बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्वय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् । शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुरु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दै छ ।
प्रशिक्षण दौरान मसल्समा समस्या देखिएपछि मेस्सी केही समय मैदानबाहिर रहेका थिए । तर, गत सोमबारदेखि नै मेस्सी टिमसँगको पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । सुआरेज घुँडाको शल्यक्रियापछि गत जनवरीदेखि नै मैदानबाहिर रहेका थिए ।
‘हामीलाई कुनै शंका छैन । मलोर्काविरुद्धको खेलका लागि मेस्सी पूर्ण रूपमा तयार छन् । प्रशिक्षण दौरान सामान्य समस्या देखिएपछि केही समय मैदानबाहिर रहे पनि उनी टिमसँगको प्रशिक्षणमा जोडिइसकेका छन् ।’ प्रशिक्षक सेटिनले भने, ‘अर्का खेलाडी लुइस सुआरेज पनि मलोर्काविरुद्धको खेलका लागि तयार छन् । तर, उनले पुरै समय खेल्न सक्ने नसक्ने भन्न सकिने अवस्था छैन ।’ सेटिनको प्रशिक्षणमा सुआरेजले पहिलोपटक खेल्नेछ । ‘उनी फरक क्षमताका खेलाडी हुन् । उनी निकै चतुर र क्रियाशील छन् । टिमलाई उनको आवश्यकता छ ।
उनको आगमनले टोलीमा सकरात्मक प्रभाव पार्नेछ,’ सेटिनले भने । ३५ दिनमा ला लिगाको ११ चरणको खेल खेल्ने तालिका हँुदा सेटिनले खेलाडीको फिटनेसले नै उपाधिमा महŒवपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । ‘यी खेलाडीले सातामा दुईपटक खेल्ने बानी छ । अब सातामा तीनपटक खेल्न बानी पार्नुपर्दछ । उनीहरूको फिटनेस कस्तो हुन्छ भनेर हामीले नियाल्नुपर्दछ,’ प्रशिक्षक सेटिनले भने । बार्सिलोना ५८ अंक जोडेर ला लिगाको शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगामा ११ चरणको खेल खेल्न बाँकी छ ।






