जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा र नेपाली काँग्रेसले नीति तथा कार्यक्रमको विरोध गरेका थिए । प्रदेशसभा सदस्यहरु दिलिप कुमार साह,शिवचन्द्र चौधरी,गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण,नरेश कुमार यादव,सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेपनि बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।
निति तथा कार्यक्रम पारित हुन नदिनका लागि सत्तारुढ दलकै ६ जना सांसद असन्तुष्ट देखिएपछि सरकार ढल्नेसम्मको हल्ला चलेको थियो । तर जनता समाजवादी पार्टीका केन्द्रिय नेतृत्व सहमती भएपछि पार्टीका सबै सांसदले निति तथा कार्यक्रम पारित गराउन सहयोग गरे । प्रदेश २ मा समाजवादीको ३०, नेकपाको ३२, राजपाको २५, संघिय समाजवादी पार्टी १ र नेपाली कांग्रेस १९गरी कुल १सय ७ सांसद रहेका छन् ।






