काठमाडौं । प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकमा रास्वपाका सांसद रमेश प्रसाईंको एउटा स्वीकारोक्ति छ– विगतमा आफैँले गरेको भाषण सम्झँदा मलाई लाज लागेको छ, ग्यासको लाइन देख्दा मलाई लाज लागेको छ ।
सरकारमा आउनुअघि आफूले ‘नो लाइन, वन्ली अनलाइन’ भनेर गरेको भाषण सम्झेर उनी लजाइरहँदा विपक्षी सांसदहरू बजारमा खाना पकाउने एलपी ग्यास सहज नभएकोमा आक्रोशित छन् ।
सत्ताधारी दलका सांसद लजाइसके, उपभोक्ता आक्रोशित छन्, निगम ग्यास छ भन्छ, तर बजारमा भने चरम अभाव
उपभोक्ताले ग्यास नपाएर सरकारसँग आक्रोसित हुनुपर्ने अवस्था सम्म आइपुग्दा समस्याको समाधानको सट्टा सत्ताधारी सांसद लजाउनुबाहेक समाधान निस्केको छैन ।
किन भयो त ग्यास अभाव ? यो प्रश्नको जवाफमा सरकारी अधिकारी उपभोक्ताको मानसिकतालाई दोष दिएर उम्किइरहेका छन् भने व्यवसायी र उद्योगी सरकारले ग्यास भण्डारण संयन्त्र नबनाउँदा समस्या आएको बताइरहेका छन् ।
सांसद प्रसाईले ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ?, ग्यास ह्वारह्वारती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ? भनेर प्रश्न त गरे तर सरकार यसको उत्तर दिन सक्ने अवस्थामा देखिएको छैन ।
डिपो छलेर आफैँ बेच्दै छ निगम
नेपाल आयल निगमले लगातार एलपी ग्यासको आपूर्ति सहज रहेको दाबी गरिरहेको छ । तर काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा उपभोक्ताले १५ दिनभन्दा बढी समयदेखि खाली सिलिन्डर बोकेर पालो कुर्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन् ।
ग्यासको अभाव नभएको दाबी गरिरहेको निगमले पछिल्लो १८ दिनमै ३१ हजार ८ सय १६ मेट्रिक टन ग्यास आयात भएको तथ्यांक सार्वजनिक गरेको छ । तर बजारमा भने ग्यास खोज्दै डिपो चहार्ने र घण्टौँ लाइन बस्ने उपभोक्ताको संख्या घटेको छैन ।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले उत्पादन गरेको एसटिसी ग्यास लिन बिहीबार बिहान ८ बजेदेखि ग्यास लिन लाइन लागेका मैतीदेवीका विपिन गौतमलै दिउँसो साढे २ मा २ हजार ६० रुपैयाँ तिरेपछि बल्ल ग्यास पाएको गुनासो गरे । बिहीबार आफूजस्ता २ सय जनाले पाँच घन्टा लामो लाइन बसेपछि बजार मूल्यमा ग्यास पाएको बताए ।

डिलरमार्फत ग्यास सहज नभएपछि नेपाल आयल निगमले १६ साउनदेखि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष ग्यास बिक्री गरिरहेको छ । तर उसले उपभोक्तासँग खुद्रा मूल्य नै असुल गरिरहेको छ । निगमको कार्यालयबाट प्रत्यक्ष बिक्री सुरु गरिए पनि उपभोक्ताको सास्ती भने हटेको छैन ।
उपभोक्ताको लाइन नजिकबाट हेरिरहेको नेपाल आयल निगम भने ग्यास अभाव छ भन्न अझै तयार छैन । निगमका अनुसार नेपालमा मासिक औसत करिब ४७ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ । १ साउनदेखि १८ साउनसम्ममा ३१ हजार ८ सय १६ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ । निगमका अनुसार दैनिक औसतमा १ हजार ७ सय ६७ मेट्रिक टन आयत छ ।
सिलिन्डर हाफ, सरकार बेखबर
मध्यपूर्वमा बढेको तनावका कारण भारतबाट एलपी ग्यासको आपूर्तिमा जोखिम देखिएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमदेखि १४.२ किलोको पूर्ण सिलिन्डरको सट्टा ७.१ किलोको आधा सिलिन्डर बिक्री गर्न थालेको थियो ।
आधा सिलिन्डरको व्यवस्थाले तत्कालीन आपूर्ति संकट व्यवस्थापन भए पनि वितरण प्रणालीमा समस्या देखिएको व्यवसायीहरु बताउँछन् । एउटै परिमाणको ग्यास उपभोक्तासम्म पु¥याउन पूर्ण सिलिन्डरको तुलनामा दोब्बर सिलिन्डर ओसारपसार गर्नुपर्दा ढुवानी, भण्डारण र वितरणमा थप दबाब परेको उद्योगी तथा बिक्रेताहरू बताउँछन् ।
संकटको जडः चार महिनापछिको ‘फुल सिलिन्डर’
उद्योगी व्यवसायीले चार महिनासम्म आधा सिलिन्डर ग्यास बेचेपछि नेपाल आयल निगमले ३१ असारदेखि पुनः १४.२ किलोको भरी सिलिन्डर बिक्री गर्ने निर्णय ग¥यो । निगमले भरी सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोक्यो ।
७.१ किलोको आधा सिलिन्डरबाट १४.२ किलोको सिलिन्डरमा फर्किएपछि बजारमा एकै पटक माग बढ्दा आपूर्ति असहज बनेको निगमको दाबी छ । चार महिनासम्म आधा सिलिन्डर प्रयोग गरेका उपभोक्ताका खाली सिलिन्डर एकै पटक भर्नुपर्ने अवस्था आएपछि वितरण प्रणालीमा समस्या आएको निगमका अधिकारीहरू बताउँछन् ।
आयात र वितरणबीच गहिरो असन्तुलन
निगमका अनुसार फागुनमा करिब ५१ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । चैतमा करिब ३८ हजार, वैशाखमा करिब ३२ हजार र जेठमा करिब ३३ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्यांक छ ।
असारमा आयात बढेर करिब ४४ हजार मेट्रिक टन पुगेको थियो भने मध्य साउनको २० दिन अवधिमा ३१ हजार ८ सय १६ मेट्रिक टन ग्यास भित्रिएको निगमले जनाएको छ ।
साउनको पहिलो सातादेखि डिपो र उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहेका छन् । तर निगमले भने अभाव नरहेको दाबी गरिरह्यो । ११ साउनमा उद्योग मन्त्री गौरीकुमारी यादवले समेत ग्यास अभाव नरहेको बताउँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरिन् । तर शुक्रवारसम्म उपभोक्ताले डिपोबाट ग्यास पाएका छैनन् ।
निगमको दाबीः ग्यास पर्याप्त छ
गत १९ साउनमा प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आयातमा समस्या नरहेको दाबी गरे । उनले ७.१ किलोबाट १४.२ किलोमा फर्किएपछि माग एकै पटक बढेको र त्यसको असर वितरण प्रणालीमा परेको दाबी गरे ।

निगमले उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय गर्दा पनि बजारमा चाप बढेको दाबी गरेको छ । उनले १ साउनदेखि १८ गतेसम्म ३१ हजार ८ सय १६ मेट्रिक टन ग्यास आयात भएको तथ्यांक प्रस्तुत गर्दै निगमले मासिक औसत खपतभन्दा बढी आयात गरिरहेको दाबी पनि गरे । तर सांसदहरूको आयात पर्याप्त भए उपभोक्ताले किन ग्यास पाएनन् भन्ने प्रश्नको उत्तर भने निगमका अधिकारीसँगै छैन ।
भण्डारण क्षमतामा प्रश्न
आयल निगमको भण्डारण क्षमताका कारण ग्यास संकट बढ्ने गरेको उद्योगी व्यवसायीहरूको दाबी छ । नेपालमा ५८ वटा एलपी ग्यास उद्योग छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको सरकारी तथ्यांक छ । तर निगमसँग भने एलपी ग्यास भण्डारण क्षमता छैन ।
उद्योगहरूले आफूहरूसँग सामान्य मासिक खपतको करिब पाँच भागको एक भाग भण्डारण क्षमता भएको बताएका छन् ।
ग्यास नपाएपछि पढाइ छाड्दै विद्यार्थी
इलाम सदरमुकाममा कोठा भाडामा बसेर पढ्दै गरेका विद्यार्थी सुमन तामाङले खाली सिलिन्डर बुझाएको १५ दिन भयो । ग्यास आउँछ कि भन्ने आसमा उनको दैनिकी ग्यास पसल धाउने गर्छन् । खाली सिलिन्डर पसलमा बुझाएको १५ दिन बितिसक्दा भरिएको सिलिन्डर पाउने पत्तो छैन ।
सदरमुकामै बसेर पढ्ने विद्यार्थी निसान मगरले खाली सिलिन्डर लिएर इलाम बजारका ग्यास डिलर धाएको एक हप्ता भइसक्यो । एक हप्तामा न ग्यास पाए न यो दिन आउँछ भन्ने जवाफ नै । उनी भन्छन्, ‘ग्यास नपाएर सारै समस्या भयो, कतै छैन मात्रै भन्छन् अब के गर्ने घर जानु पर्ला ।’
सुमन र निसान त प्रतिनिधिमूलक मात्रै हुन । उनीहरू जस्ता सयौँ विद्यार्थीको समस्या एउटै छ । इलाम सदरमुकाम बसेर क्याम्पस पढ्ने देखि विद्यालय पढ्ने विद्यार्थी र नानी पढाउन कोठा बसेका परिवार एक महिनादेखि पिरमा छन् । ग्यास त पाइएन पाइएन इन्डक्सनमा खाना पकाउन पनि पाइँदैन । विद्युत् विद्युत् भ्याप भ्याप गइरहने हुँदा खाना पकाउनसमेत समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
इलाम नगरपालिका ७ की तारा मिश्र भन्छिन्, ‘इन्डक्सनमा खाना बसायो बत्ती जान्छ ग्यास पसलमा गयो सिलिन्डर लिनै मान्दैनन् बिजोक हुने भयो ।’
इलामका सयौँ विद्यार्थी र सर्वसाधारण खाना पकाउने ग्यासको अभाव झेलिरहेका छन् । सदरमुकाममा कोठा भाडामा बस्ने विद्यार्थी खाना पकाउने ग्यासको अभावले कोठा छाडेर घर फर्किन बाध्य छन् । इलामका ग्यास व्यवसायी खम्बासिंह पौडेल यसअघि ग्यास कम्पनीले प्रतिमहिना करिब चार सय सिलिन्डर पठाउने गरेकोमा अहिले एक सय ३० सिलिन्डर मात्र पठाउने गराउने गरेको बताउँछन् ।
मेची राजमार्गको माइखोला स्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि इलाममा ग्यासको अभाव हुन थालेको हो । वैकल्पिक सडकमार्फत पिकअपले एक पटकमा ६५ वटा मात्रै ग्यास सिलिन्डर ल्याउने ल्याउने गरे पनि पछिल्लो एक सातादेखि भने ग्यास सिलिन्डर नै कम आउने गरेको व्यवसायीको भनाइ छ ।
सम्बन्धित समाचार
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको भने यथावत
२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
आज सुनको भाउ घट्दा चाँदीको भने वृद्धि
‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने






