बदलिँदै इलामको ग्रामीण दैनिकी

इलामे पहाडमा घाम लाग्नुअघि नै चियाबारी जागिसकेको हुन्छ । कतै किसान चियाको मुना टिपिरहेका हुन्छन्, कतै घरबाट निस्किएका मानिस बजार, विद्यालय, स्वास्थ्य संस्था वा कार्यालयतिर लागिरहेका हुन्छन् । पहाडी जीवनको आफ्नै लय भए पनि यहाँको दैनिकीलाई सहज बनाउने आधारभूत पूर्वाधार आवश्यकता भने सधैं उस्तै रहन्छ ।

सडकदेखि स्वास्थ्यसम्म करोडौंको लगानी

वर्षा सुरु भएपछि ग्रामीण सडक हिलाम्मे हुने, खोल्सामा पानी बढ्दा आवागमन अवरुद्ध हुने, खेतमा उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन समस्या हुने र बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पुग्नै कठिन हुने समस्या पहाडी बस्तीका नागरिकका लागि नौलो होइन । कतिपय बस्तीमा खानेपानीको स्रोत टाढा हुँदा परिवारका सदस्यको दैनिक समय र श्रमको ठूलो हिस्सा पानी व्यवस्थापनमै खर्च हुने गरेको छ । यही यथार्थ केन्द्रमा राखेर इलाम नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ मा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन र प्रशासनिक पूर्वाधार प्राथमिकतामा राख्दै करोडौं रुपैयाँका विकास योजना अघि बढाएको छ ।

नगरपालिकाका १२ वटै वडामा ‘गौरवका योजना’का रूपमा स्थानीय आवश्यकताअनुसार सडक, भवन, नाली, कल्भर्ट, फुटपाथलगायत पूर्वाधार निर्माण भइरहेका छन् । इलाम नगरपालिका योजना शाखाले प्रत्येक वडामा ३० लाखका दरले बजेट विनियोजन गरिएको जनाएको छ । यस हिसाबले १२ वटै वडाका लागिमात्र ३ करोड ६० लाख रुपैयाँबराबर बजेट परिचालन भएको देखिन्छ । यसबाहेक संघीय तथा प्रदेश सरकारका समपूरक र विशेष अनुदानबाट सञ्चालित ठूला आयोजनाले नगरको समग्र विकास लगानी थप विस्तार गरेको छ ।

नगरप्रमुख केदार थापाका अनुसार योजना छनोट गर्दा नागरिकको दैनिक आवश्यकता र योजनाको दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिइएको छ । ‘सडक बनेपछि आवागमनमात्र सहज हुँदैन, नागरिकलाई बजार, स्वास्थ्य, शिक्षा र अन्य सेवासँग जोड्ने बाटो पनि खुल्छ,’ थापा भन्छन्, ‘पूर्वाधार निर्माणलाई स्थानीय आर्थिक गतिविधि विस्तार र नागरिकको जीवनस्तर सुधारसँग जोडेर अघि बढाइएको छ ।’

इलामको ग्रामीण जीवनमा सडकको अर्थ अर्को ठाउँसम्म पुग्ने बाटोभन्दा धेरै ठूलो छ । किसानका लागि सडक उत्पादन बजारसम्म पु¥याउने माध्यम, विद्यार्थीका लागि विद्यालय जाने बाटो, बिरामीका लागि अस्पताल पुग्ने जीवनरेखा र व्यापारीका लागि सामान ओसार्ने आधार हो– सडक । यही कारण नगरपालिकाले सडक पूर्वाधारलाई विकासको मुख्य आधार मानेको हो ।

वडा १ स्थित साखेजुङमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ । स्थानीयस्तरमा खेलकुद, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न व्यवस्थित संरचना अभाव रहेकाले कभर्डहल निर्माण गरिएको वडा अध्यक्ष गायत्रीराम बस्नेत बताउँछन् । ‘स्थानीयस्तरमा खेलकुद र अन्य सामुदायिक गतिविधिका लागि व्यवस्थित संरचना आवश्यकता थियो,’ बस्नेत भन्छन्, ‘कभर्डहल बनेपछि युवाका खेलकुद गतिविधिसँगै सामाजिक र सांस्कृतिक कार्यक्रम गर्न पनि सहज हुनेछ ।’ साखेजुङको कभर्डहलले विकास सडक र भौतिक आवागमनमात्रै नभई समुदायको सामाजिक जीवन व्यवस्थित बनाउने पूर्वाधारसँग पनि जोडेको छ ।

वडा २ को रिब्स–सुम्बेक सडक स्तरोन्नतिअन्तर्गत दुईवटा बक्स कल्भर्ट निर्माण सम्पन्न भएका छन् । वर्षाका समय पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या समाधान गर्न कल्भर्ट निर्माण गरिएको हो । पहाडी सडकमा पानी निकास व्यवस्थापन नहुँदा ठूलो वर्षाले सडक काट्ने, यातायात रोक्ने र निर्माण भएको संरचनासमेत क्षति पु¥याउने जोखिम हुन्छ । त्यसैले आकारमा सानो देखिने कल्भर्ट स्थानीयका लागि ठूलो महइभ्वको संरचना बन्न सक्छ । एउटा खोल्सा पार गर्न नसक्दा घुमेर लामो दूरी तय गर्नुपर्ने बाध्यता हट्नु, सार्वजनिक यातायात सञ्चालन सहज हुनु र बिरामी वा विद्यार्थीले सुरक्षितरूपमा यात्रा गर्न पाउनु यसको प्रत्यक्ष प्रभाव हो ।

वडा ३ मा मिल गोलाई–विणापानी सडकमा पाँच सय मिटर सोलिङ गरिएको छ । बर्खामा हिलाम्मे हुने यो सडक स्थानीय किसानका लागि महइभ्वपूर्ण भएकाले सडक सुधारसँगै कृषि उत्पादन बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ । किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु¥याउन समय र ढुवानी खर्च बढी लागेमा उत्पादनबाट हुने आम्दानी नै प्रभावित हुन्छ । त्यसैले पाँच सय मिटर सोलिङलाई सडक निर्माणको तथ्यांकका रूपमा नभई किसान र बजारबीचको दूरी घटाउने पूर्वाधारका रूपमा पनि हेर्न सकिन्छ ।

वडा ४ मा सातखाल्डे शहीद मार्ग स्तरोन्नतिअन्तर्गत १ सय ९ मिटर सडक ढलान गरिएको छ भने नोरुम खोलामा ह्युम पाइप जडान गरी अस्थायी डाइभर्सन निर्माण गरिएको छ । वडा ५ मा किरात चोक–रुलुक सडक स्तरोन्नति गरिएको छ । वडा ६ मा पञ्चकन्या मार्गअन्तर्गत माधव भट्टराईको घरदेखि मेची राजमार्ग जोड्ने सडकमा ३ सय ५० मिटर कालोपत्रे गरिएको छ ।

वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या भोग्ने ग्रामीण बस्तीका लागि कालोपत्रे सडकले यात्राको स्वरूप नै बदल्न सक्छ । सवारी सञ्चालन सहज हुन्छ, सार्वजनिक यातायात पहुँच बढ्छ र मुख्य राजमार्गसम्म पुग्ने समय तथा खर्चमा सुधार आउ“छ । वडा ७ मा सोलार बत्ती मर्मत तथा फुटपाथ निर्माण गरिएका छन् । बजारको सौन्दर्य बढाउनुका साथै पैदल यात्रुलाई सुरक्षित र सहज आवागमनको वातावरण तयार गर्ने उद्देश्यले गरिएको यो कामले स्थानीय पूर्वाधार विकासमा पैदल यात्रुको आवश्यकता समेत समेटेको छ ।

वडा ८ मा साविक करदाता सेवा कार्यालय, बानियाँ गाउँ, बौद्धपार्क, रक क्लाइम्बिङ क्षेत्र हुँदै अर्चलेसम्म जाने सडक स्तरोन्नतिअन्तर्गत ४ सय २९ मिटर पक्की नाली, २४.४० मिटर सडक ढलान र २ सय ५० मिटर ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । यो सडकको महइभ्व स्थानीय आवागमनमै सीमित छैन । बौद्धपार्क र रक क्लाइम्बिङ क्षेत्रजस्ता सम्भावित पर्यटकीय गन्तव्यसँग जोडिएकाले यसले पर्यटन पूर्वाधार विकासको आधारसमेत तयार गर्ने विश्वास छ । पर्यटकलाई कुनै गन्तव्यसम्म पु¥याउन सडक सहज हुनुपर्छ । सडक पुगेपछि होटल, होमस्टे, रेस्टुरेन्ट, स्थानीय उत्पादन बिक्री तथा अन्य सेवा व्यवसाय विस्तार हुने सम्भावना बढ्छ । त्यसैले ग्रामीण सडकलाई पर्यटनसँग जोड्ने प्रयासले स्थानीय अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गर्न सक्छ ।

वडा ९ मा टुँडिखेल भञ्ज्याङ–पुरानो शनिश्चरे सडकको बाँकी खण्ड कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । योजनाअन्तर्गत १ सय ८२ मिटर कालोपत्रे र पक्की नाली निर्माण गरिएको छ । यसै वडामा भञ्ज्याङ–स्वास्थ्य चौकी–रिङरोड हुँदै सटके–सोयाक सडकमा ५ सय ३२ मिटर कालोपत्रे, ५९ मिटर सडक ढलान र ५ सय ९४ मिटर पक्की नाली निर्माण सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी जोड्ने सडक सुधार हुनुको अर्थ स्वास्थ्य संस्था भएर पनि बाटोका कारण नागरिक सेवा लिन नसक्ने समस्या घट्नु हो । आकस्मिक स्वास्थ्य सेवामा सडकको अवस्था झनै महइभ्वपूर्ण हुन्छ । वडा १० मा मेची राजमार्गबाट वडा कार्यालय र स्वास्थ्य संस्था जोड्ने रिङरोडमा ४ सय १५ मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । यसले प्रशासनिक सेवा लिन वडा कार्यालय पुग्ने नागरिक र स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्ने सेवाग्राही दुवैका लागि यात्रा सहज बनाउने छ ।

वडा ११ मा राते खोला–प्रगति चोक–महेश्वरा स्कुल हुँदै सोयाक भञ्ज्याङ जोड्ने सडक स्तरोन्नति गरिएको छ । विद्यालय, बस्ती र मुख्य सडक जोड्ने भएकाले यो सडक विद्यार्थी, शिक्षक, किसान र स्थानीय व्यवसायीका लागिसमेत उपयोगी हुने अपेक्षा गरिएको छ । वडा १२ मा भण्डारी गोलाई हुँदै वडा कार्यालय जोड्ने सडक स्तरोन्नतिअन्तर्गत ३ सय २६ मिटर पक्की नाली र २ सय २ मिटर सडक सोलिङ सम्पन्न भएको छ ।

यसरी १२ वटै वडाका योजना हेर्दा नगरपालिकाले एउटै किसिमको पूर्वाधारमात्र निर्माण गरेको छैन । कतै कल्भर्ट आवश्यक परेको छ, कतै नाली, कतै सोलिङ, कतै सडक ढलान र कतै कालोपत्रे । स्थानीय आवश्यकता फरक भएकाले योजनाको स्वरूप पनि फरक छन् । यी सबै योजनाको साझा उद्देश्य भने ग्रामीण बस्तीलाई सेवा केन्द्र, बजार र मुख्य सडक सञ्जालसँग जोड्नु नै हो ।

नगरपालिकाले ग्रामीण सडकलाई क्रमशः स्तरोन्नति गर्दै कालोपत्रेमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ । यसको प्रभाव तत्काल आवागमनमा मात्र नभई कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा समेत पर्ने नगरपालिकाको अपेक्षा छ ।

खानेपानी आधारभूत आवश्यकता
पहाडी बस्तीमा स्वास्थ्यसँगै खानेपानी पनि नागरिकको दैनिकीसँग जोडिएको अर्को आधारभूत विषय हो । संघीय विशेष अनुदानअन्तर्गत वडा ११ लुङरुपास्थित आरिदह खानेपानी योजना सञ्चालन भएको छ । करिब ९५ लाख रुपैयाँ लागतमा निर्माण भएको योजनाबाट सय घरधुरी लाभान्वित हुने छन् । पानीको स्रोत घरबाट टाढा हुँदा दैनिकरूपमा पानी बोक्नुपर्ने बाध्यता छ ।

त्यसमा पनि महिलाको समय र श्रमको ठूलो हिस्सा पानी व्यवस्थापनमै खर्चिनुपर्ने अवस्था ग्रामीण क्षेत्रमा देखिन्छ । सुरक्षित र नियमित खानेपानी घरसम्म पुगेपछि पानी बोक्न लाग्ने समय बचत हुनु ,घरायसी काम सहज हुनु र पानीजन्य स्वास्थ्य जोखिम घट्नु यसको प्रत्यक्ष फाइदा हो । त्यसैले ९५ लाख रुपैयाँको खानेपानी योजना पाइप, ट्यांकी र धाराको संरचनास“गै सय घरधुरीको दैनिकीसँग जोडिएको लगानी हो ।

इलाम कृषि र चियाखेतीसँग नजिकबाट जोडिएको जिल्ला हो । कृषि उत्पादन बढाउन पानी आवश्यक हुन्छ । यही कारण नगरपालिकाले सिँचाइ पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ । वडा ३, ४, ५ र ११ मा पाँच साना सिँचाइ योजना सम्पन्न भएका छन् । नगरपालिकाका अनुसार करिब ३ हजार ५ सय २० रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । यसबाट २ सय ४७ घरधुरीका करिब १ हजार १ सय किसान लाभान्वित भएका छन् ।

वर्षाको पानीमा मात्र निर्भर खेतीमा उत्पादनको जोखिम बढी हुन्छ । समयमा पानी नपर्दा बाली प्रभावित हुन्छ र किसानको आम्दानी घट्न सक्छ । सिँचाइ सुविधा पुगेपछि किसानले खेतीको समय व्यवस्थापन गर्न सक्ने, उत्पादन विविधीकरण गर्न सक्ने र तरकारी तथा अन्य नगदे बालीतर्फ आकर्षित हुन सक्ने सम्भावना बढ्छ । यस अर्थमा सिँचाइ र सडक एकअर्कासँग जोडिएका विकासका दुई पाटा हुन् । सिँचाइले उत्पादन बढाउँछ भने सडकले उत्पादन बजारसम्म पु¥याउँछ ।

फरक पूर्वाधार, उद्देश्य एउटै
इलाम नगरपालिकाको आर्थिक वर्ष २०८२–८३ को विकास अभियानअनुसार सडक मेरुदण्डका रूपमा देखिए पनि सडक स्वास्थ्य, कृषि, खानेपानी र पर्यटनसँग पनि जोडिएको छ । सडकले स्वास्थ्य संस्था पुग्न सहज बनाउँछ, सिँचाइले कृषि उत्पादन बढाउँछ, सडकले त्यो उत्पादन बजारसम्म पु¥याउँछ, खानेपानीले घरको दैनिकी सहज बनाउँछ र पर्यटन पूर्वाधारले बाहिरी मानिसलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने सम्भावना बढाउँछ । स्थानीय सरकारका भवनले सेवा प्रवाह व्यवस्थित गर्छन् । अर्थात् फरक–फरक शीर्षकमा देखिएका यी योजनाका एउटै उद्देश्य हो– सहज नागरिक जीवन ।

सडकपछि स्वास्थ्य प्राथमिकतामा
सडकपछि नगरपालिकाको ठूलो प्राथमिकता स्वास्थ्य क्षेत्रमा देखिन्छ । वडा ७ स्थित इलाम अस्पतालको इमर्जेन्सी भवन निर्माणका लागि करिब ११ करोड ९६ लाख रुपैयाँको लागतमा ठेक्कामार्फत काम अघि बढाइएको छ । आकस्मिक उपचारमा समय सबैभन्दा महइभ्वपूर्ण हुन्छ । दुर्घटना, अचानक बिरामी वा अन्य स्वास्थ्य संकटमा अस्पतालको भौतिक क्षमता र सेवा पहुँचले बिरामीको उपचारमा ठूलो प्रभाव पार्न सक्छ । नयाँ इमर्जेन्सी भवन निर्माण सम्पन्न भएपछि इलाम नगरपालिकाका नागरिकमात्र नभई आसपासका स्थानीय तहका नागरिकले समेत सेवा पाउने अपेक्षा गरिएको छ ।

ठूलो अस्पतालको नयाँ भवनलाई भौतिक संरचनाकै रूपमा मात्रै हेर्न मिल्दैन । आकस्मिक अवस्थामा अस्पताल पुग्ने परिवारका लागि त्यो सुरक्षित उपचारको आशा हो । यसैगरी, वडा १ स्थित साखेजुङ स्वास्थ्य चौकी भवन निर्माण प्रक्रिया सुरु गरिएको छ । ठूलो अस्पतालसँगै ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य चौकीको भौतिक संरचना सुधारले स्वास्थ्य सेवा पहुँच स्थानीयस्तरसम्म पु¥याउन सहयोग पुग्छ ।

गर्नुपर्ने धेरै छन्, बन्दै छन्
इलामको पहाडी भूगोलमा विकासको बाटो अझै लामो छ । सबै बस्तीमा गुणस्तरीय सडक पु¥याउनुपर्ने देखिन्छ । स्वास्थ्य सेवा पहुँच र गुणस्तर अझ सुधार गर्नुपर्नेछ । खानेपानी आयोजना दिगो बनाउनुपर्नेछ । कृषि उत्पादनलाई बजार र उचित मूल्यसँग जोड्नुपर्नेछ । पर्यटनलाई रोजगारी र आम्दानीको स्रोतमा रूपान्तरण गर्नुपर्ने आवश्यक छ । अहिले निर्माण भइरहेका सडक, कल्भर्ट, नाली, अस्पताल, स्वास्थ्य चौकी, खानेपानी आयोजना, सिँचाइ संरचना र पर्यटन पूर्वाधारले एउटा परिवर्तनको आधार तयार गरिरहेका छन् ।

आज सडकमा बिछ्याइएको सोलिङ भोलि कालोपत्रे हुन सक्छ, आज खेतमा पुगेको सानो सिँचाइ कुलो भोलि किसानका उत्पादन बढाउने आधार बन्न सक्छ, आज निर्माणाधीन अस्पतालको भवन भोलि कुनै परिवारका लागि जीवन बचाउने ठाउँ बन्न सक्छ र आज निर्माण भइरहेको पर्यटन संरचना भोलि कुनै स्थानीय युवाका लागि रोजगारीको अवसर बन्न सक्छ ।

इलाम नगरपालिकाको चालू आर्थिक वर्षको विकास बजेट, योजना र निर्माण सूचीमात्रै पनि होइन, पहाडमा बस्ने नागरिकको दैनिकीलाई क्रमशः सहज बनाउने प्रयास हुनुपर्ने आवश्यक छ ।

विकासको अन्तिम सफलता सडक कति किलोमिटर बन्यो भन्नेमात्र होइन, त्यो सडकबाट किसान कति सहज भएर बजार पुग्यो भन्नेमा हुनेछ । ‘अस्पताल कति ठूलो बन्यो ?’ भन्नेमा मात्र होइन, त्यहाँ पुगेको बिरामीले कति छिटो र गुणस्तरीय सेवा पायो भन्नेमा हुनेछ । ‘खानेपानी आयोजना कति रकममा बन्यो ?’ भन्नेभन्दा पनि ‘धारामा नियमित पानी आयो कि आएन ?’ भन्ने हुनुपर्छ । ‘सिँचाइ कति रोपनीमा पुग्यो ?’ भन्नेमा होइन, त्यसपछि ‘किसानका उत्पादन र आम्दानी कति बढ्यो ?’ भन्नेमा हुनेछ । ‘पर्यटन संरचना कति सुन्दर बन्यो ?’ भन्नेमा होइन, त्यसले ‘स्थानीय मानिसको घरदैलोमा कति आर्थिक अवसर पु¥यायो ?’ भन्नेकेन्द्रित हुनुपर्छ ।

इलाम नगरपालिकाले आगामी वर्ष पनि दिगो विकास, सुशासन र समृद्ध नगर निर्माण लक्ष्य केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । पहाडका बाटा विस्तार हुँदै छन्, बस्ती बजारसँग जोडिँदै छन्, खेतमा पानी पुग्दै छ, स्वास्थ्य संरचना थपिँदै छन् र पर्यटकीय सम्भावनाका नयाँ ढोका खोलिँदै छन् । इलामको विकास अब संरचना थप्ने अभियानमात्र नभई यी परिवर्तन नागरिकको समय, श्रम, पहुँच, आम्दानी र अवसरसँग जोडिएको हुनुपर्छ ।

बनाएरमात्रै हुन्न, संरक्षण पनि महत्वपूर्ण
इलाम नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ मा अघि बढाएका योजना अंकमा हेर्दा सडकको लम्बाइ, नालीको मिटर, कालोपत्रे गरिएको दूरी, सिँचाइ पुगेको जमिन, लाभान्वित घरधुरी र खर्च हुने रकम देखिन्छ । ती अंकभित्र नागरिकका दैनिक कथा लुकेका छन् । पाँच सय मिटर सोलिङ भनेको किसानको बजारसम्म पुग्ने सहज बाटो हो ।

३ सय ५० मिटर कालोपत्रे भनेको बर्खाको हिलो र हिउँदको धुलोबाट राहत हो । ४ सय २९ मिटर पक्की नाली भनेको वर्षाको पानी व्यवस्थापन गर्ने आधार हो । ९५ लाख रुपैयाँको खानेपानी योजना सय घरधुरीको घरमा पानी पुग्नु हो । ३ हजार ५ सय २० रोपनीमा सिँचाइ पुग्नु खेतीयोग्य जमिनको उत्पादन क्षमता बढाउनु हो ।

करिब ११ करोड ९६ लाख रुपैयाँको इमर्जेन्सी भवनले आकस्मिक अवस्थामा उपचार खोज्दै अस्पताल पुग्ने नागरिकका लागि थप व्यवस्थित संरचना बनेको छ । यही कारण स्थानीय विकासलाई बजेट खर्च भएको रकम वा निर्माण सम्पन्न भएको संरचना संख्याले मात्र मापन गर्न सकिँदैन । त्यसले ‘नागरिकको समय कति बचायो ?, किसानको उत्पादन बजारसम्म पुग्न कति सहज भयो ?, बिरामीले उपचार कति छिटो पाए ?, घरमा पानीको पहुँच कति सहज भयो ?, खेतमा उत्पादन कति बढ्यो र पर्यटनबाट स्थानीयले कति अवसर पाए ?’ भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ ।

विकासको वास्तविक अर्थ नागरिकको दैनिकीमा देखिने परिवर्तन हो । संरचना निर्माणसँगै अबको चुनौती तिनको दिगोपन पनि हो । पहाडी भूगोलमा सडक निर्माण गरेपछि त्यसलाई पहिरो, पानी, भूक्षय र खोलाको कटानबाट जोगाउनु चुनौतीपूर्ण हुन्छ । कल्भर्ट र नाली नियमित मर्मत आवश्यक हुन्छ । खानेपानी आयोजना बनेपछि मुहान, पाइप र वितरण प्रणाली संरक्षण गर्नुपर्छ । सिँचाइ संरचना बिग्रिएमा समयमै मर्मत हुनुपर्छ ।

पर्यटन पूर्वाधार बनेपछि त्यसको व्यवस्थापन, सरसफाइ र संरक्षणमा पनि ध्यान दिनुपर्छ । त्यसैले विकास योजनाको सफलता बजेट खर्च र निर्माण सम्पन्न भएको प्रमाणपत्रमा मात्र निर्भर हुँदैन । बनेका संरचना ‘कति टिके ? नागरिकले कति प्रयोग गरे ? सेवा कति सुधार भयो र स्थानीय अर्थतन्त्रमा कति परिवर्तन आयो ?’ भन्ने कुराले नै त्यसको दीर्घकालीन मूल्य निर्धारण गर्छ ।

विकासको अर्को पाटो नयाँ संरचना निर्माणमात्र होइन, भएका संरचना पुनःस्थापना र संरक्षण पनि हो । भदौ २०८२ मा भएको जेन्जी आन्दोलनक्रममा क्षति पुगेको इलाम नगरपालिकाको प्रशासकीय भवन मर्मत–सम्भारमार्फत कार्यालयलाई पुनः व्यवस्थित बनाउनु पनि विकासकै एउटा पक्ष हो ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद् बैठकका ५ निर्णय