म्युनिख । स्पेनिस मिडफिल्डर ड्यानियल ओल्मोले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि आरबी लाइपजिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ओल्मोले नवौं र ११औं मिनेटमा गोल गर्न सफल भएको थियो । होफेनहाइनको मैदानमा खेलको नवौं मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि मार्सेल सवित्जरको पासमा ओल्मोले व्यक्तिगत दोस्रो गोल गर्दै लाइप्जिगलाई सुरुवातमै २–० को अग्रता दिलाए । सुरुवातमै २–० ले पछि परेपछि घरेलु टोलीले सुधारिएको खेल पस्कदै लाइप्जिगलाई दबाबमा राखे पनि गोल नसक्दा पराजित हुन पुग्यो । लाइप्जिगले भने उक्त अग्रतालाई जोगाउन सफल भयो ।
जितसँगै तेस्रो स्थानमा रहेको लाइप्जिगको ३१ खेलबाट ६२ अंक पुगेको छ । बुन्डेस लिगामा तीन चरण मात्र बाँकी रहेका बेला अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि सजिलै छनोट हुने स्थिति बनेको छ । यसपल्ट पनि उसले क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ । पराजित होफेनहाइन ४३ अंक जोडेर सातांै स्थानमा यथावत् छ ।






