बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा आफन्त बेपत्ता भएको एक साता बितिसक्दा पनि कुनै खबर नआएपछि कैलालीका परिवार आफैँ खोजीमा निस्किन थालेका छन् ।

सरकारी निकायबाट आफन्तको अवस्था’bout ठोस जानकारी नआएपछि कैलालीका विभिन्न स्थानीय तहका परिवारका सदस्य काठमाडौँ हुँदै रसुवातर्फ लागेका हुन् । कतिपय परिवारका सदस्य नुवाकोट पुगेर हेलिकोप्टरमार्फत रसुवा जाने बाटो खुल्ने प्रतीक्षामा छन् ।

जानकी गाउँपालिकाबाट बाढीपछि सम्पर्कविहीन भएका चार जनाको खोजीका लागि प्रत्येक परिवारबाट दुई–दुई जना र एक जना बरघर गरी नौ जनाको टोली काठमाडौँतर्फ गएको छ । आफन्तको अवस्था पत्ता लगाउन खोजीमा जान चाहेका परिवारका सदस्यलाई गाउँपालिकाले एक साताका लागि यातायातको व्यवस्था गरेको जनाएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टका अनुसार उनीहरूको खाना खर्च भने परिवार आफैँले व्यवस्थापन गर्नेछन् । फर्किएपछि यातायात र खाना खर्चसमेत गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट भुक्तानी गरिनेछ ।

‘एक हप्ताका लागि गाडी खोजेर पठाएका छौँ । खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । फर्किएपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्छौं,’ भट्टले भने ।

यसैगरी, टीकापुर नगरपालिका–१ समितिपुरका बरघर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसेर आफन्तको खबर पर्खिरहेका छन् । उनका दाजु मानबहादुर रसुवामा बेपत्ता भएपछि अखिल र छिमेकी विखराम चौधरी खोजीका लागि नुवाकोट पुगेका हुन् ।

रसुवा जाने बाटो अवरुद्ध भएकाले उनीहरू हेलिप्याड नजिकै बसेर हेलिकोप्टरमार्फत उद्धार तथा खोजीका गतिविधि भइरहेको हेर्ने र आफन्त’bout जानकारी लिने गरिरहेका छन् ।

‘रसुवा जाने बाटो छैन । बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौँ । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर बुझ्ने र फेरि कोठामा फर्किने गरेका छौँ,’ अखिलले भने ।

टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाईं र धना चौधरी काठमाडौँ हुँदै नुवाकोट पुगेका छन् । उनीहरू रसुवामा सम्पर्कविहीन भएका आशिष चौधरीको खोजीका लागि गएका हुन् । आशिषकी श्रीमती दिलकुमारी चौधरीले आफन्तहरू खोजीका लागि गएको बताइन् ।

आफन्तको खोजीमा जान चाहने परिवारलाई सहयोग गर्ने निर्णय टीकापुर नगरपालिकाले पनि गरेको छ । नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जाने परिवारका सदस्यको यातायात खर्च बेहोर्ने निर्णय गरेको हो ।

आफन्तहरू सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन परिवारका सदस्यहरूले मंगलबार नगरपालिकामा पुगेर अनुरोध गरेका थिए ।

टीकापुर नगरपालिका क्षेत्रबाट मात्रै ३४ जनाभन्दा बढी कामदार तथा कर्मचारी रसुवा बाढीपछि सम्पर्कविहीन रहेको बताइएको छ । समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर र ज्योतिनगरलगायत क्षेत्रका नागरिक बेपत्ता छन् ।

सुदूरपश्चिमका १५० जना अझै बेपत्ता
रसुवामा भदौ १० गते आएको बाढीपछि सुदूरपश्चिमका २०९ जना नागरिक सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने १५० जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सम्पर्कविहीन भएका नागरिकमध्ये ५९ जना सम्पर्कमा आएका छन् । बाँकी १५० जनाको खोजी तथा अवस्था’bout जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । रोजगारी तथा अन्य कामका लागि रसुवा पुगेका सुदूरपश्चिमका नागरिकसमेत बाढीबाट प्रभावित भएका छन् ।

आफन्तको कुनै खबर नआउँदा परिवारहरूमा चिन्ता बढ्दै गएको छ । सरकारी संयन्त्रबाट भइरहेको खोजीको परिणाम पर्खन नसकेर कतिपय परिवार भने आफैँ सम्भावित स्थानमा पुगेर आफन्तको अवस्था बुझ्ने प्रयासमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन