प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभातर्फ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सगरमाथासहितका हिमाल पग्लिरहेको अवस्था र रसुवाको भोटेकोशी बाढीले निम्त्याएको विपद्को सवाललाई जलवायु न्यायको मुख्य एजेण्डा बनाएर संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

सगरमाथादेखि भोटेकोशीको आवाजसहित जलवायु न्यायको एजेण्डा

प्रधानमन्त्री शाह साँझ कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन् । यो उनको प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भोटेकोशी विपद्पछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको अवस्था र जलवायु संकटको असर विश्वमञ्चमा प्रस्तुत गर्ने निर्णय भएको हो ।

विश्वको प्रमुख बहुपक्षीय मञ्चमा यसपटक नेपालको मुख्य कूटनीतिक सन्देश जलवायु परिवर्तनबाट हिमाली मुलुकले भोगिरहेको संकट, जलवायु न्याय तथा क्षति र नोक्सानीको विषयमा केन्द्रित हुने भएको छ । प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि त्यसको असमान र गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी छ ।

१० भदौमा गएको भोटेकोशी बाढीले पु¥याएको ठूलो जनधनको क्षतिलाई जलवायु संकटको प्रभावको उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले जोखिममा रहेका मुलुकलाई तत्काल र उचित सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछ ।

क्षति तथा नोक्सानीसम्बन्धी कोषबाट दीर्घकालीन कार्यक्रम सञ्चालन, जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय स्रोत उपलब्ध गराउन विकसित मुलुकसँग आग्रह गर्ने नेपालको तयारी छ ।

नेपालले हिमाली क्षेत्रको जोखिमलाई पनि अन्तर्राष्ट्रिय बहसमा लैजाँदैछ। हिमनदी पग्लिने, हिमताल तथा नदी प्रणालीमा देखिने जोखिम, बाढी–पहिरो र त्यसबाट पूर्वाधार तथा जनजीवनमा पर्ने असरलाई नेपालको भौगोलिक अवस्थासँग जोडेर प्रस्तुत गरिनेछ । सगरमाथासहितको हिमालय, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र र विस्तृत नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पु¥याएको योगदानलाई समेत प्रधानमन्त्रीको सम्बोधनमा समेटिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले ८ असोज अर्थात् सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता तय गरिएको छैन ।

महासभाको अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि विश्वव्यापी आह्वान’ नाममा अलग्गै सत्र आयोजना गर्नेछ । उक्त सत्रमा हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु संकटको प्रभाव र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालले उक्त सत्रको नेतृत्व गर्नेछन् ।

परराष्ट्रमन्त्री खनाल भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन् । उनले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलनलगायतका मन्त्रीस्तरीय बैठक तथा विभिन्न उच्चस्तरीय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन् । विभिन्न मुलुकका समकक्षी र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्रीसँग प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका अधिकारी छन् । प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार र स्वकीय सचिव सुवास शर्मासहितको टोली भने तयारीका लागि यसअघि नै न्यूयोर्क पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंसहित देशभर बिहानैदेखि वर्षा