बारा र पर्सामा कोरोनाले दुईको मृत्यु

वीरगन्ज । कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने एक जना करिब २५ वर्षीय वेवारिसे पुरुष र अको बाराको निजगढ ६ ठूलो योजना टोलका ५ वर्षीय बालक रहेका छन् । बेवारिसे पुरुषको शव गत बुधबार वीरगन्जको घण्टाघर छेउको बीपी उद्यानमा फेला परेको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको हो । यसैगरी बाराको निजगढका बालक शुक्रबारबाट वीरगन्जको गण्डकस्थित हेल्थ केयर हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनको शनिबार बिहान ४ बजे मृत्यु भएको हस्पिटलका सञ्चालक डा. अबुलेश अन्सारीले बताए । अस्पताल ल्याएलगत्तै आरडीटी परीक्षण गर्दा त्यसमा पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा सहकार्य गरी राति नै स्वाव कलेक्सन गराइएकोमा शनिबार बिहान ती बालकमा पनि संक्रमण रहेको पुष्टि भएको डा. अन्सारीको भनाइ छ ।
बेवारिसे पुरुषको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याएकोमा उनको पहिले स्वाव परीक्षण गर्दा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । मृतक बालक र बेवारिसे पुरुष दुवैको वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गरिएको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा.उदयनारायण सिंहले राजधानीलाई बताए ।
पर्सामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । पहिचान नखुले पनि घटना यहीँ भएकाले अब गणना पनि पर्सामा नै हुने उनको भनाइ छ ।
यता बारामा भने शनिबार मृत्यु भएका बालकसहित मृतकको संख्या २ पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गत ४ जेठमा वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा ७० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी बाराको करैयामाई नगरपालिकाका स्थायी बासिन्दा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान