उदयपुर । सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान तीव्र बनाएपछि उदयपुर र सुनसरीको सीमावर्ती श्रीलंका तथा चिलिया टापुका करिब ६ सय परिवार उच्च जोखिममा परेका छन् । कटानले नदीको बहाव बस्ती नजिकै आइपुगेपछि स्थानीय बासिन्दा, सुरक्षा निकाय र स्थानीय तहले बालुवा तथा सिमेन्टका बोरा, बाँस र तारजाली प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरेर बस्ती जोगाउने प्रयास गरिरहेका छन् । तर नदीको कटान निरन्तर बढिरहेकाले अस्थायी संरचनाले मात्रै बस्ती जोगाउन कठिन हुने देखिएको छ ।
केही वर्ष अघिसम्म बस्तीबाट निकै टाढा बग्ने सप्तकोशी अहिले घर नजिकै आइपुगेको श्रीलंका टापुुका स्थानीय पदम राई बताउँछन् । उनले त्यहाँ एक बिघा जमिनमा धान र मकै खेती गर्दै आएका छन् । उनले गाईभैँसी पालेर पनि जीविकोपार्जन गर्दै आएका छन् । तर वर्षभरि मेहनत गरेर उत्पादन गरेको अन्नबाली भन्दा हरेक वर्ष बस्ती नजिकिँदै आएको नदीले उनलाई बढी चिन्तित बनाएको छ ।
हरेक वर्ष कटान बढ्दै गएको छ । ‘अहिले हामी सबै मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा भरेर बस्ती जोगाउने प्रयास गरिरहेका छौँ,’ राईले भने, ‘ठूलो बाढी आयो भने यो प्रयासले मात्रै धान्न सक्दैन । केही समयका लागि जोगिए पनि यो स्थायी समाधान होइन ।’
सप्तकोशीको कटानका कारण बराह क्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२, ३ र ८ मा पर्ने चिलिया र श्रीलंका टापुका बासिन्दा बर्सेनि बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन् । नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्दै लगेपछि स्थानीयको जमिन साँघुरिँदै गएको छ भने कतिपय स्थानमा नदी बस्तीको नजिक पुगेको छ ।
सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटान नियन्त्रणका लागि विगतमा निर्माण गरिएका करिब १८ स्परमध्ये नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् । बाँकी स्परसमेत नदीको कटानमा परिरहेको छ ।
‘स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराह क्षेत्र र बेलका नगरपालिकाको समन्वयमा अहिले श्रमदान गरेर कटान रोक्ने प्रयास भइरहेको छ,’ माझीले भने, ‘बाँस गाड्ने, नाइलनको डोरीले बाँधेर बालुवा भरिएका बोरा राख्ने जस्ता उपाय अपनाएका छौँ । तर यी सबै अस्थायी उपाय हुन् । दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र नदी व्यवस्थापन नगरेसम्म समस्या समाधान हुँदैन ।’
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीका अनुसार चिलिया र श्रीलंका टापुुमा भइरहेको कटान नियन्त्रणका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अस्थायी तटबन्ध निर्माण भइरहेको छ । कोशी बक्राहा नदी नियन्त्रण आयोजना मार्फत पहिलो चरणमा पाँच हजार ५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको उनले बताए ।
सप्तकोशीले धार परिवर्तन गरेर बनेको चिलिया टापुमा अहिले पनि ठूलो संख्यामा मानिसको बसोबास छ । करिब तीन हजार जनसंख्या रहेको यस क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ । धान, मकै, तरकारी खेती, पशुपालन तथा दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रको मुख्य आधार हो ।
बेलका नगरपालिकाका नगर प्रमुख कार्कीका अनुसार बेलका नगरपालिका–८ एलके खोच क्षेत्रमा गरिएको संरक्षण कार्यले केही राहत दिए पनि तल्लो तटीय क्षेत्रमा नदीको कटान अझै रोकिएको छैन । सप्तकोशीले बिस्तारै धार पश्चिमतर्फ मोड्ने संकेत देखिएकाले बाक्लो मानव बस्ती रहेको क्षेत्रमा जोखिम थप बढेको उनले बताए ।
स्थानीय भीम राईका अनुसार असारदेखि सुरु भएको कटान क्रमशः बढ्दै गएको छ । बलौटे माटो भएका कारण नदीले दैनिक रूपमा जमिन बगाइरहेको र संरक्षणका लागि राखिएका ढुंगा तथा तारजालीसमेत नदीले बगाउँदै लगेको उनले बताए ।
बराह क्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले कटान नियन्त्रणका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार आवश्यक स्रोतसाधन परिचालन गरिरहेको बताए । कटान प्रभावित क्षेत्रमा जेसीबी, ट्याक्टर, बालुवा ढुवानीका साधन, जाली, बोरा र सिमेन्ट उपलब्ध गराएर स्थानीय तथा सुरक्षा निकायसँगको समन्वयमा तटबन्ध निर्माण भइरहेको उनले बताए ।
‘कोशीको कटान यहाँको मात्र समस्या होइन, राष्ट्रिय सरोकारको विषय हो,’ उनले भने, ‘नगरपालिकाको सीमित बजेट र स्रोतसाधनले बर्सेनि दोहोरिने कटानको स्थायी समाधान सम्भव छैन । वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक छ ।’
गत वर्ष निर्माण गरिएका स्परसमेत ठूलो बाढीले क्षति पु¥याएको भन्दै उनले स्पर मात्र निर्माण गरेर समस्या समाधान नहुने बताए । उपयुक्त स्थानमा ड्याम, नोचलगायत नदी नियन्त्रणका संरचना निर्माण गरी संघीय सरकारले पर्याप्त बजेटसहित दीर्घकालीन योजना कार्यान्वयन गर्नु पर्ने उनको भनाइ छ । कटान बढ्दै गएर बस्तीमा बाढी पसे ठूलो धनजनको क्षति हुन सक्ने स्थानीयको चिन्ता छ । स्थानीय तहले तत्कालका लागि अस्थायी तटबन्ध र श्रमदानलाई निरन्तरता दिए पनि सप्तकोशीको बहाव र कटान नियन्त्रणका लागि दीर्घकालीन तथा वैज्ञानिक योजना आवश्यक देखिएको छ । हरेक वर्ष खेतीयोग्य जमिन घट्दै जानु, नदी घरनजिकै पुग्नु र आवश्यक पर्दा बस्ती नै छाड्नु पर्ने अवस्था दोहोरिँदा यहाँका बासिन्दाका लागि बर्खायाम बाढीको मौसम मात्र नभई अस्तित्व जोगाउने संघर्ष बन्दै गएको छ ।
सप्तकोशी नदी उदयपुर र सुनसरीको बीच भएर बग्ने गर्छ । पछिल्लो समय नदीले आफ्नो पुरानो धार परिवर्तन गरी पश्चिमतर्फ बहाव बढाएपछि श्रीलंका टापुुसहित नदी किनारका बस्तीमा जोखिम बढेको स्थानीयवासीले बताएका छन् । हरेक वर्ष वर्षायाममा नदीको बहाव बढेसँगै कटान तीव्र हुने गरेको उनीहरूको भनाइ छ ।
नेपाल–भारतबीच भएको कोशी सम्झौता अनुसार नदी नियन्त्रण तथा बाँध निर्माणका काम भारत सरकारले गर्नु पर्ने हो । सम्झौतामा उल्लेख गरिएका प्रावधानअनुसार समयमै बाँध तथा तटबन्ध निर्माण नहुँदा वर्षौंदेखि जोखिममा बस्न बाध्य भएको उनीहरूको गुनासो छ । स्थानीयवासीले सन् १९५४ मा भएको कोशी सम्झौता र त्यसपछिका संशोधन तथा सहमतिअनुसार नदी नियन्त्रणका संरचना निर्माण गर्न भारत सरकारसँग पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । नदी नियन्त्रणका लागि दीर्घकालीन योजना नबनाए श्रीलंका टापुका सयौँ परिवार विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने उनीहरूको चेतावनी छ ।
सम्बन्धित समाचार
धिमाल समुदायको मातृभाषा संरक्षणमा जोड
कार्यस्थलमा स्तनपान कक्षको अभाव
मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी
सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला






