नारायणीको तोडफोड प्रकरण महानगरका वडातर्फ सर्दै

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा साउन ९ गते तोडफोड र त्यहाँका डाक्टर तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको प्रकरण अब वडातर्फ सर्न थालेको छ । सो घटनामा सम्लग्न भएको अभियोगमा पक्राउ परेका वीरगन्ज २५ का वडाध्यक्ष ४५ वर्षीय आशुतोष चतुर्वेदीलाई विना सर्त रिहाइको माग गर्दै वीरगन्ज महानगरका ३२ वटै वडाको काम बुधबार प्रभावित भएको हो ।

वीरगन्ज २५ का ४५ वर्षीय राजकुमार पटलेको निधनपछि नारायणी अस्पतालमा पुगेका वडाध्यक्ष चतुर्वेदी कुटपिट र तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको छ । वडावासीको समस्यामा सरिक हुन जाँदा वडाध्यक्ष पक्राऊ पर्नु प्रहरीको गलत मनसाय भएको निकर्ष सहित वीरगन्ज महानगरका ३२ वटा वडाको काम प्रभावित गर्दै अरु वडाध्यक्षहरुले दवाव सृजना गरेका छन् ।

प्रहरीले ‘जिल्ला प्रशासन कार्यालयमा छलफल र संवाद गर्नुछ’ भनी वडाध्यक्ष चतुर्वेदीलाई साउन ११ गते महानगरको कार्यालयबाटै गाडीमा राखेर लगेको र अझै नछोडेपछि प्रहरी प्रशासनको नियत प्रष्ट भएकोले उनको रिहाइका लागि हामीले साउन १३ गतेबाट चरणबद्ध आन्दोलन सुरु गरेको वीरगन्ज महानगरपालिका ४ का वडाध्यक्ष जगत साह कानुले बताए । आफ्नो सहकर्मी वडाध्यक्ष चतुर्वेदीलाई नछोडे साउन १३ गतेबाट चरणबद्ध आन्दोलन गर्ने वडाध्यक्षहरुले मंगलबार नै निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न थालेको उनको भनाइ छ । वडावासीको पीडामा सरिक हुँदा सबै दोष वडाध्यक्ष माथि लगाई प्रहरीले पक्राउ गर्नु युक्तिसंगत नभएको वडाध्यक्षहरुको भनाइ छ ।

नारायणी अस्पतालका चिकित्सकको लापर्वाहीले पटेलको निधन भएको भन्दै उनका आफन्त र समर्थकहरुले साउन ९ गते शनिबार नारायणी अस्पतालको इमर्जेन्सीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड गरेका थिए । सो क्रममा डा.प्रमोद रामसहितका ४ जना स्वास्थ्यकर्मीहरु घाइते भएका छन् । २९ वर्षीय डा.रामको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चितरञ्जन साहले बताए ।

यता डा. राम तथा स्वास्थ्यकर्मीहरु माथि भएको कुटपिट र अस्पतालको तोडफोडको बिरोधमा उत्रिएको नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा.मनोज गुप्ताले बिरामीलाई निकै ढिलो गरी अस्पताल ल्याइपु¥याउँदा बचाउन नसकिएको दावी गरेका छन् । साउन १३ साँझबाट इमर्जेन्सी सेवा चाही संचालन गर्छौं होला उनले भने । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ काठमाण्डौको पहलमा प्रधानमन्त्रीको कार्यालयमा भएको वृहत छलफल पछि पर्साका एसपी सुदिपराज पाठकको पनि सरुवा हुने जनाइएको छ । एएपीको सरुवा लगायत पाँच बुँदे सहमतिले हाम्रो मागको सुनुवाई हुन थालेको महसुस गरी इमर्जेन्सी लगायतका सेवा क्रमिक रुपमा संचालन गर्ने वीरगन्जको नारायणी अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

नेपाल चिकित्सक संघ केन्द्रिय कार्य समितिले पनि इमर्जेन्सी सेवा बुधबारबाटै संचालन गर्न चिकित्सक संघ नारायणीका अध्यक्षलाई सम्बोधन गरी पत्र पठाएको पनि बुझिएको छ । यता जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार नै बसेको सर्वदलीय बैठकले पनि घटनाको सुक्ष्म अध्ययनका लागि एक उच्चस्तरीय विज्ञ रहेको समिति बनाउने र छानविन गरी दोषी जो कोहीलाई कानूनी कार्वाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । साथै चिकित्सकहरुलाई पनि सबै सेवा संचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छलफलमा बसेका सहभागीहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ