काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप खेल प्रतियोगितामात्र नभई विश्वका राष्ट्रको प्रतिष्ठा, इतिहास, संस्कृति र फुटबल दर्शनको मञ्चसमेत हो । प्रत्येक चार वर्षमा आयोजना हुने प्रतियोगिताले नयाँ नायक जन्माउँछ । नयाँ इतिहास लेख्नेक्रममा कहिलेकाहीँ दशकौंदेखिका शक्ति सन्तुलनसमेत परिवर्तन गरिदिन्छ । केही संस्करण यस्ता पनि हुन्छन्, जहाँ फुटबलका परम्परागत महाशक्ति नै निर्णायक चरणमा पुगेर वर्चस्व पुनः स्थापित गर्न पुग्छन् ।
सेमिफाइनल यात्रामा चार महाशक्ति राष्ट्र ल विश्व फुटबल फेरि पुरानै शक्तिको कब्जामा
‘फिफा विश्वकप २०२६’ पनि यस्तै मोडमा आइपुगेको छ । लामो प्रतिस्पर्धापछि सेमिफाइनलमा पुगेका चार टोली हुन्– अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड । चारै राष्ट्र विश्व फुटबलका स्थापित नाम हुन् । इतिहास, उपलब्धि, प्रदर्शन र प्रतिभाको निरन्तरताले नै उनीहरूलाई दशकौंदेखि विश्व फुटबलको केन्द्रमा राखेका छन् । त्यसैले यसपटकको सेमिफाइनललाई ‘विश्व फुटबलका चार युगको भेट’समेत भनिन थालिएको छ ।
विश्वकपको इतिहास हेर्दा हरेक संस्करणमा केही ‘डार्क हर्स’ टोलीले चकित पार्ने प्रदर्शन गर्ने गरेका छन् । तर, अन्तिम समयसम्म उपाधि दौडमा प्रायः विश्व फुटबलका स्थापित राष्ट्र नै टिक्ने गरेका छन् । सन् १९३० देखि सुरु विश्वकपको इतिहासमा अधिकांश उपाधि सीमित राष्ट्रले जितेका छन् । ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, फ्रान्स, उरुग्वे, स्पेन र इंग्ल्यान्डबाहेक अन्य कुनै राष्ट्रले विश्वकप जित्न सकेका छैनन् । यसले ‘विश्व फुटबलमा अनुभव, संरचना, प्रतिभा उत्पादन र मानसिक बलको महइभ्व कति ठूलो हुन्छ ?’ भन्ने स्पष्ट देखाउँछ ।
जारी संस्करणको सेमिफाइनलमा पुगेका चार टोलीमध्ये अर्जेन्टिना तीनपटकको विश्वविजेता हो भने फ्रान्स दुईपटक जितिसकेको राष्ट्र हो । स्पेनले एकपटक विश्वकप उचालेको छ भने इंग्ल्यान्डले पनि आफ्नो एकमात्र विश्वकप १९६६ मा जितेको थियो । त्यस अर्थमा सेमिफाइनलमा पुगेका चारै टोली विश्वकप जितिसकेका राष्ट्र हुन् । पछिल्ला धेरै संस्करणमा पनि उनीहरू निरन्तर अन्तिम चरणसम्म पुग्दै आएका छन् ।
अर्जेन्टिनाः प्रतिभाको अद्वितीय संगम
‘दक्षिण अमेरिकी फुटबल’ भन्नासाथ सबैभन्दा पहिले सम्झिने राष्ट्रमध्ये एक हो– अर्जेन्टिना । विश्व फुटबल इतिहासमा अर्जेन्टिनाको परिचय उपाधिले मात्र बनेको होइन, संसारलाई दिएको फुटबल कला, सिर्जनशीलता र महान् खेलाडीले पनि उसको प्रतिष्ठा उचो बनाएका छन् । सन् १९३० को पहिलो विश्वकपदेखि नै अर्जेन्टिना विश्व फुटबलको अग्रपंक्तिमा देखिएको राष्ट्र हो । सन् १९७८ मा घरेलु मैदानमा पहिलो विश्वकप जितेको अर्जेन्टिनाले सन् १९८६ मा डिएगो म्याराडोनाको ऐतिहासिक प्रदर्शनसँगै दोस्रो उपाधि उचालेको थियो । त्यसपछि झण्डै ३६ वर्षको प्रतीक्षापछि सन् २०२२ मा लियोनेल मेस्सी नेतृत्वमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकप जित्दै नयाँ इतिहास रचेको हो ।
म्याराडोना र मेस्सीजस्ता दुई महान् खेलाडी उत्पादन गरेको अर्जेन्टिना विश्व फुटबलमा असाधारण प्रतिभा उत्पादन गर्ने राष्ट्रका रूपमा चिनिन्छ । ‘कोपा अमेरिका’को सफल इतिहास, विश्व युवा प्रतियोगितामा प्रभुत्व तथा घरेलु क्लब फुटबलको बलियो आधारले अर्जेन्टिनालाई सधैं विश्व फुटबलको शीर्षशक्तिमा राखेको छ । अर्जेन्टिनाको खेलशैलीमा दक्षिण अमेरिकी सिर्जनशीलता, व्यक्तिगत कौशल र सामूहिक लडाकुपनको अद्भुत मिश्रण देखिन्छ । कठिन परिस्थितिमा समेत पुनरागमन गर्ने मानसिकता अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति मानिन्छ । यही विशेषताका कारण यो टोली ठूला प्रतियोगितामा झन् खतरनाक बन्छ ।
आधुनिक विश्व फुटबलको स्थिर शक्ति
यदि पछिल्ला तीन दशकको विश्व फुटबल नियाल्ने हो भने सबैभन्दा स्थिर टोलीमध्ये फ्रान्स अग्रस्थानमा आउँछ । सन् १९९८ मा पहिलो विश्वकप जितेपछि फ्रान्सले आधुनिक फुटबलमा आफूलाई विश्वकै उत्कृष्ट फुटबल संरचना भएको राष्ट्रका रूपमा स्थापित ग¥यो । फ्रान्सको सबैभन्दा ठूलो विशेषता प्रतिभा उत्पादन प्रणाली हो । हरेक पुस्तामा विश्वस्तरीय खेलाडी उत्पादन गर्ने क्षमता फ्रान्ससँग छ । चाहे जिनेदिन जिदानको पुस्ता होस्, थिएरी हेनरीको युग होस् वा पछिल्लो पुस्ताका सुपरस्टार, फ्रान्स निरन्तर विश्वस्तरीय टोली निर्माण गरिरहेको छ । सन् २०१८ मा विश्वकप जितेको फ्रान्स २०२२ मा पनि फाइनल पुगेको थियो । लगातार दुई विश्वकपको फाइनल खेलेको फ्रान्स अहिले पुनः सेमिफाइनलमा पुगेको छ । यसले फ्रान्सको निरन्तरता र व्यवस्थापन सफलता प्रमाणित गर्छ । फ्रान्सको खेलमा शारीरिक क्षमता, गति, रणनीतिक अनुशासन र व्यक्तिगत प्रतिभाको उत्कृष्ट संयोजन देखिन्छ । त्यसैले ठूला प्रतियोगितामा फ्रान्सलाई हराउनु कुनै पनि टोलीका लागि सजिलो हुँदैन ।
जुन राष्ट्रले फुटबल कला बनायो
स्पेनको फुटबल यात्रा उतारचढावपूर्ण रह्यो । लामो समयसम्म प्रतिभाशाली खेलाडी भए पनि ठूलो प्रतियोगितामा सफल हुन नसकेको स्पेनले सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा अभूतपूर्व प्रभुत्व जमायो । यही अवधिमा स्पेनले लगातार दुईपटक ‘युरोकप’ र एकपटक ‘विश्वकप’ जित्दै फुटबल इतिहासकै सबैभन्दा सफल युगमध्ये एक निर्माण ग¥यो । ‘टिकी–टाका’ नामले प्रसिद्ध छोटो पास, बल नियन्त्रण र धैर्यपूर्ण आक्रमणमा आधारित खेलशैलीले विश्व फुटबलको सोच नै परिवर्तन गरिदियो । बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाट विकसित फुटबल दर्शन राष्ट्रिय टोलीसम्म पुगेपछि स्पेनले खेललाई कलाका रूपमा प्रस्तुत ग¥यो । अहिले नयाँ पुस्ताका युवा खेलाडीले त्यही शैलीलाई आधुनिक गतिसँग जोडेर नयाँ स्पेन निर्माण गरिरहेका छन् । जारी संस्करणमा पनि स्पेनले बल नियन्त्रण, सामूहिक खेल र रणनीतिक अनुशासनका आधारमा आफूलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा स्थापित गरेको छ ।
जन्मभूमिको अधुरो सपना
फुटबलको जन्मभूमि मानिने इंग्ल्यान्डसँग संसारकै सबैभन्दा लोकप्रिय घरेलु लिग छ । विश्वकै उत्कृष्ट प्रशिक्षक, क्लब र खेलाडीको केन्द्र भए पनि राष्ट्रिय टोलीले अपेक्षाअनुसार सफलता भने हासिल गर्न सकेको छैन ।
सन् १९६६ मा पहिलो र अहिलेसम्मको एकमात्र विश्वकप जितेपछि इंग्ल्यान्डले लामो समय ठूलो सफलता देख्न सकेन । बारम्बार प्रतिभाशाली टोली बने पनि निर्णायक क्षणमा असफल हुने टोलीका रूपमा उसको छवि बनेको थियो । पछिल्लो दशकमा परिस्थिति बदलिएको छ । युवा खेलाडी विकासमा गरिएको लगानी, आधुनिक प्रशिक्षण प्रणाली र दीर्घकालीन योजनाले इंग्ल्यान्डलाई पुनः विश्व फुटबलको शीर्ष प्रतिस्पर्धी बनाएको छ । सन् २०१८ को विश्वकपमा सेमिफाइनल, त्यसपछि युरोपियन च्याम्पियनसिपका फाइनल र पछिल्ला विश्व प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्ड अब उपाधि जित्न सक्षम टोली बनेको देखाएको छ ।
इतिहास दोहोरिने कि नयाँ लेखिने ?
यसपटकको सेमिफाइनल चार टोलीबीचको खेलस“गै चार फरक फुटबल परिदृश्य हो । इतिहास र चारै फरक संस्कृतिको प्रतिस्पर्धासमेत हो । एकातिर दक्षिण अमेरिकी कलात्मक फुटबलकाे प्रतिनिधित्व गर्न अर्जे न्टिना छ भने अर्को तिर आधु निक युरोपेली शक्तिको प्रतीक फ्रान्स । अर्को सेमिफाइनलमा बल नियन्त्रण र सिर्जनशीलताको प्रतीक स्पेन तथा गति, शक्ति र प्रत्यक्ष आक्रमणमा विश्वास गर्ने इंग्ल्यान्ड आमनेसामने छन् ।
यी चार राष्ट्रले विगतमा विश्व फुटबललाई नयाँ आयाम दिएका छन् । उनीहरूले महान् खेलाडी, ऐतिहासिक खेल र अविस्मरणीय क्षण सिर्जना गरेका छन् । त्यसैले यसपटकको सेमिफाइनल उपाधिको यात्रामात्र होइन, विश्व फुटबलको गौरवशाली इतिहासको अर्को अध्यायसमेत बन्दै छ ।
अर्जेन्टिनाका महान् पूर्वकप्तान एन्टोनियो राट्टिनको निधन
अर्जेन्टिनाका महान् फुटबलर तथा पूर्वकप्तान एन्टोनियो उबाल्डो राट्टिनको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी अर्जेन्टिनी क्लब बोका जुनियर्सले सार्वजनिक गरेको हो । राट्टिनलाई अर्जेन्टिनाको फुटबल इतिहासका सर्वकालीन् उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिन्छ ।

सन् १९५६ देखि १९७० सम्म बोका जुनियर्सबाट मात्रै व्यावसायिक फुटबल खेलेका राट्टिनले क्लबका लागि ३ सय ८२ खेलमा २८ गोल गरेका थिए । उनको नेतृत्वमा बोकाले चारवटा अर्जेन्टिनी लिग उपाधि जितेको थियो भने सन् १९६३ मा कोपा लिबर्टाडोरेसको फाइनलसम्म पनि पुगेको थियो ।
राट्टिनले सन् १९५९ देखि १९६९ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दै दुई ‘फिफा विश्वकप (१९६२ र १९६६)’मा सहभागिता जनाएका थिए । उनी सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा भएको विवादास्पद ‘रेड कार्ड’का कारण विश्व फुटबलमा चर्चित बनेका थिए । सो घटनापछि फुटबलमा अनुशासन व्यवस्थापन थप प्रभावकारी बनाउन पहेँलो र रातो कार्ड प्रणाली लागू गर्ने अवधारणाले गति लिएको हो ।
खेल जीवन समाप्त भएपछि उनले केही समय बोका जुनियर्सको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए । त्यसपछि राजनीतिमा प्रवेश गर्दै अर्जेन्टिनाको तल्लो सदनका सदस्यसमेत बनेका थिए ।
राट्टिनको निधनको भोलिपल्ट ‘फिफा विश्वकप २०२६’को क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध मैदान उत्रिएको अर्जेन्टिनी टोलीले उनको सम्मानमा पाखुरामा कालो फेटा बाँधेर श्रद्धाञ्जली अर्पण गरेको थियो । खेलअघि १ मिनेट मौनधारणसमेत गरिएको थियो ।
राट्टिनको निधनसँगै अर्जेन्टिनी फुटबलले आफ्नो एक ऐतिहासिक व्यक्तिइभ्व गुमाएको भन्दै क्लब, खेलाडी तथा समर्थकले सामाजिक सञ्जालमार्फत गहिरो श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
सम्बन्धित समाचार
कुन विश्वकपमा मेस्सीकाे कति गोल ?
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल अन्तिम १६ मा
फ्रान्सका लागि पाराग्वे र फिलाडेल्फियाको गर्मी चुनौतीपूर्ण
फुटबल संस्कृतिमा बाँचेको ‘केप भर्डे’
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
गोल गर्न किन कहिल्यै चुक्दैनन् हालान्ड ?
अर्जेन्टिना र इजिप्ट पहिलाे पटक विश्वकपमा भिड्दै
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?






