बाँके । मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् ।
खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ । कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भने, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र लार्भा खाइदिएका कारण मौरी जोगाउनै कठिन भएको छ । बाहिर आउँदा चराको आक्रमण छ भने घारभित्र खपटे कीराको सङ्क्रमण बढ्दो छ ।”
मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै बस्नेतले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । एक सय घार मौरीपालन गर्दै आएका बढैयाताल गाउँपालिका मैनापोखर बर्दिया निवासी मौरीपालक किसान घनश्याम खत्रीले वर्षायाम मौरीको खाना अभाव हुने समयमा खपटे कीरा र सिलसाको सङ्क्रमणले मौरी जोगाउनै कठिन भएको बताए।
उनका अनसार विगत दुई महिनादेखि मौरीको घारमा यो समस्या देखिएको छ । उपचारका लागि घरेलु विधि अपनाए पनि प्रभावकारी हुन सकेको छैन ।
“एउटा घारमा १० वटा ‘फ्रेम’ हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ,” खत्रीले भने, “यसको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको छ ।” यस्तै बर्दिया बढैयातालका किसान सिंहबहादुर शाहीले पहिला यस्तो सङ्क्रमण कहिल्यै नदेखिएको बताए ।
एक सय ५० घार मौरीपालन गरिरहेका उनले खपटे र सिलसा किरोको सङ्क्रमण नरोकिए एक सय घार मौरी जोगाउन पनि कठिन हुने उल्लेख गरे। बाँके र बर्दिया जिल्लामा किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन्।
यहाँका किसान मौरी चराउन दाङ लैजाने गरेका छन् । तोरी फुल्ने ‘सिजन’मा बाँके बर्दियाका विभिन्न क्षेत्रमा मौरीका घार राखेर चराउने गरिए पनि अधिकांश समय दाङ जिल्लामै मौरी चराउने गरिएको मौरीपालक किसान बताउँछन् ।
अहिले यहाँका अधिकांश किसानले मौरी चराउन दाङमा घार राखेका छन् । दाङमा चराउन लगिएको मौरीको घारमा खपटे किरो र सिलसाको सङ्क्रमण देखिएपछि मौरी जोगाउन कठिन भइरहेको छ ।
सम्बन्धित समाचार
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
दुर्घटनामा परेका आफ्नै साथीको हत्या गर्ने चालक पक्राउ
दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने
रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
झापामा किसानलाई मलको अभाव नहुने
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने






