मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न

सुन्दरहरैचा(मोरङ) । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन प्रक्रिया सुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ मा भने अधिवेशन अघि बढ्न सकेन। अधिवेशन रोकिएसँगै यसको कारणलाई लिएर कांग्रेसभित्रै विवाद चर्किएको छ।

मोरङ–६ मा वडा अधिवेशन रोकिएको विषयमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले क्रियाशील सदस्यता व्यवस्थापन तथा अधिवेशन तयारीमा देखिएको विवादकै कारण वडा अधिवेशन प्रभावित भएको दाबी गरेका छन्।

कार्यकर्ता तहमा क्रियाशील सदस्यता वितरणमा संग्रौलाको प्रभाव र हस्तक्षेप रहेको आरोपसमेत उठेको छ। नेताहरूका अनुसार सदस्यता व्यवस्थापनमा देखिएको विवाद समाधान हुन नसक्दा अधिवेशनको प्रक्रिया नै प्रभावित भएको हो। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।

वडा अधिवेशन रोकिएको विषयमा संग्रौलासँग सम्पर्क गर्दा उनले भने आफू अहिले पनि पार्टीका नेताहरूसँग संवादमै रहेको बताइन्। उनका अनुसार डा. शेखर कोइरालालगायत नेताहरूसँग आवश्यक छलफल भइरहेको छ भने वडा अधिवेशनका लागि आवश्यक सामग्रीसमेत अहिलेसम्म नपुगेको अवस्था छ।

संग्रौलाले नेताहरूबीच आवश्यक छलफल र समन्वयपछि छिट्टै वडा अधिवेशन गरिने बताएकी छन्। तर, मोरङ–६ का कार्यकर्ताबीच भने अधिवेशन रोकिएको विषयले असन्तुष्टि बढाएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिँदै कुनै पनि अफवाहमा नलागी निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

देशभर निर्धारित मितिमा अधिवेशन प्रक्रिया अघि बढिरहँदा मोरङ–६ मा भने वडा तहकै अधिवेशन अन्योलमा परेपछि यसले आगामी तहका अधिवेशनमा समेत प्रभाव पार्ने हो कि भन्ने प्रश्न उठेको छ। अब मोरङ–६ को विवाद कसरी समाधान हुन्छ र वडा अधिवेशन कहिले हुन्छ भन्ने विषयमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको चासो बढेको छ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार