डडेल्धुरा जिल्ला अदालतद्वारा ९१.२१ प्रतिशत मुद्दा फछ्र्याैट

डडेल्धुरा जिल्ला अदालत डडेल्धुरा । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । डडेल्धुरा जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा मुद्दा फछ्र्याैटतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ । अदालतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा टुंग्याउँदै कुल लगतको ९१.२१ प्रतिशत मुद्दा फछ्र्याैट गर्न सफल भएको जनाएको छ । लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ निरूपण गर्दै अदालतले न्याय सम्पादनलाई प्रभावकारी, छिटोछरितो र सेवामुखी बनाउन उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।

वार्षिक लक्ष्यभन्दा २८.५७ प्रतिशत बढी उपलब्धि, दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

अदालतका श्रेस्तेदार गणेशबहादुर बिष्टका अनुसार आर्थिक वर्षको सुरुवातमा ४९ वटा जिम्मेवारी लगत रहेका थिए । समीक्षा अवधिभर २४७ वटा नयाँ मुद्दा दर्ता भएपछि कुल मुद्दा संख्या २९६ पुगेको थियो । तीमध्ये २७० वटा मुद्दा फछ्र्याैट गरिएको छ भने २६ वटा मुद्दा मात्रै अर्काे आर्थिक वर्षका लागि जिम्मेवारीमा सरेका छन । यस आधारमा अदालतले कुल लगतको ९१.२१ प्रतिशत मुद्दा टुंग्याउन सफल भएको उनले बताए ।

डडेल्धुरा जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा २१० वटा मुद्दा फछ्र्याैट गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको थियो । तर लक्ष्यभन्दा ६० वटा बढी मुद्दा टुंग्याउँदै अदालतले १२८.५७ प्रतिशत लक्ष्य उपलब्धि हासिल गरेको श्रेस्तेदार बिष्टले जानकारी दिए । उनका अनुसार अदालतले नियमित सुनुवाइ, समयमै फैसला तथा मुद्दा व्यवस्थापनलाई प्राथमिकतामा राखेकाले लक्ष्यभन्दा बढी प्रगति सम्भव भएको हो ।

अदालतको तथ्याङ्कअनुसार हाल दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी छैनन् । त्यसैगरी १८ महिनाभन्दा पुराना र एक वर्षभन्दा पुराना मुद्दासमेत शून्यमा झारिएको छ । बाँकी रहेका २६ वटा मुद्दामध्ये एक वटा मात्र छ महिनाभन्दा पुरानो रहेको छ भने अन्य २५ वटा मुद्दा छ महिनाभित्रका रहेका छन । यसले अदालतमा लामो समयसम्म विचाराधीन रहने मुद्दाको सङ्ख्या न्यून रहेको देखाउँछ ।

न्यायपालिकाले पछिल्ला वर्षहरूमा पुराना मुद्दा फछ्र्याैटलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । सोही नीति अनुरूप डडेल्धुरा जिल्ला अदालतले पनि पुराना मुद्दा शून्यमा झार्ने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको देखिएको छ । अदालतको कार्यसम्पादनले सेवाग्राहीलाई समयमै न्याय दिलाउने, न्यायिक प्रक्रियाप्रतिको विश्वास अभिवृद्धि गर्ने तथा अदालतको संस्थागत कार्यक्षमता सुदृढ बनाउन सकारात्मक योगदान पुगेको अपेक्षा गरिएको उनले बताए ।

वार्षिक लक्ष्यभन्दा उल्लेखनीय रूपमा बढी मुद्दा फछ्र्याैट गर्नुका साथै दुई वर्षभन्दा पुराना, १८ महिनाभन्दा पुराना र एक वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा झार्न सफल भएकाले डडेल्धुरा जिल्ला अदालतको आर्थिक वर्ष २०८२–८३ को कार्यसम्पादनलाई उपलब्धिमूलक मानिएको उनको भनाई छ । अदालतले आगामी दिनमा पनि छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादनलाई निरन्तरता दिने अपेक्षा गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार