काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु भएकोको पहिचान खुलाउन प्रहरी तथा स्थानीय प्रशासनलाई सकस भएको छ । बाढी आएको पाँच दिन बितिसक्दा समेत नदी किनारमा शव तथा मानव अंग फेला पर्ने क्रम रोकिएको छैन ।
प्रहरीका अनुसार विभिन्न जिल्लामा संकलन गरिएका शवमध्ये हालसम्म सीमित संख्याको मात्र सनाखत भएको छ । नदीको तीव्र बहावसँगै बगेका शव तथा शरीरका अंग विभिन्न स्थानमा पुगेका कारण पहिचानमा समस्या भएको हो ।
गोरखा जिल्लाको सीमा क्षेत्रमा पर्ने त्रिशूली नदी किनारबाट प्रहरीले ५८ वटा शव संकलन गरेकोमा तीन जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । सनाखत हुन नसकेका शव तथा शरीरका अंग व्यवस्थापनमा समेत समस्या देखिएको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–स्थित बुंकोट घाटमा २९ वटा शवका टुक्रा माटोमुनि गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले बताए ।
पूर्वी नवलपरासीमा १६८ वटा शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले बताए । नारायणी नदी किनारमा मात्रै ५२ वटा मानव शरीरका विभिन्न अंग फेला परेका छन् ।
प्रहरीले पूर्वी नवलपरासीमा हात, खुट्टा, छाती, शरीरको बायाँ भाग, तिघ्रा, कम्मरमुनिको भाग, टाउकोलगायत शरीरका छुट्टाछुट्टै अंग संकलन गरेको छ । शव व्यवस्थापनमा कठिनाइ भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर करिब एक सय शव गाडेर व्यवस्थापन गरेको जनाएको छ ।
चितवनमा सबैभन्दा धेरै शव फेला परेका छन् । २५९ शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । पहिचान भएका मृतकमा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामहरि खड्कासहित विभिन्न जिल्लाका नागरिक छन् ।
चितवन प्रहरीले ९६ वटा शव देवघाट धामको जंगल क्षेत्रमा माटोमा गाडेर व्यवस्थापन गरेको जनाएको छ । बाढीको मुख्य प्रभावित रसुवामा फेला परेका शवमध्ये तीन जनाको मात्र पहिचान खुलेको छ ।
बाढीपछि सुरक्षाकर्मीले त्रिशूली, नारायणी हुँदै गण्डकसम्म नदी किनारमा खोजी अभियान चलाइरहेका छन् । बाढीको बहावसँगै टाढासम्म पुगेका शव तथा शरीरका अंग फेला पर्ने क्रम जारी रहेकाले खोजी अभियानलाई थप विस्तार गरिएको छ ।
जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
बाढीबाट प्रभावित रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
आयोजनाहरूका अनुसार सम्पर्कविहीनमध्ये ठूलो संख्या सुरुङ तथा पावरहाउसभित्र फसेको अनुमान गरिएको छ । हालसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवित उद्धार गरिएकोे छ ।
इप्पानका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेकोमा २५४ जनाको उद्धार भएको छ । करिब ३०० जना अझै सुरुङभित्र फसेको अनुमान गरिएको छ । २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन रहेकोमा १८ जनाको उद्धार भएको र २५ जना सुरुङभित्रै रहेको आयोजनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सुरुङभित्र फसेको अनुमान छ । माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १२२ जना सम्पर्कविहीन रहेकोमा ११ जनाको जीवित उद्धार गरिएको छ ।
रसुवागढी आयोजनामा ९३ जना, रसुवा–भोटेकोशीमा चार जना, चिलिमेमा आठ जना र मैलुङ खोलामा सात जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । नुवाकोटका मिडल त्रिशूली गंगामा दुई जना, त्रिशूली जलविद्युत्मा एक जना र देवीघाट जलविद्युत्मा एक जना सम्पर्कविहीन छन् ।
उद्धारमा भारत र चीनका विशेषज्ञ टोली
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भौगोलिक जटिलता, आवश्यक जनशक्ति र आधुनिक उपकरणको अभावका कारण सुरुङभित्र फसेकाको उद्धारमा कठिनाइ भएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धारलाई तीव्रता दिन भारतीय तथा चिनियाँ विशेषज्ञसहित आधुनिक प्रविधि परिचालन गरिएको जानकारी दिएका छन् ।‘हामीले स्क्यान गर्ने अत्याधुनिक मेसिनहरू फिल्डमा पठाएका छौँ । त्यसले रातदिन स्क्यान गरेर जीवित वा मृत अवस्थामा रहेका मानिसहरूको पहिचान गरी उद्धार गर्ने काम गरिरहेको छ,’ उनले भने ।
प्रभावित आयोजनाका सञ्चालकहरूले आवश्यक जनशक्ति तथा उपकरण परिचालनमा ढिलाइ भएको गुनासो गरेका छन् । लाङटाङ खोला आयोजनाका प्रवद्र्धक विजयमान भट्टराईले सुरुङमा मानिस फसेको जानकारी गराउँदा समेत तत्काल ठोस उद्धार प्रयास हुन नसकेको बताएका छन् ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले माथिल्लो त्रिशूली–१ मा कोरियन प्राविधिकबाट उद्धार गराउने प्रयास भए पनि सरकारले अनुमति नदिएको दाबी गरेका छन् ।
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो






