सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएसँगै सामाजिक दूरी कायमै राख्ने मापदण्डको पालनासहित व्यापार व्यवसाय सुरु भएका छन् । खुद्रा बजार, थोक बजार, मर्मत केन्द्र, तरकारी पसल तथा आवश्यक सामान तथा सामग्री ढुवानी सुरु गरिएका छन् । जनजीवन सहजीकरणका लागि जोर र बिजोर नम्बरमा निजी सवारीसाधन सञ्चालनको अनुमति पनि दिइसकिएको छ । देश अब थप उच्च सतर्कता र बढी होसियारी अपनाउँदै आर्थिक उपार्जनको केही महिना रोकिएको शृंखलालाई गति र लयमा जोड्न सल्बलाउन थालेको देखिन्छ । नेपालीको जीविकोपार्जनमुखी जीवन प्रद्धतिमा यो सकारात्मक निर्णय आफंैमा बल्न थालेको ज्योतिजस्तै बनेको छ । यसले हुँदा खाने वर्गको मुहारमा उज्यालो कान्ति ल्याउने पक्का छ । साँझ बिहानको समस्या टार्न धौधौ हुने वर्गका लागि यो केही अवसर खोजीको मौका पनि हो । तथापि, सरकारले यस्तो वर्गका लागि राहत तथा सहयोगको वैकल्पिक कार्ययोजना भने स्टककै रूपमा भए पनि तयारी हालतमा राख्दा सम्भावित कठिनाइसँग जुध्न निकै ठूलो सहयोग मिल्नेछ । किनकि मजदुर सडकमा हिँड्न पाएर मात्र उसका रोजगारीका समस्या समाधान हुन्छन् भन्ने ग्यारेन्टी छैन ।
अर्कोतिर जति अप्ठ्यारो गरेर आर्थिक समस्याले हामी नेपालीलाई सताएको छ, त्योभन्दा झनै अप्ठेरो हुनेगरी कोरोनाको फैलँदो संक्रमणले सताएको छ । एकातिर लकडाउन खोल्नुमा नै हाम्रा दैनिक जनजीविकाका समस्या हल हुने हामीले देखिरहेका छौं भने अर्कोतिर भुसको आगोझैं सल्कँदै र आम बन्दै गइरहेको कोरोना महामारीको संक्रमण कम भयावह छैन । महामारी संक्रमणले लकडाउनमा कडाइ गरिनुपर्ने संकेत गरिरहेको छ । तर, आर्थिक संकटले लकडाउन खोलिनुपर्ने बाध्यात्मक अवस्थामा पु¥याइरहेको छ । कोखामा बज्र प्रहार भएजस्तो निकै अप्ठेरो र असंगतिपूर्ण अवस्थामा हरेक नेपालीले अझै उच्च सतर्कतालाई कायमै राख्नुपर्छ । महामारीबाट मर्नुअगावै खान नपाएर मर्नु नपरोस् भनेर निकालिएको बाध्यात्मक निकास दुई धार भएको तरवारजस्तै छ । यसले एकातिर भोको पेटको अकथनीय पीडायुक्त धार बोकेको छ भने अर्कोतिर जुनसुकै बेलामा पनि ज्यान लिन सक्ने कोरोनाजस्तो डरलाग्दो महामारीको धार । आँखाअघि आर्थिक आर्जनका क्रियाकलाप अगाडि बढाइरहँदा ढाडपछि ज्यान लिन तयार रहेको कोरोनाको डरलाग्दो आकृतिको छाया परिरहेको छ । यो कटु यथार्थलाई हामी कसैले रत्तिभर बिर्सने वा लापर्बाही गर्ने गर्नुहुँदैन ।
यसरी, एकसाथ दुईवटा प्राणघाती लडाइँ लडिरहँदाको अवस्थामा हामी नेपालीले पलभरको समयमा पनि सतर्कता गुमाउनु भनेको मृत्युवरण गर्नुसरह हो । घरघरमा सेल्फ क्वारेन्टाइनमा बसेको अवस्थाभन्दा खुला अवस्था निकै घातक छ । क्वारेन्टाइनमा मापदण्डअनुसारका उपयुक्त व्यवस्था हुन नसक्दा जसरी ती क्वारेन्टाइन नै कोरोना बमका रूपमा देखापरे, त्यसरी नै खुला गतिविधि महामारी संक्रमणको आममाध्यम हुन सक्नेमा आशंका छैन । यो गम्भीरतालाई महसुस गरी सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हातमा पन्जा प्रयोग गर्ने, स्यानिटाइजरको उपयोग गर्ने, अरूलाई पनि सचेत र सतर्क गराउनेजस्ता कार्यलाई पहिलो कर्तव्यका रूपमा पालना गर्नु अत्यावश्यक छ ।






