भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २ जना पूर्वप्रधानमन्त्रीसहित सबै प्रतिवादीको सजाय निर्धारण गरेको छ ।

फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिमाना गरिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना तोकिएको छ ।

अदालतले भुटानी मानवअधिकारबादी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना तोकेको छ । त्यस्तै पूर्वसचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई र गोविन्दकुमार चौधरीलाई जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको छ ।

यस्तै, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन तथा निरञ्जनकुमार खरेललाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना सुनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले २४ असारमा एमाले नेता रायमाझी, कांग्रेस नेता खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललगायतलाई दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलवार विपक्षी बनाइएका केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, डा इन्द्रजीत राई, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, र टोपबहादुर रायमाझीलाई संगठित अपराध, राज्यविरुद्धको कसुर र ठगी अभियोगमा दोषी ठहर गरेको थियो ।

प्रतिवादीहरूमध्येका कांग्रेस नेता खाँण, नेता रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेललाई भने राज्यविरुद्धको कसुरमा मतियारका रूपमा काम गरेको अदालतको ठहर छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका रामशरण केसी, टंक कुमार गुरुङ, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने अभियोगबाट सफाइ पाएका छन् ।

अदालतले कसुर ठहर गरे पनि कसलाई कति सजाय गर्ने भनेर २९ असारमा फैसला सुनाउने मिति तय गरेको छ । कसुर ठहर भएकामध्ये एमाले नेता रायमाझी थुनामै छन् भने कांग्रेस नेता खाँण धरौटी बुझाएर रिहा भएका थिए ।

कसलाई कति सजाय ?
टोपबहादुर रायमाझी ४ वर्ष ४० हजार रुपैयाँ
बालकृष्ण खाँण २ वर्ष २० हजार रुपैयाँ
टेकनाथ रिजाल २ वर्ष २० हजार रुपैयाँ
टेकनारायण पाण्डे ४ वर्ष ४० हजार रुपैयाँ
केशवप्रसाद दुलाल ४ वर्ष ४० हजार रुपैयाँ
सानु भण्डारी ४ वर्ष ४० हजार रुपैयाँ
सागर राई ४ वर्ष ४० हजार रुपैयाँ
सन्देश शर्मा ४ वर्ष ४० हजार रुपैयाँ
डा. इन्द्रजीत राई ४ वर्ष ४० हजार रुपैयाँ
गोविन्दकुमार चौधरी ४ वर्ष ४० हजार रुपैयाँ
नरेन्द्र केसी १ वर्ष १० हजार रुपैयाँ
शमशेर मियाँ १ वर्ष १० हजार रुपैयाँ
हरिभक्त महर्जन १ वर्ष १० हजार रुपैयाँ
निरञ्जनकुमार खरेल १ वर्ष १० हजार रुपैयाँ

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?