उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा उदयपुरको बेलका नगपालिका– ३ का २ जना र चौदण्डीगढी नगरपालिका– ५ का १ जनामा संक्रमण पुष्टि भएको हो ।
बेलका नगरपालिका– ३ को सप्तकोशी किनारामा रहेको एबिसी टप्पुका ३५ र ३६ वर्षका संक्रमित महिला र पुरुष श्रीमान–श्रीमती भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । भारतबाट आएका उनीहरु गत १५ गतेदेखि एबिसी आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।
आईतवार मात्र आएको रिपोर्टमा संक्रमित देखिएका ३ जना सबैलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको सुबेदीले बताएका छन् ।
बेलका नगरपालिकाले भारत लगायत बिभिन ठाउँबाट नगरपालिका भित्रिने ५५ महिला र २ सय २५ पुरुष गरी २ सय ८० को परीक्षण गर्दा उनीहरुमा संक्रमित देखिएको नगर प्रमुख दुर्गाकुमार थापाले बताएका छन् । उनका अनुसार स्थायी घर भोजपुर भए पनि एबिसी टप्पुमा बस्दै आएका उनीहरु भारतको मेघालय (कोईला खानी) बाट बैशाख १५ गते मात्र बेलका आईपुगे लगत्तै क्वारेन्टाईनमै राखिएका थिए ।
नयाँ मान्छे बाहिरबाट आउन चाहेमा नगरपालिकामा संम्पर्क गरे यातायात र खाने बस्ने सेवा सहित नगरपालिका सम्म ल्याउन फोकल पर्सनको व्यवस्था मिलाइएको नगर प्रमुख थापाको भनाई रहेको छ ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका– ५ शिवाईमा भेटिएका सक्रमित काठमाडौंदेखि केही समय अघि आएको बताइएको छ । लकडाउन सुरु हुँदासम्म घरमै रहेका उनी जरुरी काम छ भन्दै यो बीचमा काठमाडौं गएका थिए । तर, त्यहाँका घरधनीले बस्न नदिएपछि फर्कदा मोटरसाइकलमा अर्काे एक जना साथी समेत लिएर आएका थिए । उनलाई सामान्य ज्वरो देखिएपछि साथीसँगै उनलाई शिवाईस्थित मदर्साको क्वारेन्टिनमा राखिएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।
नगर प्रमुख राईका अनुसार चौदण्डीगढीमा पछिल्लो पटक गरिएको १८ जनाको स्वाब परीक्षणमा उनी सक्रमित पुष्टि भएका हुन् । चौदण्डीगढीमा पछिल्लो समय भारत लगायत बिभिन्न ठाउँबाट आएका २६ महिला र १ सय ६१ पुरुष गरी १ सय ८७ को पिसिआर परीक्षण गरिएको छ । जसमा अन्यको रिपोर्ट नेगेटिभ देखिएको छ ।
बैशाख ५ गते त्रियुगा नगरपालिका– ३ भुल्केस्थित नुरी मस्जिदका १६ मध्ये ११ जमातिमा संक्रमण पुष्टि भएसँगै ‘कोरोना इपिसेन्टर’ हुन पुगेको उदयपुर पछिल्लो ३ साता यता नियन्त्रणोन्मुख पाइएको थियो । ७ महिला सहित ३३ संक्रमित पाइएपछि जेठ २ गते पछिल्लो संक्रमित पत्रकार राकेश नेपालीपछि थप संक्रमित देखिएका थिएनन् । भुल्केमा संक्रमण नियन्त्रण भएको ठहर गर्दै सदरमुकाममा लक डाउन आंशिक खुकुलो गर्दै गर्दा जिल्लामा नयाँ संक्रमित देखिएपछि जनजीवन पुनः असामान्य बन्ने खतरा बढेको बढेको स्थानीयबासीहरु बताउँछन । भुल्केमा भएको कोरोना संक्रमित ३३ जना नै निको भएर घरघर फर्कि सकेको छ । उदयपुरमा पहिलाको ३३ संक्रमित सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






