टीकापुर उद्यानमा पर्यटकको आकर्षण

कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मा रहेको टीकापुर उद्यान यस वर्ष दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् ।

उद्यानबाट चालु आर्थिक वर्षमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यो राजस्व टीकापुर नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार हो ।

यस वर्ष आन्तरिक तथा बाह्य गरेर झन्डै दुई लाख ३० हजार पर्यटकले टीकापुर उद्यान अवलोकन गरेको उद्यानमा कार्यरत कर्मचारी विनोद चौधरीको भनाइ छ । उनका अनुसार अन्य समयको तुलनामा वर्षात्को समयमा उद्यान घुम्न आउने पर्यटकको सङ्ख्या उसै पनि कम हुने गरेको छ । दसैँ सुरु भएदेखि पार्कमा पर्यटकको सङ्ख्या बढ्न थाल्छ ।

टीकापुर दौलतपुरको कर्णाली नदीमा बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल निर्माण भएपछि भने उद्यानमा आउने पर्यटकमा निकै कमी आएको छ । झोलुङ्गे पुल निर्माण भएसँगै टीकापुर उद्यान आउने पर्यटक पुल केन्द्रित हुँदा पार्क सुनसान देखिएको छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर उद्यान अवलोकन गर्ने पर्यटक निःशुल्क पुलको अवलोकन गरेर फर्कन थालेका छन् ।

“आजभोलिको समयमा पनि दिनमा दुईतीन सयसम्म पर्यटक उद्यान अवलोकन गर्न आउँथे । यसपटक भने पुल बनेपछि उद्यान आउने पर्यटन दैनिक एक सय पनि पुगनपुग हुन्छ ।” उनी भन्छन्,“यहीँ पार्कको प्रवेशद्वारमा पुगेका पर्यटकभित्र नआई पुलतिर मोडिन्छन् ।”

वर्षात्को समयमा बढ्दै गएको कर्णाली नदीको बहावसँगै नदीले बनाएका फाँटको अवलोकन तथा फोटो, भिडियो खिच्ने पर्यटकले भरिभराउ हुन थालेको छ । अझै सार्वजनिक बिदाको दिन पुलको अवलोकन गर्न हजारौँ आउने गरेका छन् । “यो नयाँ ठाउँ, आकर्षक भ्यू देखिने भएको हुँदा घुम्न आएका हौँ”, बर्दियाको गेरुवा गाउँपालिकाकी सम्झना मगरले भनिन्, “पुलबाट देखिने कर्णाली नदीको दृश्य निकै सुन्दर छ भने चिसो हावाको बेगले झन् आनन्द महसुस हुन्छ ।”

पुलको अवलोकन गर्न, फोटो भिडियो खिच्न कैलाली तथा बर्दिया जिल्लाका विभिन्न स्थानबाट नागरिकहरू आउने गरेका छन् । सुरुआती चरण भएकाले पनि पुलमा सार्वजनिक बिदाको दिन थेग्न नसकिने भीड लाग्ने गरेको छ । “पुल राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ । त्यसका लागि दीर्घकालीन सोचका साथ सुरक्षा निगरानी बढाउनुपर्ने देखिन्छ ।” टीकापुर नगरपालिका–४ का कृष्ण चौधरी भन्छन्,“स्थानीय सरकारले पर्यटकीय सर्किटका रूपमा विकास गरेर प्रचारप्रसार गर्न सक्नुपर्छ ।”

पुलमा फोटो, भिडियो खिच्नेहरूको भीडभाडले सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई भने निकै सास्ती हुने गरेको छ । मान्छेले पुल भरिभराउ हुँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । “साँघुरो पुलमा मान्छेको भीडभाडले मोटरसाइकल पास गर्न निकै कठिन हुने गरेको छ ।”

बर्दिया राजापुरका सुशान्त चौधरीले भने,“पुलको बीच भागमा उभिएर भिडियो बनाउँदा मोटरसाइकलको हर्न बजाउँदा पनि कसैले सुन्दैनन् ।” उनले यस्तै अवस्थामा अप्रिय घटना हुनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पुल क्षेत्रमा सुरक्षा कायम गर्न सुरक्षा निकायको माग स्थानीयले गर्न थालेका छन् । रातिको समयमा युवाहरूको पुलमा हुने जमघटले सुरक्षा चुनौती थपिएको उनीहरूको धारणा छ । “पुल घुम्न आउने पर्यटकका लागि निश्चित मापदण्ड बनाउन आवश्यक छ ।” स्थानीय सुनिर चौधरीले भने, “कम्तीमा रातको समयमा प्रहरीको गस्तीसम्म भए पनि जोखिम कम हुन्थ्यो ।” उनले सामुदायिक वनसँगै पुल जोडिएकाले लागुऔषध सेवन गर्ने युवाहरूको जोखिम बढेको भन्दै प्रहरी बिटको आवश्यकता औँल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान