सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा–३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले कुशे औँसीको अवसर पारेर पिता सम्मान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
सुन्दरहरैँचा–३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई नगदसहित विशेष सम्मान गरिएको छ भने करिब २०० जना ज्येष्ठ नागरिकलाई गम्छा, ब्याग र फलफूलसहित सम्मान गरिएको ज्येष्ठ नागरिक सेवा समाज नेपालकी सहजकर्ता रीता दाहालले जानकारी दिइन्।
कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सेवा समाज नेपाल, सुन्दरहरैँचा–३ का अध्यक्ष भीमबहादुर कार्कीले गरेका थिए। कार्यक्रममा सुन्दरहरैँचा–३ का अध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै विशिष्ट अतिथि जीवन ढुंगाना, सामाजिक व्यक्तित्व निरञ्जनप्रसाद आचार्य तथा स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईंलगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष भीमबहादुर कार्कीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा दायित्व भएको बताए। ज्येष्ठ नागरिकले समाज र परिवार निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मानको संस्कारलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
प्रमुख अतिथि विदुर ढुंगानाले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै उनीहरूको सम्मानले नयाँ पुस्तामा संस्कार र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने बताए।
त्यस्तै नेत्रप्रसाद चम्लागाईंले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव देखाउने यस्ता कार्यक्रमले सामाजिक एकता र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखे। सामाजिक व्यक्तित्व निरञ्जनप्रसाद आचार्यले ज्येष्ठ नागरिकको अनुभवलाई समाज विकासमा उपयोग गर्नुपर्ने बताए।
कार्यक्रमकी सहजकर्ता रीता दाहालले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु केवल औपचारिक कार्यक्रम नभई उनीहरूले जीवनभर समाज र परिवारका लागि गरेको योगदानप्रतिको सम्मान भएको बताइन्। उनका अनुसार संस्थाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको हित, सम्मान र सामाजिक सहभागितालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।
कार्यक्रममा ज्येष्ठ नागरिक, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कुशे औँसीको अवसरमा आयोजित कार्यक्रमले बुबा तथा ज्येष्ठ नागरिकप्रतिको सम्मान, माया र पुस्तान्तरणको भावनालाई थप बलियो बनाएको आयोजकको भनाइ छ।
सम्बन्धित समाचार
संखुवासभामा गोली हानी शिक्षकको हत्या
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
श्रीमान्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार
भोटेकोशी बाढीपीडितलाई राप्रपा खोटाङद्वारा प्रशासनमार्फत राहत रकम
रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
हज्जारौंको सहभागितामा राजविराजमा रथयात्रा
त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावर हाउसभित्र एक जनाको शव देखियो : उद्धार टोली






