सीमा क्षेत्रमा निगरानी र कडाइसँगै एकपछि अर्को सफलता

राजविराज । प्रहरीले भारतीय सीमासँग जोडिएको पालिका क्षेत्रमा निगरानी र रात्री गस्ति तीब्र बनाएपछि ठुलो परिमाणमा एकपछि अर्को लागुऔषध गाँजा र चोरी पैठारीका सरसमान बरामद हुन थालेको छ ।

पछिल्लो पटक शुक्रवार मध्यराती सप्तरीको राजगढ गाउँपालिका १ स्थित नहर छेऊबाट प्रहरीले १ सय ९० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । रात्री गस्तीमा रहेका बोर्डर आउट पोष्ट (बीओपी) बनैनिया र नेपाल प्रहरीको संयुक्त टोलीले नहर किनारको झारपातमा पाँच वटा बोरामा लुकाइ राखिएको १ सय ९० किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरीलाई छलेर भारततर्फ तस्करी गर्ने उद्देश्यले तस्करद्वारा लुकाई राखिएको सो गाँजा बरामद पश्चात आवश्यक कानूनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि साउन ६ गते भारतीय सीमासँगै जोडिएको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरा मल्हनिया सडक खण्डमा रात्री गस्तीकै क्रममा प्रहरीले तीन वटा गाडीमा भारततर्फ गइरहेको ३३ क्विन्टन गाँजा बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हेमराज घिमिरेले नाका क्षेत्रमा निगरानी र रात्री गस्ती बढाएसँगै अवैध मालसमान बरामदगीमा एकपछि अर्को सफलता मिल्दै गएको बताए । विशेष गरी भारततर्फलैजाने गाँजासँगै भारतबाट चोरी पैठारी गरी ल्याउने किराना, पान मसाला, इलेक्ट्रोनिक, मोटरसाईकल र मोवाइलका पार्ट पुर्जा लगायतका सरसमान बरामद हुन थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै