काठमाडौं । नेपाली चलचित्रको इनडोर छायांकनको लागि बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको ‘सिनेपा ः स्टुडियो’को निर्माण कार्य अब अघि बढ्ने भएको छ । यस अघि मुद्दा परेको कारण यो रोकिएको थियो । मुद्दा परेको साबिक ठाउँको सट्टा बनेपा नगरपालिकाले अर्को जग्गा दिएपछि अब यो स्टुडियो निर्माण कार्य अघि बढ्ने भएको छ ।
३० वैशाख २०८२बाट शुभारम्भ भएको यो स्टुडियोको निर्माण कार्यको लागि जग्गा सम्म्याउने क्रममै विवाद बढेको थियो । त्यस पछि यो स्टुडियोका निर्माण कार्य रोकिएको हो । चलचित्र इनडोर छायांकनको लागि दिइएको सार्वजनिक जग्गालाई बनको जग्गा भन्दै एक स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए । त्यस पछि अदालतको आदेशमा छायांकन स्टुडियो निर्माण कार्य रोकिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको यो महत्वकांक्षी परियोजना हो । यसलाई कम्तीमा एक वर्ष भित्र आफ्नो कार्यकालमै निर्माण सम्पन्न गर्न उनी कम्मर कसेर लागेका थिए । मुद्दा परेपछि अदालतले नै निर्माण कार्य नगर्न आदेश दियो । त्यस पछि आफूहरूले लामो समयदेखि यसको निर्माण कार्य रोक्नु परेको अध्यक्ष डिसीको कथन छ ।
चलचित्र क्षेत्रको लागि सरकारले समेत प्राथमिकतामा राखेको यो स्टुडियोको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वैशाख २०८२मा शिलान्यास गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोह बिच स्टुडियोको शिला पत्र अनावरण सहित सुरु गरिएको ‘सिनेपा : स्टुडियो’ निर्माणको जग्गामा मुद्दा नपरेको भए अहिलेसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने अध्यक्ष डिसीले राजधानीलाई बताए ।

यो स्टुडियो’bout अध्यक्ष डिसीले राजधानीसँग भने,‘मेरो कार्यकालमा निर्माण सम्पन्न गर्ने योजना मुद्दाको कारण रोकिए पनि अब बोर्डमा आउने नयाँ अध्यक्षको लागि स्टुडियो निर्माण सहज हुने भएको छ । किनकि यस अघि मुद्दा परेको जग्गाको सट्टा त्यो जग्गाको नजिकै बनेपा नगरपालिकाले नक्सा पास गरेर हामीलाई अर्को नयाँ जग्गा दिएको छ ।’
आफूहरूको लामो संघर्षपछि नगरपालिकाबाट स्टुडियोको लागि जग्गाको कित्ताकाट सहित पास गर्न सफल भएको डिसीले बताएका छन् । स्टुडियोको निर्माण’bout उनले अगाडि थपे,‘यस अघि नै टेन्डर पास भएर निर्माण कार्य अघि बढिसकेको कारण हामीलाई अब बाँकी काम अघि बढाउन गाह्रो छैन । यो आर्थिक वर्ष सकिन लागेका कारण अर्को महिनाबाट स्टुडियोको निर्माण कार्यलाई निरन्तर अघि बढाउने तयारीमा चलचित्र विकास बोर्ड रहेको छ ।’
प्रस्तावित अत्याधुनिक ‘सिनेपा ः स्टुडियो’मा चलचित्र छायांकनसँगै स्वरांकन र गायन स्टुडियो पनि निर्माण गरिने अध्यक्ष डिसीको भनाई छ । चलचित्र छायांकनको लागि आवश्यक पर्ने घर, कार्यालय, प्रहरी चौकी, अदालत, भिएफएक्स तथा क्रोमा कक्ष सहित विविध सुविधायुक्त स्टुडियो निर्माण गर्न लागिएको पनि अध्यक्ष डिसीले बताएका छन् । जहाँ चलचित्र छायांकनका लागि आधुनिक उपकरणहरू समेत जडान गरिने भएको छ ।

त्यसो त चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको अध्यक्ष पदको कार्यकाल आगामी ११ भदौमा सकिँदै छ । आफ्नो कार्यकालमा सम्पन्न गर्न नसके पनि आफूले सुरु गरेको यो स्टुडियो निर्माणलाई अब आउने बोर्ड अध्यक्षले अघि बढाउने विश्वास उनको छ ।
हुनै पनि कुनै ठुलो परियोजना एकै पटकमा पुरा हुँदैन । बनेपामा चलचित्र छायांकनको लागि इनडोर स्टुडियो निर्माणको लागि जग्गा खोज्ने काम बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले गरेका थिए । उनले पालामा जग्गा चयनको कार्य सकिएको भए पनि बोर्डका अर्का अध्यक्ष भुवन केसीको पालामा जग्गालाई कानुनी रूपमा स्टुडियो निर्माणका लागि नामसारी गर्ने कार्य अघि बढाइएको थियो । सोही कार्यलाई निरन्तरता दिँदै अहिलेको बोर्ड अध्यक्ष डिसीले टेन्डर आह्वानपछि शिलान्यास समेत गराइसकेका छन् । अब साउनबाट यसको निर्माण कार्य अघि बढ्ने उनको कथन छ ।
चलचित्रको इनडोर छायांकनको लागि चलचित्रकर्मीले अहिले भाडामा निजी व्यक्तिका घर तथा कार्यलयहरू लिनु पर्ने बाध्यता रहेको छ । लामो समयदेखिको बाध्यतालाई मध्यनजर गर्दै एक दशक अघिबाटै स्टुडियो निर्माणको लागि चलचित्रकर्मीहरूले माग गर्दै आएका थिए । सोही माग अनुसार दोलखाको डाङडुङे डाँडामा जग्गा हेरेर त्यसको पूर्वाधार तयारी पनि अघि बढाएको थियो । तर त्यो ठाउँ काठमाडौँबाट टाढा भएको गुनासो चलचित्रकर्मीहरूबाटै आयो त्यस पछि बनेपामा जग्गा तय गरेर स्टुडियो निर्माण थालिएको हो । मुद्दाको कारण यो कार्य बिगत एक वर्षदेखि रोकिएपछि स्टुडियो निर्माण नहुने चिन्ता थियो । नयाँ जग्गा कानूनी रूपमा पाएसँगै अब यसलाई अघि बढाउन आफू लागि पर्ने बोर्ड अध्यक्षको कथन छ । आफू बोर्ड अध्यक्षबाट बाहिरिए पनि अब बन्ने नयाँ अध्यक्षलाई समेत यो कार्यको लागि सहयोग गर्ने पनि अध्यक्ष डिसीले बताएका छन् ।











