नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–२ को श्रीमाध्यमिक विद्यालय जोगागाउँको आइसोलेशन सेन्टरमा बसेका कोरोना संक्रमित भागेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय पुरुष संक्रमित सोमबार राति फरार भएको सो आईसोलेशन सञ्चालन गर्दै आएका जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
४१ जना संक्रमित राखिएको सो आईसोलेशनबाट सोमबार राती १ जना संक्रमित पिसाव गर्ने बाहनामा भागेका हुन । सो आईसोलेशनमा जानकी गाउपालिका वडानं. १ का संक्रमित राखिदै आएको थियो । आईसोलेशनमा रहेका सबै संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।
उनले आफुलाई आईसोलेशनबाट संक्रमित भागेको खबर आउने बित्तिकै उसको खोजीको लागिआफै संक्रमितको घर र संभावित ठाँउमा पुगेको जानकारी दिए । उनले भने–‘ संक्रमितलाई खोज्दै उसको घर र संभावित ठाँउमा पुगेर फर्केए तर कतै पनि भेटिएको छैन । खेजीजारी राखिएको छ ।’
उनले आईसोलेशन सेन्टरको अवस्था अत्यन्तै नाजुकभएको कारणले पनि संक्रमित बस्न नमान्ने गुनासो गर्दै भने–‘ आईसोलेशन केन्द्रमा कम्तिमा डाक्टरको निगरानीमा हुनु पर्ने हो तर, डाक्टर छैनन् एम्बुलेन्स पनिभनेको बेलामा पाईदैन । यस्तो अवस्थामा वडा र गाउपालिकाले मात्र कसरी सञ्चालनगर्न सकिन्छ र आईसोलेशन ।’

गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ति युवाको कोरोना परिक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आईसुलेशन सेन्टरमा राखिएको थियो ।
सोही आईसोलेशनमा बस्दै आएका संक्रमितले राती पिसाव गर्न जन्छु भनेर निस्केको फर्केर नआएको बताए । सो आईसोलेशनको दक्षिणमा निर्माण कार्य भइरहेको कारण सामान्य डोरीको बार लगाइएको छ । सुरक्षाको लागि पनि दुईजना मात्र प्रहरी तैनाथ रहेका छन् ।
संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।उनको घर तथा आफन्तको घर प्रहरीको निगरानीमा राखि खोजी तीब्र पारीएको उनले बताए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरिबहादुर खत्रीले आईसोलेशन केन्द्रमा सुरक्षा अभावको कारण संक्रमित भागेको जानकारी आफुलाई आएको बताए । उनले संक्रमित राख्ने आईसोलेशन सेन्टरमा दुई जनामात्र प्रहरी रहेको सुरक्षा दायरा बढाई दिन माग समेत गरे ।
फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाबलिइएको थियो । उनी १ महिना अघि भारतबाट नेपाल आएका हुन ।






