२५ दिन यता मेची राजमार्ग अवरुद्ध

इलाम । २५ दिन यता मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक अवरुद्ध छ । पानी परिसक्दा जमिननै बग्ने र सडक भासिने समस्याले अहिले यातायात पूर्ण रुपमा बन्द गरेर मर्मतको काम भइरहेको छ । माइखोलामा काम भइरहेपनि राजमार्गनै चुट्टिएको कारण सडक सञ्चालन हुन सकेको छैन ।

सडक संकट रोक्न डिभिजन इलामको दीर्घकालीन योजना विभागमा

अहिले खोलाबाटै कंक्रिट वाल उठाउने काम र सडकफिलिङ भइरहेकोे सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘अब सातादिन भित्रमा साना सवारी सञ्चालनमा ल्याउने लक्ष्यले काम भइरहेको उनको भनाई छ । यता केचना–कञ्चनजंघा सडक अन्तर्गत बेलासे–भञ्ज्याङ सडकको काम सुरु भएको छ । पटक–पटक ठेक्का तोड्ने चेतावनीपछि खड्का कृष्ण सक्षम जेभीले पुनःअन्तिम पटकका लागि छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएर काम सुरु गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

‘निर्माण कम्पनीका दोस्रो लगानीकर्ता आएर काम सक्ने लिखित सहमति गरेर गएका थिए । ठेक्का तोड्ने अवस्था भएपछि काम थालेको डिभिजनले जनाएको छ । खड्का कृष्ण सक्षम जेभीले उक्त सडक खण्डलाई २९ करोड रुपियाँमा ठेक्कालिएर काम सुरु गरेको थियो ।

तर, पटक–पटक समय थप गर्दा पनि अहिले सम्ममा ४५ प्रतिशतमात्र काम भएको कार्यालयले जनाएको छ । बेलासे देखि भञ्ज्याङ सम्मको साढे नौं किलोमिटर सडक कालोपत्रे गर्ने काम तोकिएको समयमा नहुँदा असर इलाम, पाँचथर र ताप्लेजुङको यातायात सञ्जाल ठप्प बनेको छ ।

वर्षेनी दोहोरिने सडक संकट रोक्न इलामको दीर्घकालीन योजना
प्रत्येक वर्ष बाढी, पहिरोका कारण सडक अवरुद्ध भएपछि सडक डिभिजन इलामले दीर्घकालीन समाधानका लागि सडक विभागमा योजना सहित प्रस्ताव पेश गरेको छ । मेची राजमार्गको सडक सञ्जाललाई दीर्घकालीन बनाउन डिभिजन इलामले सडक विभाग समक्ष विस्तृत विवरण सहित योजना पेश गरेको हो । प्रस्तावमा वैकल्पिक सडक स्तरोन्नति, वैकल्पिक सडकलाई राष्ट्रिय राजमार्गमा समावेश, मोटरेवल पुल निर्माण, मेची करिडोर विस्तार तथा सडक सुधारसहित योजना मन्त्रालयमा पठाएको हो ।

डिभिजन प्रमुख पवन भट्टराईले सडक विभागमा पठाएको पत्रमा मेची राजमार्गको राजदुवाली अवरुद्ध भएको र वैकल्पिक मार्गका रूपमा रहेका मेची करिडोर (केचना–कञ्चनजंघा सडक) र सिमलगोलाई–तिल्केनी सडकमा पर्ने पुवा खोला तथा जोगमाई खोलामा जडान गरिने भनिएका ७०–७० मिटरका बेलिब्रिज समयमै उपलब्ध नहुँदा ती सडकसमेत सञ्चालन हुन नसकेको उल्लेख छ ।

एक महिनादेखि इलाममा ढुवानीका सवारी सञ्चालन हुन नसकेको, खाद्यान्न, इन्धन, खाना पकाउने ग्यास र औषधिको आपूर्तिमा समस्या देखिएको तथा जिल्लाबाट उत्पादन हुने कृषि उपज र दूध बाहिरी बजारसम्म पु¥याउन कठिन भएको भन्दै बिरामी तथा गर्भवतीलाई उपचारका लागि अस्पताल पु¥याउनसमेत कठिनाइ भइरहेको उल्लेख गर्दै इलामले लगातार तेस्रो वर्ष पनि वर्षामा उस्तै पीडा भोग्नुपरेको जनाइएको छ ।

सिमलगोलाई–तिल्केनी सडक कालोपत्रे गर्न ६० करोड स्रोत सुनिश्चित गर्न आग्रह
मन्त्रालयमा पठाएको पत्रमा सिमलगोलाई–तिल्केनी सडक कालोपत्रे गर्न तत्काल ६० करोड रुपैयाँको स्रोत सुनिश्चित गर्न आग्रह गरिएको छ । साउनभित्र स्रोत सुनिश्चित भए कार्तिकभित्र ठेक्का सम्झौता गरी चालु आर्थिक वर्षमै काम गर्न सकिने र आगामी वर्षाअघि सडक सञ्चालनयोग्य बनाउन सकिने डिभिजन इलामको भनाइ छ । १२ किलोमिटर रहेको उक्त सडकलाई राष्ट्रिय राजमार्गमा समावेश गरी नियमित मर्मत गर्न तथा जोगमाई खोलामा ८० मिटरकोे पक्की पुल निर्माण गर्न पनि आग्रह गरेको छ ।

डिभिजन कार्यालयले केचना–कञ्चनजंघा (मेची करिडोर)लाई राष्ट्रिय राजमार्गमा समावेश गरी आगामी पाँच वर्षभित्र कञ्चनजंघा बेसक्याम्पसम्म कम्तीमा ग्राभेल सडक पु¥याउन आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । त्यसैगरी मेची करिडोरअन्तर्गत ठाडे खोलामा ५० मिटर र पुवा खोलामा ८५ मिटर लामो स्थायी पुल निर्माण गर्नुपर्ने उल्लेख छ । यसबाट इलाम सदरमुकाम र झापाबीचको दूरी करिब ५२ किलोमिटरमा सीमित हुने तथा वार्षिक कम्तीमा ५० करोड रुपैयाँ बराबरको ढुवानी, इन्धन र समय बचत हुने डिभिजनको अनुमान छ ।

सन्दकपुर सम्मको सडकलाई राष्ट्रिय राजमार्ग बनाइनुपर्ने
इलाम देखि सन्दकपुर सम्मको सडकलाई राष्ट्रिय राजमार्ग साथै स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको छ । हाल फेमेगुरुदेखि सन्दकपुरसम्म २३ किलोमिटर सडक ग्राभेलस्तरमा स्तरोन्नति भइरहेको उल्लेख गर्दै देउरालीदेखि फेमेगुरुसम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्न र राते खोलामा ५५ मिटर लामो पक्की पुल निर्माणका लागि बजेट व्यवस्था गर्न आग्रह गरिएको छ ।

यो सडक दिर्घकालीन रुपमा विकास हुँन सके अधिकांश भारतीय पर्यटक पशुपतिनगर–कन्याम–फिक्कल–इलाम हुँदै सन्दकपुर पुग्ने उल्लेख गर्दै यसबाट इलाम, कन्याम, फिक्कल, श्रीअन्तु लगायतका पर्यटन गन्तव्य प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । मेची करिडोरको झापा–इलाम खण्ड सम्पन्न भएपछि इलाम हुँदै सन्दकपुर पुगेर फर्किने नयाँ पर्यटन सर्किट विकास हुने समेत डिभिजनको विश्वास छ ।

डिभिजनले राजदुवाली पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन, वैकल्पिक मार्गको विस्तृत अध्ययन तत्काल अघि बढाउन तथा ५६ वर्ष पुरानो राजदुवालीस्थित स्टिल ट्रस पुललाई नयाँ पुलबाट प्रतिस्थापन गर्न पनि सडक विभागको ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

आयोजनाद्वारा जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण