पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भेटिएको छ । दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको न्यूरो आईसीयू बार्ड नै बन्द गरिने भएको छ ।
२२ जेठमा सडक दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएकोमा २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टर, डाक्टरसहित १२ जना गरी अस्पतालकै क्वारेन्टाइनमा बसिसकेका छन् । कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन बार्डमा ल्याइएको छ ।
गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १९२ पुगेको छ । हालसम्म स्याङ्जामा ६०, बागलुङ ४०, नवलपुर ४२, गोरखा १५, पर्वतमा २२, कास्की ५, तनहुँ ४, म्याग्दी ३ र लमजुङ १ मा संक्रमण भेटिएको हो ।
तीमध्ये १ जनाको मृत्यु र १२ जना निको भएका छन् । शुक्रबार कास्कीका पहिलो संक्रमित काठमाडौमा डिस्चार्ज भएका छन् । उनलाई काठमाडौ ह्याम्स अस्पताल लगिएको थियोे ।






