धनगढी । सामाजिक विकास कार्यालय कैलालीले चालु आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बुधबार धनगढीमा आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमहरूको कार्यप्रगति समीक्षा गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ । समीक्षा कार्यक्रममा प्रत्येक स्थानीय तहबाट शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा महिला प्रतिनिधिहरू सहभागी भएका थिए ।
सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोतीले चालु आर्थिक वर्षमा कार्यालयमार्फत सञ्चालन गरिएका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यालयका अनुसार प्रदेशस्तरका शिक्षा तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूको उपलब्धि मूल्याङ्कन गर्दै आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।






