धनकुटा । सिरान बजारको साँघुरो गल्ली हुँदै अघि बढ्दा एउटा साधारण दुईतले घर आँखामा पर्छ । बाहिरबाट हेर्दा त्यो घर अरू घरभन्दा खासै फरक देखिँदैन । न कुनै ठूलो साइनबोर्ड, न भव्य प्रवेशद्वार, न त आधुनिक संग्रहालयजस्तो आकर्षक संरचना नै । अतः ढोका खोल्नेबित्तिकै दृश्य बदलिन्छ । मानौं, समयले आफ्नो गति केहीबेरका लागि रोकिदिन्छ र आगन्तुकलाई विगतका अनेकौं दशकतर्फ फर्काइदिन्छ ।
धनकुटाका मनोजनारायण श्रेष्ठको तीन दशकदेखिको मौन अभियान
भित्ताभर टाँसिएका कालासेता तस्बिर । काठका पुराना आलमारीभित्र सुरक्षित राखिएका जीर्ण कागजात । सावधानीपूर्वक मिलाएर राखिएका माटाका पाइप । राणाकालीन इँटा । पुराना रेडियो, टेलिफोन, घडी, कृषि औजार, घरेलु सामग्री, राजनीतिक आन्दोलनसँग सम्बन्धित दस्तावेज । शहीद भीमनारायण श्रेष्ठका व्यक्तिगत सामग्री र इतिहासका अनेकौं मौन साक्षीले एउटै सन्देश दिन्छन्, ‘इतिहास पढ्ने विषयमात्रै होइन, अनुभूति गर्ने सम्पदा पनि हो ।’
त्यहाँ राखिएका प्रत्येक वस्तुको आफ्नै कथा छन् । कुनै वस्तुले धनकुटाको सामाजिक जीवनको परिवर्तन सम्झाउँछ, कुनैले राणा शासनको कठोर समय, कुनैले लोकतान्त्रिक आन्दोलनको संघर्ष त कुनैले गाउँघरको साधारण जनजीवन । ती वस्तु न बोल्छन्, न हिँड्छन्, तिनले सुनाउने कथा कहिलेकाहीँ पुस्तकका सयौं पृष्ठभन्दा पनि गहिरा हुन्छन् ।
यो संग्रहालय कुनै सरकारी परियोजनाको परिणाम होइन । कुनै अन्तर्राष्ट्रिय संस्थाले करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरेको पनि होइन । यो एउटै व्यक्तिको धैर्य, लगाव, समय, श्रम र इतिहासप्रतिको गहिरो जिम्मेवारीबोधबाट जन्मिएको संग्रहालय हो । यसको पछाडि छन्, मनोजनारायण श्रेष्ठ ।

धनकुटाको इतिहास संरक्षण क्षेत्रमा यो नाम अहिले परिचित छ । मनोजनारायणले यो यात्रा सुरु गर्दा न कुनै सम्मानको कल्पना गरेका थिए, न त कुनै पुरस्कारकै । उनीसँग एउटा विश्वास थियो, ‘यदि आजका पुस्ताले आफ्ना पुर्खाले प्रयोग गरेका सामग्री, पुराना कागजात, तस्बिर र स्मृति जोगाएनन् भने भोलिका पुस्ताले आफ्नो इतिहास खोज्दा खाली हात फर्किनुपर्नेछ ।’ यही कुराले उनको मन खाइरहन्थ्यो ।
इतिहाससँग पहिलो भेट
मनोजनारायण श्रेष्ठको इतिहासप्रतिको रुचि कुनै विश्वविद्यालयको कक्षाबाट सुरु भएको होइन, यो रुचि उनको बाल्यकालमै जन्मिएको हो ।
बाल्यकालमा उनी आफ्ना बुबाबाजेबाट पुराना घटनाका कथा सुन्थे । ‘धनकुटाको पुरानो बजार कस्तो थियो ?, कसरी यहाँ व्यापार हुन्थ्यो ? कसरी मानिस पैदल यात्रा गर्थे ? कसरी राणाकालमा सरकारी काम हुन्थ्यो ?’ कसरी राजनीतिक आन्दोलनका बेला गाउँगाउँमा गोप्य गतिविधि सञ्चालन हुन्थे ?’ यस्ता कथाले उनलाई सधैं आकर्षित गर्थे । समयसँगै उनले एउटा अर्को कुरा पनि देखे ।
जुन गाउ“ले ती कथा सुनाउँथे, उनीहरू बिस्तारै संसार छाड्दै गए । उनीहरूसँगै ती कथाका प्रमाण पनि हराउन थाले । पुराना तस्बिर च्यातिए । चिट्ठी मुसाले काटे । काठका बाकस कुहिए । पुराना घर भत्किए । पुराना सामग्रीलाई ‘काम नलाग्ने फोहोर’ भनेर फाल्न थालियो । यही दृश्यले मनोजनारायणको मनमा एउटा प्रश्न उब्जियो, ‘यदि यी सबै हराए भने भोलि इतिहास कसरी लेखिनेछ ?’ त्यही प्रश्न नै उनको जीवनको यात्राको आधार बन्यो ।
घरको एउटा कुनाबाट सुरु भएको अभियान
आज दुई सयभन्दा बढी दुर्लभ सामग्रीले भरिएको संग्रहालय कुनै योजनाबद्ध परियोजनाको परिणाम होइन । यसको सुरुवात अत्यन्त साधारण थियो– घरको एउटा सानो कुनामा राखिएका केही पुराना सामग्रीबाट ।
सुरुमा उनले आफ्नै परिवारसँग सम्बन्धित केही वस्तु छुट्याएर सुरक्षित राखे । पुराना कागजात, तस्बिर, घरेलु सामग्री, केही ऐतिहासिक महइभ्वका वस्तु । त्यतिबेला उनी आफैंलाई पनि थाहा थिएन, ‘यही सानो प्रयास एकदिन धनकुटाकै महइभ्वपूर्ण निजी संग्रहालयमा रूपान्तरण हुनेछ ।’

बिस्तारै मनोजनारायणका आफन्तले पनि आफ्ना घरमा रहेका पुराना सामग्री’bout जानकारी दिन थाले । कसैले पुर्खाको पुरानो घडी ल्याइदिए । कसैले दशकौंअघिका तस्बिर । कसैले पुरानो सरकारी कागजात । कसैले धार्मिक सामग्री त कसैले पुराना सिक्का ।
समाचार फैलिँदै गयो । धनकुटाका विभिन्न गाउँबाट मानिस भन्न थाले, ‘हाम्रो घरमा पनि यस्तै पुरानो सामान छन् ।’ त्यसपछि मनोजनारायणको यात्रा गाउँगाउँ पुग्न थाल्यो । कतै घर भत्काउने तयारी हुँदै थियो । कतै पुरानो गोठ खाली गरिँदै थियो । कतै हजुरबुबाको बाकस वर्षौंदेखि नखोली थन्किएको थियो । त्यहीँ कतै एउटा पुरानो तस्बिर भेटिन्थ्यो । कतै एउटा भरपाइ । कतै एउटा सरकारी पत्र । कतै एउटा कृषि औजार । धेरैजसो अवस्थामा ती सामग्री फालिने तयारीमा हुन्थे ।
‘धेरै मानिसलाई पुराना सामान काम नलाग्नेजस्तो लाग्थ्यो । कसैले फालिदिन्थे, कसैले आगो लगाइदिन्थे,’ मनोजनारायण सम्झन्छन्, ‘मलाई भने त्यस्तो देख्दा एउटा इतिहास नै हराइरहेजस्तो लाग्थ्यो । त्यसैले जहाँ खबर पाइन्थ्यो, सकेसम्म पुगेर ती सामग्री जोगाउने प्रयास गर्थें ।’
कहिलेकाहीँ उनी घण्टौं पैदल हिँड्थे । एउटा गाउँबाट अर्को गाउँ पुग्थे । कतिपय परिवारले सुरुमा सामग्री दिन मान्दैनथे । उनी त्यसको ऐतिहासिक महइभ्व बुझाउँथे । संरक्षणको आवश्यकता सम्झाउँथे । त्यसपछि धेरैले विश्वास गरेर सामग्री जिम्मा लगाए । कतिपयले भने एउटा शर्त राखे, ‘हामीले दिएको वस्तु बेच्नु हुँदैन, जोगाएर राख्नुपर्छ ।’
मनोजनारायणको उत्तर सधैं एउटै हुन्थ्यो, ‘यो मेरो होइन, हाम्रो इतिहास हो ।’ जब एउटा वस्तु वस्तुमात्र रहँदैन । संग्रहालयमा राखिएका धेरै सामग्री पहिलो नजरमा सामान्य लाग्न सक्छन् । एउटा पुरानो रेडियो । एउटा जीर्ण भरपाइ । एउटा फुट्न लागेको माटाको पाइप । एउटा काठको बाकस । एउटा पुरानो घडी । मनोजनारायणका लागि ती वस्तु धातु, काठ, माटो वा कागजका टुक्रामात्र होइनन्, ती समयका दस्तावेज हुन् ।
‘आज सामान्य लाग्ने एउटा कागज नै ५० वर्षपछि इतिहासको सबैभन्दा ठूलो प्रमाण बन्न सक्छ । एउटा पुरानो तस्बिरले पूरै पुस्ताको जीवनशैली देखाउन सक्छ,’ उनी भन्छन्, ‘एउटा औजारले त्यतिबेलाको अर्थतन्त्र बुझाउन सक्छ । त्यसैले कुनै पनि ऐतिहासिक सामग्री सानो हुँदैन ।’
यही सोचले उनको संग्रहलाई विस्तार गरिरह्यो । एक–दुई वस्तुबाट सुरु अभियान दशकौंपछि सयौं सामग्रीको अभिलेखमा परिणत भयो । प्रत्येक नयाँ सामग्रीसँग एउटा नयाँ कथा जोडिँदै गयो । प्रत्येक कथाले धनकुटाको इतिहासको अर्को पाना खोल्दै गयो ।
युगको कथा सुनाउने प्रत्येक वस्तु
संग्रहालय घुम्ने जो–कोही एउटा कुरा छिट्टै महसुस गछनर््, ‘यहाँ कुनै पनि वस्तु सामानमात्र होइन, प्रत्येक वस्तु एउटा समयको प्रतिनिधि हो ।’ कुनै वस्तुले कुनै व्यक्तिको जीवन सम्झाउँछ, कुनैले एउटा आन्दोलन, कुनैले एउटा शासन व्यवस्था र कुनैले समाजको दैनिक जीवन । यी वस्तु आफैं बोल्दैनन्, मनोजनारायण श्रेष्ठले तिनको कथा सुनाइदिँदा ती मौन वस्तु इतिहासका सशक्त साक्षीझैं लाग्न थाल्छन् ।
शहीद भीमनारायण श्रेष्ठका सम्झना
संग्रहालयको सबैभन्दा संवेदनशील कुनामध्ये एक हो, शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित सामग्री राखिएको स्थान । त्यहाँ उनका व्यक्तिगत चिट्ठी, प्रयोग गरेका केही कपडा, कागजात र अन्य सामग्री सुरक्षित छन् । ती वस्तु कुनै संग्रहकर्ताका लागि दुर्लभ सामग्रीमात्र होइनन्, लोकतन्त्रका लागि आफ्नो जीवन अर्पण गरेका एक व्यक्तिको मौन उपस्थिति हुन् ।

मनोजनारायणका अनुसार धेरै मानिस इतिहासमा शहीदको नाम पढ्छन्, उनीहरूले प्रयोग गरेका वास्तविक सामग्री हेर्ने अवसर भने विरलै पाउँछन् । यही कारण उनले ती सामग्रीलाई विशेष सावधानीसाथ संरक्षण गरेका छन् । पुराना कागजका ती चिट्ठीमा समयको पहेँलोपन देखिन्छ । कतै मसी धमिलो भइसकेको छ, कतै कागजका कुना च्यातिएका छन् । ती कागजमा लेखिएका शब्दले त्यस समयको राजनीतिक चेतना, संघर्ष र आशालाई अझै जीवित राखेका छन् । ‘यी कागजात हेर्दा एउटा कुरा महसुस हुन्छ,’ मनोजनारायण भन्छन्, ‘लोकतन्त्र भाषणले आएको होइन, मानिसको त्याग र बलिदानले आएको हो ।’
एउटा भरपाइ, जसले आन्दोलनको कथा बोल्छ
संग्रहालयमा सुरक्षित राखिएको अर्को अत्यन्त महइभ्वपूर्ण दस्तावेज पुरानो भरपाइ हो । पहिलो नजरमा त्यो सामान्य सरकारी कागजजस्तो देखिन्छ । त्यसमा लेखिएको विवरणले नेपालको राजनीतिक इतिहासको एउटा महइभ्वपूर्ण अध्याय उजागर गर्छ । त्यही भरपाइमा आन्दोलनक्रममा गिरिजाप्रसाद कोइरालालाई उपलब्ध गराइएको बन्दुकको अभिलेख उल्लेख छ ।
इतिहासका पुस्तकमा यस्ता घटना केही हरफमा सीमित हुन्छन् । त्यही घटनासँग प्रत्यक्ष सम्बन्ध राख्ने वास्तविक कागजात आँखाअघिल्तिचर देख्दा इतिहास अचानक धेरै नजिक आएको अनुभव हुन्छ ।
यही कारण संग्रहालयमा आउने धेरै आगन्तुक त्यही भरपाइ अगाडि केहीबेर रोकिएर हेर्छन् । ‘एउटा साधारण कागजले पनि कहिलेकाहीँ सम्पूर्ण राजनीतिक आन्दोलनको स्मृति बोकेर बसेको हुन्छ’ भन्ने अनुभूति उनीहरूलाई हुन्छ । ‘इतिहास लेख्ने आधार यस्तै प्रमाण हुन्,’ मनोजनारायण भन्छन्, ‘यदि यस्ता कागजात हराए भने भविष्यमा धेरै कुरा अनुमानमै सीमित हुन्छन् ।’
चन्द्रशमशेरकालीन इँटा
संग्रहालयको अर्को आकर्षण हो, चन्द्रशमशेरको शासनकालमा प्रयोग गरिएको इँटा । हेर्दा सामान्य निर्माण सामग्रीजस्तो देखिने त्यो इँटाले एक शताब्दीभन्दा पुरानो समयको कथा बोकेको छ । त्यसबेला प्रयोग हुने निर्माण प्रविधि, सामग्रीको गुणस्तर र राज्य संरचनाको झलक त्यसमा देख्न सकिन्छ । धेरै आगन्तुकलाई ‘एउटा इँटा किन यति महइभ्वपूर्ण भयो ?’ भन्ने जिज्ञासा लाग्छ ।

‘पुरानो भवन भत्किएपछि इँटामात्र बाँच्छ । त्यही इँटाले कहिलेकाहीँ सम्पूर्ण इतिहास सम्झाइदिन्छ,’ मनोजनारायणको उत्तर सरल छ, ‘धनकुटामा पुराना संरचना भत्किँदै जाँदा यस्ता धेरै ऐतिहासिक सामग्री हराइसके । जोगाउन सकिएका थोरै सामग्रीमध्ये यो पनि एक हो ।’
माटाका पाइपमा बगेको इतिहास
संग्रहालयमा राखिएका माटाका पाइप पनि धेरैको ध्यान खिच्ने सामग्री हुन् । आजका पुस्ताका लागि पाइप भनेको प्लास्टिक वा फलामको हुन सक्छ । कुनै समय धनकुटामा खानेपानी वितरणका लागि माटाका पाइप प्रयोग गरिन्थे । यी पाइपले तत्कालीन प्रविधि, स्थानीय सीप र सार्वजनिक पूर्वाधार विकास देखाउँछन् । मनोजनारायणका अनुसार धेरैजसो मानिसले यस्ता पाइप भत्किएका घर वा पुराना संरचना हटाउँदा फालिदिन्छन् । वास्तवमा तिनले कुनै समयको सहरी विकास र जनजीवनको कथा बोकेका हुन्छन् ।
पुराना रेडियो, टेलिफोन र सञ्चार
संग्रहालयको अर्को कुनामा पुराना रेडियो, टेलिफोन र सञ्चार उपकरण राखिएका छन् । यी उपकरणले एउटा यस्तो समय सम्झाउँछन्, जब एउटा रेडियो गाउँभरका मानिसको साझा सम्पत्तिजस्तै हुन्थ्यो । साँझ समाचार सुन्न छिमेकी एउटै घरमा भेला हुन्थे । देश–विदेशका घटनाको जानकारी यही रेडियोबाट पाइन्थ्यो । आज स्मार्टफोनको युगमा ती रेडियो मौन छन् । तिनले बोकेको इतिहास अझै बोलिरहेको छ । पुराना टेलिफोनले पनि ‘नेपालमा सञ्चार प्रणाली कसरी विकास भयो ?’ भन्ने कथा बोल्छ । अहिले एउटा सानो मोबाइलले गर्ने काम कुनै समय यिनै भारी उपकरणले गर्थे ।

किसानको पसिनाको इतिहास
धनकुटाको इतिहास राजनीति वा प्रशासनमात्रै होइन । यो किसानको पनि इतिहास हो । यही कारण संग्रहालयमा हलो, कोदालो, कुटो, जाँतो, ढिकी, डोको, नाम्लो र अन्य कृषि तथा घरायसी सामग्रीलाई पनि उत्तिकै महइभ्वसाथ राखिएका छन् । यी सामग्रीले गाउँको आत्मनिर्भर जीवनशैली, श्रम, उत्पादन र संस्कृतिलाई प्रत्यक्ष देखाउँछन् । ‘यदि हामीले नेताका कागजातमात्र जोगायौं भने इतिहास अधुरो हुन्छ । किसान, मजदुर, गृहिणी, व्यापारी सबैको जीवन इतिहासको हिस्सा हो,’ मनोजनारायण भन्छन् ।
तस्बिर, जसले समय रोकिदिएका छन्
संग्रहालयको अर्को विशेषता हो– पुराना तस्बिर संग्रह । ती तस्बिर हेर्दा धनकुटाको पुरानो बजार, विद्यालय, सरकारी कार्यालय, धार्मिकस्थल, सांस्कृतिक कार्यक्रम र समाजको जीवनशैली प्रस्ट देख्न सकिन्छ । कुनै तस्बिरमा अहिले अस्तित्वमै नरहेका भवन छन् । कुनै तस्बिरमा अहिले वृद्ध भइसकेका मानिस युवावस्थामा छन् । कतिपय तस्बिरका पात्र आज संसारमा छैनन् । तिनको अनुहार इतिहासका पानामा अझै मुस्कुराइरहेको छ । ‘तस्बिर समयलाई रोक्ने माध्यम हो । मानिस बित्छ, तर तस्बिरले उसको समय बचाइराख्छ,’ मनोजनारायण सुनाउ“छन् ।
दुई सयभन्दा बढी सामग्री, उद्देश्य एउटै
वर्षौंको निरन्तर यात्रापछि संग्रहालयमा अहिले दुई सयभन्दा बढी ऐतिहासिक सामग्री सुरक्षित छन् । कुनै सामग्री आर्थिक हिसाबले मूल्यवान छैन । कतिपयको बजार मूल्य शून्यबराबर होला । इतिहासको दृष्टिले ती अमूल्य छन् । ती वस्तु मिलेर धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विकासको जीवित अभिलेख निर्माण गर्छन् । मनोजनारायणका लागि संग्रहालयको सबैभन्दा ठूलो उपलब्धि वस्तुको संख्या होइन, ती वस्तुले जोगाइरहेको स्मृति हो । ‘मैले वस्तु संकलन गरेको होइन, समय संकलन गरेको हुँ,’ उनी भन्छन्, ‘मैले पुराना सामान बचाएको होइन, भविष्यका लागि हाम्रो पहिचान बचाएको हुँ ।’

इतिहास जोगाउने एक व्यक्तिको मौन संघर्ष
इतिहास संरक्षणको कुरा गर्दा धेरैका मनमा भव्य संग्रहालय, आधुनिक भवन, सरकारी अभिलेखालय वा पुराताइिभ्वक विभागको चित्र आउँछन् । धनकुटा सिरान बजारमा रहेको मनोजनारायण श्रेष्ठको संग्रहालयले ‘इतिहास जोगाउन सबैभन्दा ठूलो कुरा भवन होइन, जिम्मेवारीबोध हो’ भन्ने फरक सत्य देखाउँछ ।
तीन दशकभन्दा लामो समयदेखि उनले आफ्नै घरलाई संग्रहालय बनाएका छन् । न कुनै सरकारी कर्मचारी, न स्थायी आर्थिक स्रोत, न त संरक्षणका आधुनिक उपकरण नै । तैपनि उनी दिनहुँ संग्रहालयका सामग्री सफा गर्छन्, अभिलेख मिलाउँछन्, नयाँ सामग्री खोजीमा निस्कन्छन् र आगन्तुकलाई प्रत्येक वस्तुको कथा सुनाउँछन् । संग्रहालय सञ्चालन गर्नु उनका लागि पेशा होइन, यो एउटा जीवनशैली बनिसकेको छ ।
दैनिक जीवनको एउटा अभिन्न हिस्सा
बिहानको काम सकेपछि उनको समय प्रायः संग्रहालयमै बित्छ । कहिले कुनै पुरानो कागजातलाई प्लास्टिकको सुरक्षात्मक आवरणमा राख्ने, कहिले तस्बिरको विवरण लेख्ने, कहिले सामग्रीको सूची अद्यावधिक गर्ने त कहिले आगन्तुकसँग घण्टौंसम्म इतिहासका प्रसंगमा संवाद गर्ने ।
‘इतिहास थन्क्याएर राख्नु संरक्षण होइन, त्यसको पहिचान खुलाउनु, अभिलेख तयार गर्नु र भावी पुस्ताले बुझ्नेगरी व्यवस्थित गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ,’ उनी भन्छन् । अहिलेसम्म अधिकांश काम उनले आफैं गरेका छन् । सामग्री वर्गीकरणदेखि विवरण लेख्ने, संरक्षण गर्ने र आगन्तुकलाई जानकारी दिने कामसम्म उनी एक्लैले सम्हाल्दै आएका छन् ।
स्रोत अभाव, उत्साहको होइन
इतिहास संरक्षणमा सबैभन्दा ठूलो चुनौती आर्थिक पक्ष हो । पुराना कागजात जोगाउन विशेष प्रकारका फोल्डर र अम्लरहित कागज आवश्यक पर्छ । तस्बिर संरक्षणका लागि उचित तापक्रम र आद्र्रता आवश्यक हुन्छ । धातुका सामग्रीलाई खिया लाग्नबाट बचाउन विशेष विधि अपनाउनुपर्छ । काठका वस्तुलाई कीराबाट जोगाउन नियमित हेरचाह गर्नुपर्छ । यी सबैका लागि आर्थिक स्रोत आवश्यक पर्छ । मनोजनारायणसँग त्यस्तो स्थायी स्रोत छैनन् ।
संग्रहालय सञ्चालनका अधिकांश खर्च उनले आफ्नै व्यक्तिगत आयबाट व्यवस्थापन गर्दै आएका छन् । कतिपय अवस्थामा नयाँ सामग्री ल्याउन आफ्नै खर्चमा गाउँगाउँ पुगेका छन् । कहिलेकाहीँ एउटा सामग्रीका लागि दिनभर यात्रा गरेका छन् । कहिले यातायात खर्च, कहिले संरक्षण सामग्री, कहिले आलमारी बनाउने खर्च यी सबै उनले आफैंले व्यहोरेका छन् । यद्यपि, उनी यसलाई बोझ मान्दैनन् । ‘खर्च त हुन्छ,’ उनी मुस्कुराउँदै भन्छन्, ‘तर, इतिहास हराउनुको मूल्य त्योभन्दा धेरै ठूलो हुन्छ ।’
हराउँदै गएका स्मृति
मनोजनारायणका अनुसार अहिले सबैभन्दा ठूलो समस्या सामग्री अभाव होइन, चेतनाको अभाव हो । धेरै पुराना घर भत्किँदै छन् । परिवारका ज्येष्ठ पुस्ता बिस्तारै संसार छाड्दै छन् । उनीहरूसँगै पुराना कथा, तस्बिर, चिट्ठी र सम्झना पनि हराइरहेका छन् । ‘धेरैपटक घर भत्काइसकेपछि मात्र खबर आउँछ,’ उनी भन्छन्, ‘त्यतिबेलासम्म धेरै सामग्री नष्ट भइसकेका हुन्छन् ।’ कतिपयले पुराना तस्बिरलाई ‘काम नलाग्ने’ भनेर जलाइदिन्छन् । पुराना चिट्ठीपत्र फालिदिन्छन् । पुराना औजार कबाडीलाई बेचिदिन्छन् । यस्ता घटनाले उनलाई दुःखी बनाउँछन् । उनका अनुसार एउटा परिवारको पुरानो बाकसमा थन्किएको सामग्री त्यो परिवारको सम्पत्तिमात्र हुँदैन, त्यो समुदायको इतिहास पनि हुन सक्छ ।
इतिहास राज्यको जिम्मेवारी होइन
नेपालमा ऐतिहासिक सम्पदा संरक्षण’bout चर्चा भइरहन्छन् । पुराताइिभ्वकस्थल, दरबार, मन्दिर र स्मारक जोगाउने प्रयास पनि भएका छन् । गाउँबस्तीमा रहेका निजी अभिलेख, पारिवारिक दस्तावेज, पुराना तस्बिर, स्थानीय उपकरण र समुदायसँग जोडिएका सामग्री भने अझै पर्याप्तरूपमा संरक्षण हुन सकेका छैनन् । यही ठाउँमा मनोजनारायणको अभियानको महइभ्व झन् बढेर आउँछ । उनले कसैको निर्देशन पर्खिएनन् । कुनै परियोजना आउला भनेर बसेनन् । सरकारी बजेट प्रतीक्षा पनि गरेनन् । उनले आफ्नो जिम्मेवारी आफैं लिए । ‘इतिहास जोगाउने काम सरकारको मात्र होइन, नागरिकको पनि साझा दायित्व हो’ भन्ने उनको कामबाट प्रस्ट हुन्छ ।
यदि हरेक समुदायले आफ्नै इतिहासका सा–साना प्रमाण सुरक्षित राख्न थाल्यो भने राष्ट्रिय इतिहास अझ समृद्ध हुनेछ । इतिहास राजाहरूकै मात्र कथा होइन, इतिहास किसान, शिक्षक, व्यापारी, गृहिणी, विद्यार्थीको सबैको हो । साधारण नागरिकको दैनिक जीवन पनि भविष्यका लागि इतिहास बन्ने आधार हो ।
डिजिटल युगको नयाँ आवश्यकता
मनोजनारायणको अर्को सपना संग्रहालयलाई डिजिटलरूपमा पनि सुरक्षित बनाउने हो । उनका अनुसार प्राकृतिक विपद्, आगलागी वा अन्य दुर्घटना भएमा अमूल्य सामग्री क्षणभरमै नष्ट हुन सक्छन् । त्यसैले प्रत्येक कागजात, तस्बिर र वस्तुको डिजिटल अभिलेख तयार गर्नु समयको आवश्यकता हो । यसले अनुसन्धानकर्तालाई पनि सहज बनाउनेछ ।
देश–विदेशका विद्यार्थी, इतिहासकार र अनुसन्धानकर्ताले धनकुटाको इतिहास’bout अध्ययन गर्न सहज पहुँच पाउने छन् । यस्तो कामका लागि प्राविधिक सहयोग, उपकरण र आर्थिक स्रोत आवश्यक पर्छ । उनी आशावादी छन् कि स्थानीय तह, प्रदेश सरकार, विश्वविद्यालय, पुरातइभ्वविद् र सरोकारवाला संस्थाले भविष्यमा यसतर्फ ध्यान दिनेछन् ।
‘यो संग्रहालय मेरो होइन’
कुरा गर्दै जाँदा मनोजनारायण बारम्बार एउटा वाक्य दोहो¥याउँछन्, ‘यो संग्रहालय मेरो होइन, धनकुटाको हो ।’ उनका लागि संग्रहालय निजी सम्पत्ति होइन, साझा उत्तरदायित्व हो । यहाँ राखिएका सामग्री कुनै एउटा परिवारका मात्र होइनन् । यी सम्पूर्ण समाजका साझा स्मृति हुन् । यही सोचले उनलाई तीन दशकदेखि निरन्तर सक्रिय बनाएको छ । एउटा घर, जहाँ समय रोकिएको छ । सिरान बजारको त्यो घरबाहिर निस्कँदा एउटा अनुभूति लामो समयसम्म मनमा रहिरहन्छ ।

इतिहास सधैं पुस्तकका पानामै बाँचेको हुँदैन । कहिलेकाहीँ त्यो एउटा पुरानो रेडियोमा बाँचेको हुन्छ । कहिलेकाहीँ एउटा माटाको पाइपमा । कुनै पुरानो तस्बिरमा । एउटा घडीमा । एउटा जेलबाट लेखिएको चिट्ठीमा । एउटा आन्दोलनको भरपाइमा । एउटा किसानले चलाएको हलोमा । एउटा गृहिणीले दैनिक प्रयोग गरेको ढिकीमा पनि इतिहास बा“चेको हुन्छ । यी वस्तु सामान्य देखिए पनि तिनले समयको सुगन्ध बोकेका हुन्छन् ।
तिनमा मानिसका श्रम छन् । संघर्ष छ । आशा छ । असफलता छ । सफलता छ र एउटा पुस्ताले अर्को पुस्तालाई सुम्पिन चाहेको पहिचान छ । मनोजनारायण श्रेष्ठले ती वस्तुमात्र जोगाएका छैनन् । उनले समय जोगाएका छन् । स्मृति जोगाएका छन् । धनकुटाको सामूहिक पहिचान जोगाएका छन् । आज जब विकासका नाममा पुराना घर भत्किरहेका छन्, आधुनिकतासँगै पुराना वस्तु हराइरहेका छन् र स्मृति बिस्तारै विस्मृतिमा बदलिँदै गएका छन् । त्यहीबेला धनकुटा सिरान बजारको एउटा साधारण घरले हामी सबैलाई एउटा गहिरो प्रश्न सोधिरहेको छ, ‘यदि हामीले आज आफ्नो इतिहास जोगाएनौं भने भोलि हाम्रो कथा कसले सुनाउने ?’
सायद यही प्रश्नको उत्तर खोज्दै मनोजनारायण श्रेष्ठ अझै पनि कुनै पुराना तस्बिर, कुनै बिर्सिएका कागजात, कुनै जीर्ण औजार वा कुनै मौन स्मृतिको खोजीमा हिँडिरहेका छन् । त्यसैले सिरान बजारको त्यो घर निजी संग्रहालयमात्रै होइन, धनकुटाकै जीवित स्मृति हो । त्यो समयसँगको संवाद हो । त्यो विगत र भविष्यबीचको पुल हो । सबैभन्दा ठूलो त्यो एउटा व्यक्तिले आफ्नो समाजप्रति निभाएको असाधारण मौन जिम्मेवारीको अमिट उदाहरण हो ।
सम्बन्धित समाचार
सुनसरीको कप्तानगञ्जमा सुरक्षा निगरानी गर्न काठमाडौंबाट पठाइयो ड्रोन
२५ दिन यता मेची राजमार्ग अवरुद्ध
२६ दिनदेखि एम्बुलेन्स रोकिए, बिरामी सुरक्षाकर्मीको काँधमा
३० करोडभन्दा बढीको सामान बरामद
सुनसरीमा ९ हजारभन्दा बढी मुद्दा दर्ता, सम्बन्ध विच्छेद अग्रस्थानमा
दूरसञ्चार कानुन र मन्त्रिपरिषद्का निर्णय अदालतको आदेशलाई एनसेलको चुनौती
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
टहरादेखि आधुनिक प्रशासनसम्म: बझाङका स्थानीय सरकारको बदलिँदो अनुहार






