बारा । सशस्त्र प्रहरीले बाराको बिश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर क्षेत्रबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सो इलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद भट्टको कमाण्डमा गएको टोलीले भारतबाट जबरजस्ती नेपालतर्फ प्रवेश गरेका एक जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षीय जीवनकुमार शर्राफलाई ना ५ प ३६९८ को हिरो हण्डा मोटरसाईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN – ४ वटा (ईन्जेक्सन), DIAZWLAB – ४ वटा (ईन्जेक्सन), FINARAGN – ४ वटा (ईन्जेक्सन), ONEREX – ३ बोतल (१०० ML को बोतलमा), ६०० ML को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतलसहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुवेदीले बताए । लकडाउनको समयमा लागूऔषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको विशेष सुराकीको आधारमा ती व्यक्ति नियन्त्रणमा लिन सफल भएको उपरुीक्षक सुवेदीले बताए ।
नियन्त्रणमा लिइएका ती व्यक्तिसँग भारतीय नागरिक अक्षयकुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली ब्यक्तिको नागरिकताको प्रतिलिपिसमेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ब्यती व्यक्ति, लागूऔषध र मोटर साइकल नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । गत साता पनि सोही गाउँपालिका अन्तर्गतबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको थियो ।






