इलाम । इलाम सदरमुकाममा कोठा भाडामा बसेर पढ्दै गरेका विद्यार्थी सुमन तामाङले खाली सिलिन्डर बुझाएको १५ दिन भयो । ग्यास आउँछ कि भन्ने आसमा उनको दैनिकी ग्यास पसल धाउने गर्छन् । खाली सिलिन्डर पसलमा बुझाएको १५ दिन बितिसक्दा भरिएको सिलिन्डर पाउने पत्तो छैन ।
“हामी विद्यार्थी हौँ, दिनदिनै होटेलमा खाना खाएर सम्भव छैन,’’ तामाङ भन्छन्, ग्यास नपाएपछि अब पढाइ छाडेर घर फर्कनुबाहेक अर्को विकल्प छैन । ’’ सदरमुकामै बसेर पढ्ने विद्यार्थी निसान मगरले खाली सिलिन्डर लिएर इलाम बजारका ग्यास डिलर धाएको एक हप्ता भइसक्यो ।
एक हप्तामा न ग्यास पाए न यो दिन आउँछ भन्ने जवाफ नै । उनी भन्छन्, ग्यास नपाएर सारै समस्या भयो, कतै छैन मात्रै भन्छन् अब के गर्ने घर जानु पर्ला ।’’ सुमन र निसान त प्रतिनिधिमूलक मात्रै हुन । उनीहरू जस्ता सयौँ विद्यार्थीको समस्या एउटै छ ।
इलाम सदरमुकाम बसेर क्याम्पस पढ्ने देखि विद्यालय पढ्ने विद्यार्थी र नानी पढाउन कोठा बसेका परिवार एक महिना देखि पिरमा छन् । ग्यास त पाइएन पाइएन इन्डक्सनमा खाना पकाउन पनि पाइँदैन । विद्युत् झ्याप झ्याप गइरहने हुँदा खाना पकाउनसमेत समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
इलाम नगरपालिका ७ की तारा मिश्र भन्छिन् इन्डक्सनमा खाना बसायो बत्ती जान्छ ग्यास पसलमा गयो सिलिन्डर लिनै मान्दैनन् बिजोक हुने भयो’ । “बिजुली गएपछि इन्डक्सन चल्दैन, ग्यास किन्न खोज्दा पसलमा सिलिन्डर पाइँदैन चामलै खान मिलेन ।’’
इलामका सयौँ विद्यार्थी र सर्वसाधारण खाना पकाउने ग्यासको अभाव झेलिरहेका छन् । सदरमुकाममा कोठा भाडामा बस्ने विद्यार्थी खाना पकाउने ग्यासको अभावले कोठा छाडेर घर फर्किन बाध्य छन् । इन्डक्सन चुलो प्रयोग गर्नेहरूका लागि पनि खाना बनाउने समयमा विद्युत् जाँदै आउँदै गर्ने गरेको कारण त्यसको पनि समस्या भोगिरहेका छन् ।
इलामका ग्यास व्यवसायी खम्बासिंह पौडेल यसअघि ग्यास कम्पनीले प्रतिमहिना करिब चार सय सिलिन्डर पठाउने गरेकोमा अहिले एक सय ३० सिलिन्डर मात्र पठाउने गराउने गरेको बताउँछन् । कम सङ्ख्यामा सिलिन्डर आउने गरेका कारण माग अनुसार उपभोक्तालाई वितरण गर्न समस्या हुने गरेको उनको भनाई छ । “अहिले हाम्रो गोदाममै पाँच सय खाली सिलिन्डर थन्किएका छन् । पर्याप्त ग्यास नआएकाले उपभोक्तालाई वितरण गर्न नसकेका उनको भनाई छ ।”
ग्याँसदेखि खाद्यान्नसम्म सङ्कट
मेची राजमार्गको माइखोला स्थित राज दुवाली सडक खण्ड अवरुद्ध भएपछि इलाममा ग्यासको अभाव हुन थालेको हो । वैकल्पिक सडकमार्फत पिक पले एक पटकमा ६५ वटा मात्रै ग्यास सिलिन्डर ल्याउने ल्याउने गरे पनि पछिल्लो एक सातादेखि भने ग्यास सिलिन्डर नै कम आउने गरेको व्यवसायीको भनाई छ । राजमार्ग बन्द भएको कारण ग्यास अभाव मात्रै होइन निर्माणका सामान र खाद्य ढुवानीमा समेत समस्या भइरहेको छ । जसले दैनिक उपभोग्य वस्तुको पर्याप्त नहुँदा इलाममा खाद्यवस्तुको मूल्यसमेत बढेको छ ।
यति बेला आलु र गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, प्याज ९०, बिन्डी एक सय ६० र करेला ८० रुपैयाँमा बिक्री भइरहेको छ भने आँप प्रतिकिलो दुई सय ५०, स्याउ तीन सय २० तथा केरा प्रतिदर्जन एक सय २० देखि एक सय ५० रुपैयाँसम्म पुगेको छ । त्यस्तै सदरमुकाम सहित आस पासका बजारमा पनि चामल, खाने तेल तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेका स्थानीय व्यवसायीहरू बताउँछन् ।
उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले ग्यास अभाव समाधानका लागि ग्यास डिलर तथा सम्बन्धित पक्षसँग निरन्तर समन्वय भइरहेको बताए । सडक अवरोधका कारण समस्या आएको र सडक सञ्चालनमा आएपछि सहज हुने अपेक्षा गरिएको उनको भनाई छ ।
तस्विरः सडक बन्द भएको कारण थन्किएका ढुवानीका सवारी साधन । भगीरथ भण्डारी/राजधानी
सम्बन्धित समाचार
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
आयोजनाद्वारा जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण






