नारायणगढ (चितवन) । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही १० भदौको रातिदेखि नै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही ११ भदौ बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।
उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । १३ भदौमा ९६ शव, १४ भदौमा १०३ शव र १५ भदौमा ८१ शव व्यवस्थापन गरिएको हो ।
प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले बताए ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान






