काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा आजबाट नाइमा मोबिलिटी एक्स्पो–२०२६ को सुरु भएको छ ।
५५ ब्रान्ड, ४० नयाँ मोडलसहित नाइमा एक्स्पो
३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५१ भन्दा बढी स्टल रहनेछन् । एक्स्पोमा ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी गरिएको नाइमाले जनाएको छ । स्थापित ब्रान्डसँगै पछिल्लो समय नेपाली बजारमा प्रवेश गरेका नयाँ ब्रान्डका सवारीसाधनसमेत प्रदर्शनीमा राखिनेछन् ।
एक्स्पोमा बिवाइडी, निसान, टाटा, टोयोटा, हुण्डाई, किया र महिन्द्राजस्ता स्थापित ब्रान्डका साथै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता नयाँ ब्रान्डको सहभागिता रहनेछ । पारामाउन्ट मोटर्सको स्टलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने गरेको होङ्ची गुओली ब्रान्डको गाडीसमेत मुख्य आकर्षणका रूपमा रहनेछ ।
पारामाउन्ट मोटर्सले एक्स्पोमा मात्रै ८ वटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटाले पनि दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । टोयोटाले एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
ईभीदेखि दुईपांग्रे सवारीसम्म
एक्स्पो चारपांग्रे सवारीसाधनमा मात्र सीमित हुने छैन । दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनका साथै विद्युतीय तथा हाइब्रिड प्रविधिका सवारीसाधनसमेत प्रदर्शनीमा रहनेछन् । टिभिएसलगायतका ब्रान्डले नयाँ स्कुटर तथा मोटरसाइकल प्रदर्शन गर्नेछन् ।
पछिल्लो समय नेपाली बजारमा बढ्दै गएको विद्युतीय सवारीसाधनको आकर्षणलाई समेत एक्स्पोमा विशेष प्राथमिकता दिइएको छ । यात्रुवाहक विद्युतीय सवारीसाधन, कमर्सियल भेहिकल, हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि तथा मोबिलिटीसम्बन्धी सेवा र उत्पादन प्रदर्शनीमा राखिने नाइमाले जनाएको छ ।
दर्शकको सुविधाका लागि प्रदर्शनी हलभित्र दिशानिर्देश, पर्याप्त शौचालय तथा अन्य आधारभूत सुविधा मिलाइएको छ । वर्षायाममा विद्युत् आपूर्तिमा समस्या आउन सक्ने भएकाले ठूला क्षमताका जेनेरेटरसमेत तयारी अवस्थामा राखिएको नाइमाले जनाएको छ । एक्स्पोमा सहभागी ग्राहकले विभिन्न छुट तथा अफरमा आफूलाई मनपरेका सवारीसाधन बुकिङ गर्न सक्नेछन् ।
५५ ब्रान्ड
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले गत वर्ष पहिलोपटक आयोजना गरिएको एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक थप व्यापक बनाइएको बताइन् ।
‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए । यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ । ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’
उनका अनुसार नाइमा एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नगरी अटोमोबाइलप्रेमी, व्यवसायी र उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’
गत वर्षको एक्स्पोमा एक लाखभन्दा बढी दर्शक सहभागी भएको नाइमाले जनाएको छ । यसपटक भने त्योभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको भने यथावत
२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
आज सुनको भाउ घट्दा चाँदीको भने वृद्धि
‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा
सरकार ! ग्यास खै ?
अमेरिकी डलर : न बढ्यो, न घट्यो






