काठमाडौं । झन्डै एक महिनाबढी समयदेखि विश्वकै ध्यान एउटै खेलकेन्द्रित छ, त्यो हो, विश्वकप फुटबल । विभिन्न भाषा, संस्कृति, धर्म र राजनीतिक सीमाभन्दा माथि उठेर अर्बौं मानिसलाई एउटै भावनामा बाँध्ने शक्ति यदि कुनै खेलमा छ भने त्यो फुटबल नै हो । यही कारण ‘फिफा विश्वकप’लाई विश्व समुदाय जोड्ने सबैभन्दा ठूलो सांस्कृतिक कडी मानिएको छ ।
जारी फिफा विश्वकप अन्तिम सँघारमा छ । हजारौं खेलाडी, प्रशिक्षक, स्वयंसेवक र लाखौं समर्थकको प्रत्यक्ष सहभागिता तथा अर्बौं दर्शकको चासोबीच सम्पन्न हुन लागेको प्रतियोगिता अब अन्तिम क्षण ‘विश्व च्याम्पियन’ घोषणा उन्मुख छ । त्यस घोषणाअघि विश्वको ध्यान अर्को भव्य दृश्यकेन्द्रित हुनेछ, जहाँ फुटबल, संगीत, प्रविधि, कला र मनोरञ्जन एउटै मञ्चमा उभिने छन् । जसलाई हामी ‘समापन समारोह’ भन्छौं ।
विश्व फुटबलले अर्को चार वर्षसम्म सम्झिने एउटा सांस्कृतिक दस्तावेज पनि हो, समापन समारोह । त्यसैले फिफाले प्रत्येक संस्करणमा समापन समारोहलाई नयाँ उचाइमा पु¥याउने प्रयास गर्दै आएको छ । यसपटक पनि आयोजक त्यही तयारीमा लागेका छन् ।
इतिहासकै फराकिलो विश्वकप
सन् १९३० मा पहिलोपटक सुरु फिफा विश्वकपले करिब शताब्दी यात्रा पूरा गर्न लागे पनि २०२६ को संस्करण धेरै दृष्टिले फरक छ । पहिलोपटक प्रतियोगितामा ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि, ३२ टोलीबीच सीमित विश्वकप विस्तार गर्दै फिफाले थप राष्ट्रलाई अवसर दिएको हो । यससँगै अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गरेको यो पहिलो विश्वकप पनि हो । तीन देश, दर्जनौं रंगशाला, हजारौं किलोमिटर यात्रा र करोडौं समर्थकको उपस्थितिले यस संस्करणलाई इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सव बनाएको हो ।
किन विशेष हुन्छ समापन समारोह ?
विश्वकप फाइनल खेलअघि हुने समापन समारोहलाई धेरैले खेलभन्दा कम महइभ्वको ठान्न सक्छन्, वास्तविकता भने त्यस्तो छैन । समापन समारोह विश्वकपको ‘भावनात्मक विदाइ’समेत हो । एक महिनासम्म विभिन्न देशका समर्थकले बाँडेको उत्साह, खेलाडीले देखाएको संघर्ष, आयोजक राष्ट्रले गरेको आतिथ्य तथा विश्व फुटबलले दिएको सन्देश एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर यही नै हो ।
फुटबल महानायकका संघर्ष, नयाँ प्रतिभा उदय, समर्थकका ऊर्जा, प्रविधि विकास र मनोरञ्जनको सम्मिश्रण केही मिनेटमा समेट्नु आयोजकका लागि पनि उत्तिकै ठूलो चुनौती बन्ने गर्छ । त्यसैले विश्वकप समापन समारोहको प्रत्येक दृश्य महिनौंको योजना, सयौं प्राविधिक र हजारौं कलाकारको मेहनतबाट तयार गरिन्छ । यस वर्ष पनि आयोजकले समापन समारोहलाई विश्वकै सबैभन्दा ठूलो प्रत्यक्ष मनोरञ्जन कार्यक्रममध्ये बनाउने लक्ष्य लिएका छन् ।
विश्वको नजर मेटलाइफ स्टेडियममा
अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियम अहिले विश्व फुटबलको केन्द्र बनेको छ । यही रंगशालामा समापन समारोह आयोजना हुनेछ र त्यसलगत्तै ‘विश्व च्याम्पियन’ टुंगो लाग्ने छ । करिब ८२ हजारभन्दा बढी दर्शक अट्ने अत्याधुनिक रंगशाला अमेरिकी खेलकुदको प्रतिष्ठितस्थल मानिन्छ । विशाल एलईडी प्रणाली, उच्चस्तरीय ध्वनि प्रविधि, आधुनिक सुरक्षा व्यवस्था र प्रत्यक्ष प्रसारणका लागि विकसित पूर्वाधारका कारण पनि यो विश्वस्तरको आयोजनाका लागि उपयुक्त मानिएको हो । समापन समारोहका लागि रंगशालालाई विशेषरूपमा सजाइएको छ । अत्याधुनिक लेजर शो, विशाल डिजिटल स्क्रिन, प्रकाश संयोजन, ड्रोन प्रदर्शन, आतिशबाजी तथा विशेष सांगीतिक मञ्चले समारोहलाई दृश्यात्मकरूपमा भव्य बनाउने तयारी गरिएको छ ।
फुटबल र संगीत : एउटै भावनाका दुई भाषा
फुटबल र संगीतबीचको सम्बन्ध निकै गहिरो छ । समर्थकका नारादेखि विश्वकपका आधिकारिक गीतसम्म संगीतले प्रतियोगिताको भावनात्मक पक्षलाई सधैं बलियो बनाउँदै आएको छ ।
‘विश्वकप १९९८’मा रिकी मार्टिनको ‘द कप अफ लाइफ’, २०१० मा शाकिराको ‘वाका वाका’, २०१४ मा जेनिफर लोपेज र पिटबुलको ‘वी आर वन’, २०१८ मा ‘लिभ इट अप’ र २०२२ मा कतार विश्वकपका विभिन्न आधिकारिक गीतले विश्वभरका समर्थकलाई एउटै लयमा नचाए । यही परम्परालाई निरन्तरता दिँदै सन् २०२६ को समापन समारोहमा पनि अन्तर्राष्ट्रिय संगीत जगत्का चर्चित कलाकारलाई एउटै मञ्चमा उतार्ने तयारी गरिएको छ ।
बेलायती पप स्टार रोबी विलियम्स, अमेरिकी कलाकार निकोल शर्जिंगर, इटालीकी गायिका लौरा पाउसिनी तथा विश्वभर चर्चित डिजिटल क्रिएटर आइशोस्पिडको उपस्थितिले कार्यक्रमलाई नयाँ पुस्तासँग अझ नजिक बनाउने अपेक्षा गरिएको छ । यसपटकको विशेष आकर्षणका रूपमा हलिउड अभिनेता टम क्रुजको सहभागिता’bout पनि व्यापक चर्चा भइरहेको छ । यद्यपि, उनको सहभागिता’bout आयोजकले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।
एउटा समारोह, अर्बौं दर्शक
फिफाका अनुसार समापन समारोह विश्वका करिब सबै प्रमुख टेलिभिजन नेटवर्क तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुनेछ । फाइनल खेल हेर्न तयार अधिकांश दर्शकले समापन समारोह पनि सँगै हेर्ने भएकाले यो विश्वकै धेरै हेरिने प्रत्यक्ष मनोरञ्जन कार्यक्रममध्ये बन्ने अनुमान गरिएको छ । त्यसैले आयोजकका लागि रंगशालाभित्र उपस्थित दर्शकस“गै विश्वभरका करोडौं परिवारको बैठक कोठासम्म पुग्ने प्रत्यक्ष सांस्कृतिक प्रस्तुति पनि हो । यही कारण समापन समारोहको प्रत्येक मिनेट, दृश्य र सांगीतिक प्रस्तुति विश्वव्यापी प्रभाव ध्यानमा राखेर तयार गरि“दै छ । विश्वकप विशाल ‘ब्रान्ड’ भएकोले यसमा खेलसँगै मनोरञ्जन, पर्यटन, प्रविधि, विज्ञापन, संगीत र विश्वव्यापी व्यापारिक रणनीति जोडिएका छन् । यही कारण फिफाले पछिल्ला दुई दशकयता समापन समारोहलाई पनि प्रतियोगिताकै महइभ्वपूर्ण अंगका रूपमा विकास गर्दै आएको छ ।
साधारण समारोहबाट विश्वस्तरीय ‘मेगा शो’सम्म
विश्वकपका सुरुवाती संस्करणमा समापन समारोह निकै सामान्य हुन्थे । विजेता टोलीलाई ट्रफी प्रदान गर्ने औपचारिक कार्यक्रम, केही सांस्कृतिक प्रस्तुति र आयोजक राष्ट्रको ‘धन्यवाद ज्ञापन’मै कार्यक्रम सीमित रहन्थे । सन् १९९० को दशकपछि भने खेलकुद प्रसारणमा क्रान्ति देखियो । विश्वकप हेर्ने दर्शक संख्या अर्बौंमा पुगेपछि फिफाले प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो प्रत्यक्ष मनो रञ्जन ‘ब्र ान्ड’का रूपमा विकास गर्न े रणनीति अपनाया े । सन् १९९८ को फ्रान्स विश्वकपबाट समापन समारोहले नयाँ रूप लिन थाल्यो । त्यसयता हरेक संस्करणमा आयोजक राष्ट्रको संस्कृति, विश्वप्रसिद्ध कलाकारका प्रस्तुति र अत्याधुनिक प्रविधि संयोजन अनिवार्यजस्तै बन्न पुग्यो ।
प्रत्येक विश्वकपले छोडेको फरक छाप
सन् २००२ मा जापान–दक्षिण कोरियाले संयुक्तरूपमा आयोजना गरेको विश्वकपले एसियाली सांस्कृतिक विविधता विश्वसामु पस्कियो । सन् २००६ मा जर्मनीले अनुशासन, प्रविधि र व्यवस्थापनको उत्कृष्ट उदाहरण देखायो । सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकपलाई अफ्रिकी पहिचानसँग जोड्यो । शाकिराको ‘वाका वाका’ विश्व फुटबलको इतिहासकै सबैभन्दा लोकप्रिय ‘विश्वकप गीत’मध्ये बन्यो । सन् २०१४ मा ब्राजिलले साम्बा, कार्निभल र फुटबल संस्कृतिलाई एउटै मञ्चमा उतारेर विश्वलाई प्रभावित बनायो । सन् २०१८ मा रूसले आधुनिक प्रविधि र सांस्कृतिक प्रस्तुति सन्तुलन कायम ग¥यो भने सन् २०२२ मा कतारले अरब सभ्यता, आधुनिक रंगमञ्च र डिजिटल प्रविधि संयोजनमार्फत विश्वकपलाई नयाँ शैलीमा प्रस्तुत ग¥यो । अब २०२६ को पालो छ, जहाँ उत्तर अमेरिकी मनोरञ्जन उद्योगको प्रभाव स्पष्ट देखिने अपेक्षा गरिएको छ ।
किन बढ्दै गएको छ कलाकारका भूमिका ?
फुटबलका समर्थक र संगीतका दर्शक धेरै हदसम्म एउटै समूहका हुन्छन् । यही कारण विश्वकपका आयोजकले खेलप्रेमीमात्र होइन, संगीत र मनोरञ्जनमा रुचि राख्ने दर्शकलाई पनि आकर्षित गर्ने रणनीति अपनाउँदै आएका छन् । विश्व चर्चित कलाकारको उपस्थितिले सामाजिक सञ्जालमा कार्यक्रमको पहुँच बढाउँछ । समाचार माध्यमको प्राथमिकता र युवापुस्ताको आकर्षण पनि बढ्छन् । यसबाट विश्वकपको ‘ब्रान्ड मूल्य’मा थप टेवा पुग्न जान्छ । यही कारण सन् २०२६ को समापन समारोहमा पनि अन्तर्राष्ट्रिय संगीत जगत्का चर्चित कलाकारलाई समावेश गरिएको हो ।
रोबी विलियम्स दशकौंदेखि विश्व पप संगीतका चर्चित नाम हुन् । निकोल शर्जिंगर गायनसँगै अभिनय र टेलिभिजन प्रस्तुतिकरणका कारण पनि लोकप्रिय छिन् । लौरा पाउसिनी युरोपेली संगीत बजारकी स्थापित कलाकार हुन् भने आइशोस्पिड सामाजिक सञ्जालमार्फत नयाँ पुस्तामा अत्यन्त प्रभावशाली डिजिटल व्यक्तित्व मानिन्छन् । यी कलाकारको सहभागिताले परम्परागत फुटबल समर्थक र नयाँ पुस्ताबीचको दूरी घटाउने अपेक्षा गरिएको छ ।
सामाजिक सञ्जालको युगमा विश्वकप
एक समय थियो– विश्वकपको चर्चा अखबार, रेडियो र टेलिभिजनमै सीमित हुन्थ्यो । अहिले परिस्थिति पूर्णरूपमा बदलिएको छ । आज एउटा समापन समारोह सुरु हुनुअघि नै त्यसका भिडियो, अभ्यास, कलाकारको आगमन, स्टेज तयारी र दर्शक प्रतिक्रिया सामाजिक सञ्जालमा विश्वभर फैलिसकेका हुन्छन् । इन्स्टाग्राम, एक्स, टिकटोक, युट्युब र फेसबुकजस्ता प्लेटफर्मले विश्वकपलाई २४सै घण्टा चलायमान ‘डिजिटल महोत्सव’मा रूपान्तरण गरिसकेका छन् । यही डिजिटल प्रभाव ध्यानमा राखेर आयोजकले सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तित्वलाई कार्यक्रममा सहभागी गराउने रणनीति अपनाएका ह्न् ।
खेलकुदभन्दा ठूलो अर्थतन्त्र
त्यसो त, विश्वकप ‘बहुअर्ब डलरको अर्थतन्त्र’समेत हो । प्रसारण अधिकार, प्रायोजन, टिकट बिक्री, पर्यटन, होटल उद्योग, यातायात, विज्ञापन, खेल सामग्री र डिजिटल सामग्री उत्पादनबाट विश्वकपले विशाल आर्थिक गतिविधि गर्छ । समापन समारोह स्वयं पनि ठूलो व्यापारिक अवसर हो । विश्वभरका कम्पनी यही कार्यक्रममार्फत आफ्ना ‘ब्रान्ड’ विश्वव्यापी दर्शकमाझ पु¥याउने प्रयास गर्छन् । विश्वका ठूला ब्रान्डले यही अवसरमा विशेष विज्ञापन अभियान सञ्चालन गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने तथा डिजिटल प्रचार बढाउने गरेका छन् ।
उत्तर अमेरिकाको मनोरञ्जन शक्ति
सन् २०२६ को विश्वकप उत्तर अमेरिकामा आयोजना हुनुको अर्को अर्थ पनि छ । अमेरिका विश्वकै सबैभन्दा ठूलो मनोरञ्जन उद्योगसमेत हो । हलिउड, विश्वप्रसिद्ध संगीत उद्योग, विशाल प्रत्यक्ष कार्यक्रम आयोजना गर्ने अनुभव तथा अत्याधुनिक प्राविधिक क्षमता अमेरिकाको विशेषता हो । त्यसैले यसपटकको समापन समारोहमा खेलकुद र मनोरञ्जनबीचको सम्बन्ध अघिल्ला संस्करणभन्दा अझ स्पष्ट देखिने अनुमान गरिएको छ । दृश्य प्रभाव, ध्वनि प्रणाली, प्रत्यक्ष प्रसारण प्रविधि, डिजिटल ग्राफिक्स, ड्रोन प्रदर्शन तथा एआई प्रयोगले समारोहलाई विश्वस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
मनोरञ्जनसँगै सन्देश
‘फरक भाषा, संस्कृति र महादेशका मानिस एउटै खेलका माध्यमबाट जोडिन सक्छन्’ भन्ने विश्वासलाई विश्वकपले बारम्बार प्रमाणित गरेको छ । त्यसैले समापन समारोहमा देखाइने प्रत्येक दृश्य, संगीत र सांस्कृतिक प्रस्तुति मनोरञ्जनका लागिमात्र नभई विश्व समुदायलाई जोड्ने प्रतीकका रूपमा पनि प्रस्तुत गरिन्छ । सन् २०२६ को समापन समारोह पनि यही भावना केन्द्रमा राखेर निर्माण गरिएको छ ।
विश्वकपको अन्तिम दिन खेलाडीका लागि उपाधि सपना पूरा गर्ने क्षण हो भने समर्थकका लागि भावनाको चरमबिन्दु । चार वर्षसम्म पर्खेर आएको प्रतियोगिता केही घण्टामै समाप्त हुने भएकाले विश्वभरका फुटबलप्रेमीका लागि यो दिन उत्साह, तनाव र भावुकताको अनौठो मिश्रण बन्ने गर्छ । फाइनल खेलअघि रंगशालामा प्रवेश गर्ने हजारौं समर्थकका अनुहारमा एउटै प्रश्न हुन्छ, ‘यसपटक इतिहास कसको पक्षमा लेखिनेछ ?’ खेल सुरु हुनुअघि हुने समापन समारोहले केही समयका लागि प्रतिस्पर्धाको तनाव उत्सवमा रूपान्तरण गरिदिन्छ । यही कारण यस कार्यक्रमलाई विश्वकपको ‘भावनात्मक प्रस्तावना’ पनि भन्ने गरिन्छ ।
समर्थकका सम्बन्ध सीमाभन्दा पर
विश्वकपको सबैभन्दा ठूलो शक्ति खेलाडी होइनन्, समर्थक हुन् । उनीहरूको गीत, झन्डा, पहिरन, नाराबाजी र संस्कृतिले नै विश्वकपलाई जीवित बनाउँछ । सन् २०२६ संस्करणमा पनि लाखौं समर्थकले हजारौं किलोमिटर यात्रा गरेर आयोजक देश पुगे । कोही परिवारसँग, कोही साथीसँग, कोही जीवनभरको सपना पूरा गर्न । धेरैका लागि यो पहिलो विश्वकप थियो भने कतिपयका लागि अन्तिम ।
रंगशालाबाहिर विभिन्न देशका समर्थक एउटै सडकमा नाचिरहेका, गीत गाउँदै फोटो खिचिरहेका र एकअर्काको झन्डासँग सम्मानपूर्वक उभिएका दृश्यले विश्वकपको वास्तविक अर्थ सम्झाउँछन् । प्रतिस्पर्धा मैदानभित्र हुन्छ, सम्मान मैदानबाहिर । समापन समारोहले यही भावना विश्वसामु प्रस्तुत गर्छ ।
प्रविधिको नयाँ युग
जारी विश्वकपलाई धेरैले ‘डिजिटल विश्वकप’ पनि भनेका छन् । टिकटिङदेखि सुरक्षा, प्रत्यक्ष प्रसारणदेखि कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषणसम्म आधुनिक प्रविधि व्यापक प्रयोग गरिएका छन् । समापन समारोहमा पनि अत्याधुनिक प्रकाश प्रणाली, थ्री–डी दृश्य प्रभाव, ड्रोन कोरियोग्राफी, विशाल एलईडी मञ्च र उच्च क्षमताको ध्वनि प्रणाली प्रयोग हुने छन् । विश्वभरका दर्शकले मोबाइल फोन, स्मार्ट टेलिभिजन, स्ट्रिमिङ प्लेटफर्म र सामाजिक सञ्जालमार्फत एउटै क्षण प्रत्यक्ष अनुभव गर्ने छन् । केही दशकअघि सम्भव नदेखिएको यस्तो दृश्य अहिले विश्वकपको सामान्य विशेषता बनिसकेको छ ।
खेलभन्दा ठूलो सांस्कृतिक विरासत
विश्वकप समाप्त भएपछि एउटा टोलीले ट्रफीमात्रै जित्दैन । आयोजक राष्ट्रले नयाँ पूर्वाधार पाउँछन्, पर्यटन उद्योगले नयाँ बजार पाउँछ, स्थानीय अर्थतन्त्रले गति लिन्छ र लाखौं बालबालिकाले फुटबल खेल्ने प्रेरणा पाउँछन् । इतिहास हेर्दा विश्वकपले धेरै देशमा खेल पूर्वाधार निर्माण, सार्वजनिक यातायात सुधार, अन्तर्राष्ट्रिय पहिचान विस्तार र खेल पर्यटन विकासमा योगदान पु¥याएको देखिन्छ । अमेरिका, क्यानडा र मेक्सिकोका लागि पनि सन् २०२६ संस्करण यस्तै अवसर बनेको छ । प्रतियोगिताले तीन देशबीचको सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ भने उत्तर अमेरिकी फुटबल संस्कृति विश्वसामु थप बलियो गरी प्रस्तुत भएको छ ।
मनोरञ्जनको बदलिँदो परिभाषा
पहिले खेल र मनोरञ्जन फरक क्षेत्र मानिन्थे । अहिले एकअर्काका पूरक बनेका छन् । विश्वकप समापन समारोहले यही परिवर्तनको प्रतिनिधित्व गर्छ । खेलकुद अब नतिजास“गै अनुभव पनि हो । दर्शक खेलमात्रै हेर्न चाहँदैनन्, उनीहरू स्मरणीय क्षण, सांगीतिक प्रस्तुति, दृश्य प्रभाव र डिजिटल सहभागिता पनि खोज्छन् । यही कारण फिफाले पछिल्ला वर्ष विश्वकपलाई ‘बहुआयामिक मनोरञ्जन ब्रान्ड’का रूपमा विकास गरिरहेको छ ।
अन्तिम सिटी, नयाँ सुरुवात
फाइनल खेल सकिएपछि ‘ट्रफी’ विजेता कप्तानको हातमा पुग्ने छ । रंगशालाभर ‘कन्फेटी’ उड्ने छ । समर्थक खुसी र निराशाका फरक–फरक भावनामा डुब्ने छन् । खेलाडीले जीवनकै सबैभन्दा ठूलो उपलब्धि मनाउने छन् । यही क्षण अर्को यात्रा पनि सुरु हुनेछ । फुटबल विश्व फेरि अर्को चार वर्षको प्रतीक्षामा जानेछ । नयाँ प्रतिभा जन्मिने छन् । नयाँ प्रशिक्षक आउने छन् । नयाँ रणनीति बनाइने छ । समर्थक फेरि अर्को विश्वकपको सपना देख्न थाल्ने छन् । विश्वकप समापन अर्को अध्यायको सुरुवात हुनेछ ।
जारी संस्करणको ऐतिहासिक सन्देश
पहिलोपटक ४८ टोली, तीन आयोजक राष्ट्र, विस्तारित प्रतियोगिता, अत्याधुनिक प्रविधि र मनोरञ्जनको अभूतपूर्व संयोजनका कारण सन् २०२६ को विश्वकप इतिहासमा विशेषरूपमा स्मरण गरिने छ । समापन समारोहले पनि यही इतिहासलाई औपचारिकरूपमा पूर्णविराम लगाउनेछ । लाखौं दर्शक रंगशालामा र अर्बौं दर्शक टेलिभिजन तथा डिजिटल माध्यमबाट त्यस क्षणका साक्षी बन्ने छन् । संगीतको लय, प्रकाशको चमक, समर्थकका गर्जन र अन्तिम सिटीसँगै विश्व फुटबलले अर्को अविस्मरणीय अध्याय बन्द गर्ने छ ।
विश्वकप २०२६ समापन समारोह औपचारिक कार्यक्रमभन्दा धेरै ठूलो अर्थ बोकेको छ । यसले एक महिनासम्म चलेको विश्वव्यापी फुटबल यात्रालाई सम्मान गर्दछ, आयोजक राष्ट्रको पहिचान प्रस्तुत गर्दछ, कलाकारमार्फत सांस्कृतिक विविधतालाई उत्सवमा बदल्छ र विश्व समुदायलाई एकता सन्देश दिन्छ ।
फाइनल खेलले नयाँ विश्व च्याम्पियन जन्माउने छ भने समापन समारोहले विश्वकप २०२६ लाई ‘इतिहासमा कसरी सम्झिने ?’ भन्ने भावनात्मक आधार तयार गर्नेछ । त्यसैले मेटलाइफ स्टेडियममा हुने केही मिनेटको प्रस्तुति मनोरञ्जनका अतिरिक्त विश्व फुटबलको एउटा युगलाई बिदाइ गर्ने ऐतिहासिक क्षण हुनेछ । चार वर्षको प्रतीक्षा, एक महिनाको उत्साह र करोडौं समर्थकका भावना एउटै मञ्चमा समेट्ने अन्तिम रात विश्व फुटबलका लागि लामो समयसम्म स्मरणीय रहने छ ।
फाइनलमा अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई उपस्थित नहुने, ‘भाग्यशाली परम्परा’ कायम राख्ने निर्णय
‘फिफा विश्वकप २०२६’ उपाधिका लागि स्पेन रअर्जेन्टिनाबीच आइतबार हुने बहुप्रतीक्षित फाइनल खेलमा विश्वभरका फुटबल समर्थकको ध्यानकेन्द्रित भएको छ । खेल हेर्न विभिन्न देशका राष्ट्रप्रमुख, कूटनीतिज्ञ, खेलकुद अधिकारी तथा विशिष्ट व्यक्ति मैदान पुग्ने तयारीमा रहे पनि अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई भने रंगशालामा उपस्थित नहुने भएका छन् ।

राष्ट्रपति मिलेईले फाइनल प्रत्यक्ष हेर्न अमेरिका नजाने निर्णय गरेका हुन् । अर्जेन्टिनाली सञ्चारमाध्यमका अनुसार उनले प्रतियोगिताभर अपनाउँदै आएको आफ्नो ‘भाग्यशाली परम्परा’लाई निरन्तरता दिने उद्देश्यले यस्तो निर्णय लिएका हुन् ।
विश्वकप सुरु भएयता अर्जेन्टिनाले खेलेका सबै खेल उनले राष्ट्रपतिको सरकारी निवासबाटै हेर्दै आएका छन् । प्रत्येक खेलक्रममा एउटै स्थानमा बसेर खेल हेर्ने र एउटै ज्याकेट लगाउने बानीसमेत कायम राखेका छन् । उनका निकटवर्तीले ‘यसलाई राष्ट्रपतिको व्यक्तिगत विश्वास र शुभ संकेतसँग जोडिएको परम्परा’का रूपमा व्याख्या गरेका छन् ।
अर्जेन्टिनामा यस्ता शुभ संकेतलाई ‘काबालास’ भनिन्छ । खेलाडीदेखि समर्थकसम्मले टोलीको सफलताका लागि निश्चित बानी दोहो¥याउने चलन त्यहाँ निकै लोकप्रिय मानिन्छ । एउटै जर्सी लगाउने, एउटै स्थानमा बसेर खेल हेर्ने, त कसैले खेलअघि निश्चित विधि अपनाउने विश्वास राख्ने गरेका छन् । राष्ट्रपति मिलेईको निर्णयलाई पनि यही सांस्कृतिक परम्परासँग जोडेर हेरिएको छ ।
यसपटक अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । ‘नकआउट’ चरणमा टोलीले कठिन प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधिनजिक पुगेको हो । अर्कोतर्फ स्पेनले पनि सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । त्यसैले यसपटकको उपाधि भिडन्तलाई हालसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक फाइनलमध्ये एक मानिएको छ । फाइनल खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुँदै छ ।
खेलका लागि विश्वभरका लाखौं समर्थक रंगशाला र टेलिभिजनमार्फत प्रत्यक्ष साक्षी बन्ने तयारीमा छन् । प्रतियोगिताको समापन समारोह पनि भव्य हुने अपेक्षा गरिएको छ । यद्यपि, अर्जेन्टिनाका राष्ट्रपति भने आफ्नो टोलीका लागि आफूले अपनाएको भाग्यशाली परम्परा नतोड्ने अडानमा छन् ।
उनका अनुसार टोलीले फाइनलसम्म उत्कृष्ट यात्रा तय गरेको अवस्थामा त्यसलाई परिवर्तन गर्नु उपयुक्त नहुने विश्वास छ । त्यसैले उनले सरकारी निवासबाटै खेल हेर्दै अर्जेन्टिनाको जितको कामना गर्नेछन् ।
सम्बन्धित समाचार
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा (खेल तालिकासहित)
फुटबल संस्कृतिमा बाँचेको ‘केप भर्डे’
ह्रयारी केन, भविष्यवाणी र उचाइमा खेल्नुपर्ने चुनौती
पोर्चुगल-स्पेन विश्वकपमा तेस्रो पटक भिड्दै
गोल गर्न किन कहिल्यै चुक्दैनन् हालान्ड ?
यसरी बद्लिँदै आयो विश्वकप बल
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?






