धुर्कोटका उत्कृष्ट स्वास्थ्य संस्था पुरस्कृत

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गरेको छ । शुक्रबार गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रमको अवसर पारेर पालिकाका उत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गरेको हो ।

स्वास्थ्य संस्थाले गरेका विभिन्न काम र सूचकको आधारमा अधिकतम सय अकं प्रदान गर्नेगरी मूल्याकंन गरिएको थियो । जसमा ७९.१७ अकंसहित बस्तु स्वास्थ्य चौकी प्रथम, ७८.२७ अकंसहित पिपलधारा स्वास्थ्य चौकी द्धितिय तथा ७८.०६ अकंसहित नयाँगाउँ स्वास्थ्य चौकी तृतिय भएका छन् ।

प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद १० हजार, आठ हजार र पाँच हजारसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले जानकारी दिए । मूल्याकंनको आधारमा हाडहाडे स्वास्थ्य चौकीले ७६.३७, धुर्कोट आधारभूत अस्पतालले ७६.३७, जैसिथोक स्वास्थ्य चौकीले ७५.७७ र वाग्ला स्वास्थ्य चौकीले ७५.०४ अकं प्राप्त गरेका छन् । स्वास्थ्य संस्थाले प्रदान गर्ने खोप, पोषण, आमा सुरक्षा, क्षयरोग, मलेरिया, समयमै रिपोर्टिङ्ग, नसर्ने रोगको स्क्रिनिङ्ग, पोषण लेखाजोखा, एच्पिभी खोप लगायतको सूचकाकंको आधारमा स्वास्थ्य संस्थाहरुको बार्षिक मूल्याकंन गरिएको थियो ।

छ वटा स्वास्थ्य चौकी, एउटा आधारभूत अस्पताल, दुईवटा आयुर्वेद औषधालय र दुइवटा सामुदायिक स्वास्थ्य इकाइ गरी कुल ११ स्वास्थ्य संस्थाको बार्षिक समिक्षा गरिएको थियो । जसमा आधारभूत अस्पताल र स्वास्थ्य चौकीबीच अकं मापन गरी प्रतिस्पर्धा गराइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन अधिकृत कृष्ण पन्थीले बताए । बार्षिक समिक्षामा सबै स्वास्थ्य संस्थाले गरेका मुख्य काम एवं चुनौतीहरुको ’boutमा समिक्षा गरिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले गत आर्थिक बर्षमा बर्बोट लगायतका तीन आयुर्वेद औषधालयहरुका लागि पूर्वकर्म, पञ्चकर्म तथा स्वेदनका लागि मेसिद खरिद गरिएको, पूर्ण खोप, पूर्ण संस्थागत सुत्केरी, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था तथा किशोरकिशोरी मैत्री पालिका घोषणा सम्पन्न गरिएको, धुर्कोट आधारभूत अस्पतालमा निःशुल्क आँखा जाँच, आँखा अस्पतालमा निःशुल्क मोतियाबिन्दुको अप्रेशन सेवा तथा बुटबल र भैरहवामा निःशुल्क रक्तसंचार सेवा विस्तार गरिएको जानकारी दिए ।

त्यसैगरी ज्येष्ठ नागरिक घरभेट, उपचार तथा परामर्श, पाँच बर्ष मुनिका बच्चाहरुको पोषण लेखाजोखा, ३० बर्ष माथिका सबै नागरिकलाई नसर्ने रोग सम्बन्धि स्क्रिनिङ्ग, ३० देखि ५५ बर्ष सम्मका महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच, स्मार्ट आमा छनोट तथा समुदायलाई पोषण परामर्श लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको खनालले बताए ।

पालिकाले बर्बोटमा नयाँ आयुर्वेद भवनबाट आयुर्वेद तथा पञ्चकर्म तथा योग अभ्यास सेवा संचालन, धुर्कोट आधारभूत अस्पतालमा दैनिक दन्त र डिजिटल एक्सरे सेवा संचालन गर्ने लगायतका योजना रहेको पनि खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले संविधान दिवसमा एउटा स्वास्थ्य संस्थालाई पुरस्कृत गरेपनि बार्षिक समिक्षामा पुरस्कृत गर्नाले काममा प्रतिस्पर्धा बढ्ने र नागरिकले बढी सेवा पाउने बताए । ‘सम्मान र पुरस्कारले काम गर्ने हौसला बढ्छ, त्यसको प्रत्यक्ष असर नागरिकले पाउने सेवासँग जोडिन्छ ।’ उनले भने ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरीसहित जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक गोपाल कार्की, पत्रकार, सबै स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

रश्मिका घाइते भएपछि ‘राका’को सुटिङ रोकियो