इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप र प्रहरीको गोलीबाट एक युवकको मृत्यु भएपछि त्यसको प्रभाव मंगलबार पनि सुनसरी र मोरङका विभिन्न क्षेत्रमा फैलिएको छ ।
विरोध प्रदर्शन, चक्का जाम, आगजनी, तोडफोड, बजार बन्द, कफ्र्यु र सुरक्षा सतर्कताका कारण पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझसम्म पनि देवानगञ्ज क्षेत्र तनावग्रस्त छ । कोशी गाउँपालिकास्थित लौकही क्षेत्रमा समेत ठूलो संख्यामा मानिसहरू भेला भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको उनले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार डीएसपीकै नेतृत्वमा करिब दुई सयभन्दा बढी जनपथ प्रहरी, ठूलो संख्यामा सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ भने आवश्यक परे थप सुरक्षाकर्मी पठाउने तयारी गरिएको छ । ‘कोशी गाउँपालिकाका विभिन्न स्थान, सुनसरी सदरमुकाम इनरुवा, इटहरीको पकली, देवानगञ्ज लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन हुँदा पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध छ,’ डीएसपी खड्काले राजधानीसँग भने ।
मंगलबार कोशी गाउँपालिका, देवानगञ्ज, इनरुवा, इटहरीको पकली तथा अन्य स्थानमा प्रदर्शनकारीहरूले टायर बाल्दै चक्का जाम गरेकाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको उनको भनाइ छ । थप हिंसात्मक घटना हुन नदिन र सद्भाव कायम राख्न प्रहरीले सबैसमक्ष अपिलसमेत गरेको छ ।
बिग्रँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजसम्म तथा राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ। इनरुवा बजार क्षेत्रमा पनि कफ्र्यु लागू गरिएको प्रशासनले जनाएको छ ।
यसैबीच, देवानगञ्ज घटनाको विरोधमा सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीहरूले स्थानीय व्यवसायी सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका पसलमा आगजनी तथा तोडफोड गरेका छन् ।
घटनाबाट पसलभित्र रहेका सामग्री जलेर ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सुरक्षा निकायले उक्त क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
देवानगञ्ज घटनाको प्रभाव छिमेकी मोरङमा पनि देखिएको छ । हिन्दु सम्राट सेनाको आह्वानमा मंगलबार विराटनगर बन्द गराइएको थियो । प्रदर्शनकारीहरूले मोटरसाइकल ¥याली निकाल्दै बजार बन्द गराएका थिए भने अधिकांश व्यापारिक प्रतिष्ठान, बजार र सार्वजनिक यातायात प्रभावित बने । सुरक्षा संवेदनशीलताका कारण विराटनगर महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरू पनि सञ्चालन हुन सकेनन् ।
बढ्दो धार्मिक तथा सामाजिक संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने धार्मिक, सामाजिक तथा सार्वजनिक कार्यक्रममा डिजे बाजा बजाउन प्रशासनको पूर्वस्वीकृति अनिवार्य गरेको छ । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयबाट सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा नौ जना सर्वसाधारण गोली लागेर घाइते भएका छन् भने १३ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
घटनापछि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ भने सुनसरी, मोरङ र आसपासका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले सामाजिक सद्भाव कायम राख्न अफवाहमा विश्वास नगर्न, कफ्र्यु आदेशको पालना गर्न तथा कानुन हातमा नलिन सबै पक्षसँग आग्रहसमेत गरेको छ ।
खासगरी देवानगञ्जको हिंसात्मक घटनापछि सुनसरीमा सुरक्षा नेतृत्व फेरबदल जारी रहँदा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख इन्स्पेक्टर राकेश राईलाई पनि जिम्मेवारीबाट हटाइएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर प्रकाश पराजुलीलाई पठाइएको छ भने घटनापछि हालसम्म प्रमुख जिल्ला अधिकारी, डीआईजी, एसपीसहित प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन भइसकेको छ ।
घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सुनसरीकै दुहवीमा मंगलबार शान्ति तथा सद्भाव ¥याली निकालिएको छ । सहभागीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र अफवाहमा नलागी सामाजिक एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।
सम्बन्धित समाचार
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीमा हटाइयो कर्फ्यू






