काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले अघि बढाइरहेको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण जहाजमा टर्बुलेन्स (हलचल) आउन सक्ने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताए ।
सरकारको कामकारबाहीप्रति चिन्ता नगर्न आग्रह गर्दै उनले कठिन परिस्थितिलाई सामना गर्ने क्षमता आफूहरूको पार्टीसँग रहेको दाबी गरे । ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौं । हामी छौं,’ लामिछानेले भने ।
अप्ठ्यारो परिस्थितिमा पनि त्यसलाई सम्हालेर अघि बढ्ने क्षमता रास्वपासँग रहेको उनको भनाइ थियो। पार्टीमा परिवर्तनका लागि केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरू रहेको उल्लेख गर्दै उनले उनीहरूको सक्रियताले यात्रालाई सफल बनाउने दाबी गरे ।
‘अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरूजस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ,’ उनले भने ।
लामिछानेले रास्वपा नेतृत्वको सरकारले आफूहरूले गरेको वाचाअनुसार काम गरिरहेको दाबीसमेत गरे । यात्राका क्रममा देखिने सामान्य अवरोधबाट आत्तिन नहुने भन्दै उनले असल नियतका साथ सरकार अघि बढिरहेको बताए ।
‘यात्रामा हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन,’ उनले भने ।
सरकारले सही ढंगले र असल नियतका साथ काम गरिरहेको दाबी गर्दै लामिछानेले आफूहरूले सुरु गरेको यात्रालाई निर्धारित गन्तव्यसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याए ।
सम्बन्धित समाचार
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?






