काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म चीनको सेनजेनमा आयोजना हुने २८औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपाली युवा बुद्धिचाल टोली सोमबार चीन प्रस्थान गरेको छ ।
प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल, आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवाल र निहाना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासंघका प्रवक्ता राजु ताम्राकारले बिदाइ गरेका हुन् ।
टोलीका सदस्य सिएम पुरुषोत्तम सिलवालले केही समयअघि भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक ग्रान्डमास्टरलाई पराजित गर्दै उल्लेखनीय सफलता हासिल गरेका थिए। त्यस्तै, निहाना श्रेष्ठले काजकिस्तानमा सम्पन्न प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका लागि अन्तर्राष्ट्रिय रजत पदक जितेकी थिइन् ।
महासंघकी केन्द्रीय सदस्य निता श्रेष्ठ शैंजुको व्यवस्थापकीय नेतृत्वमा टोलीले १० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।
बिदाइ कार्यक्रममा महासंघका अध्यक्ष हेराकाजी महर्जनले पछिल्लो समय नेपाली युवा तथा सिनियर बुद्धिचाल खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै नेपालको उपस्थिति सुदृढ बनाइरहेको बताए ।
त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिभावकसँग कुरा गर्दै महासंघका प्रवक्ता राजु ताम्राकारले खेलाडीहरूको विदेश यात्राका क्रममा कहिलेकाहीँ मानव तस्करीसँग सम्बन्धित आशंका उठ्ने गरेको उल्लेख गर्दै हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका सबै नेपाली चेस खेलाडी सुरक्षित रूपमा स्वदेश फर्किएको जानकारी दिए ।
ताम्राकारले एशियालि स्तरको प्रतियोगितामा नेपालको सहभागिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने तथा भविष्यमा ठूला प्रतियोगिताका लागि थप आत्मविश्वास प्राप्त हुने अपेक्षा गरिएको बताए ।






