काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँगको विवादपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको घटना’bout काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ ।
काठमाडौंका सिडिओसमेतको हस्ताक्षरमा महानगरले क्षतिपूर्तिदेखि पीडित परिवारको रोजगारी र शिक्षाको ज्ञारेन्टीको सहमति भएपछि मृतकका परिवार शव बुझ्न र अन्तिम सन्सकार गर्न तयार भएका छन् ।
सहमतिअनुसार घटनाको सत्य तथ्य छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ । समितिले गठन भएको मितिले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
सहमतिमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन, सिफारिस, प्रचलित कानुन तथा विगतको अभ्यासका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने उल्लेख छ ।
महानगर बलका प्रहरी निलम्बित
काठमाडौं महानगरपालिका र पीडित पक्षबिच भएको सहमतिअनुसार घटनाका दिन फिल्डमा खटिएका महानगर प्रहरी बलका कर्मचारी तत्कालका लागि निलम्बनमा पर्ने भएका छन् ।
घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन आयोगको प्रतिवेदनअनुसार थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ ।
सहमतिअनुसार मृतककी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउनेछ भने उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ । महानगर कार्यपालिकाको अब बस्ने बैठकबाट मृतकको आश्रित परिवारलाई राहत स्वरूप उचित रकम उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।
मृतकको अन्तिम संस्कार, काठमाडौंमा गरिने काज किरिया, आफन्तको आवतजावत तथा बसोबास खर्च महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ । मृतकका एकाघरका परिवारको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने उल्लेख छ ।
पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सम्पन्न गर्न आवश्यक सहयोग गर्ने तथा सद्गत गर्ने जिम्मेवारी लिने सहमति दुईपक्षबीच भएको छ ।
सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईन्द्रराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । पीडित परिवारका पक्षबाट मृतककी श्रीमती एकमाया नेपालीसहित परिवारका सदस्य तथा वार्ता समितिका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
यस्ता छन् सहमति
फिल्डमा खटिएका नगर प्रहरी निलम्बन
पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति
छानबिन प्रतिवेदनका आधारमा सहिद घोषणा
मृतककी श्रीमतीलाई रोजगारी र छोरीको उच्च शिक्षाको ज्ञारेन्टी
आश्रित परिवारलाई राहत रकम
अन्तिम संस्कार तथा काज किरियाको खर्च दिने
पीडित परिवारले शव बुझ्ने
मृतकका परिवारको आवतजावत, बसोबास खर्च व्यहोर्ने
मृतकका परिवारको स्वास्थ्य बिमा गरिदिने






