बुन्न, घर निर्माणमा सटरिङ गर्न, कुखुरापालनका लागि टहरा बनाउन तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन् । प्रजातिअनुसार प्रतिगोटा बाँस २०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ ।
सामुदायिक वनले बाँससँगै फलफूल खेतीलाई पनि विस्तार गरेको छ । वन क्षेत्रमा चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन् ।
दशकअघि लगाइएका ती बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । फलफूल बगैँचा पाँच वर्षका लागि चार लाख रुपैयाँमा ठेक्कामा दिइएको छ ।
सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार उपभोक्ताको आयआर्जन बढाउन दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
आवश्यक मेसिन खरिद गरिसकिएको र उद्योग सञ्चालनअघि उपभोक्तालाई सीपमूलक प्रशिक्षण दिइएको उनले बताए ।
सामुदायिक वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ । यहाँबाट वार्षिक ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ ।
उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा सुकाउन नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर ९सोलार ड्रायर० जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
वनले मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरेको छ ।
साथै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको उनले बताए ।
सामुदायिक वनले संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।
स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्चलाइट वितरण, विद्यालयमा कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण, सडकमा ग्राभेलिङलगायत काम गर्दै आएको छ ।
विपन्न परिवारलाई आयआर्जनमूलक तथा सीप विकास कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सामुदायिक वनले उल्लेखनीय योगदान पुर्याएको उनले बताए ।
सामुदायिक वनले आर्थिक वर्ष २०८२/८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट ७४ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको जनाएको छ ।
एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा सघाउँदै आएको छ ।
सम्बन्धित समाचार
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
योजनाको प्रभावकारिता मूल्यांकन गर्न स्थलगत अनुगमन
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ






