काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै अमेरिकाको आक्रमणको आलोचना गरेका छन् । बुधबार महासभालाई सम्बोधन गर्दै पेजेस्कियानले इरानी जनता अमेरिकाको ‘आतंकवादको सिकार’ भएको दाबी गर्दै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पारे ।
करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गरेका पेजेस्कियानले दिवंगत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिरसमेत प्रदर्शन गरेका थिए ।
इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै उनले भने, ‘हामी आतंकवादी होइनौँ । हाम्रा निर्दोष जनता कायरतापूर्ण आक्रमणको लक्ष्य बनेका छन् ।’ अमेरिकातर्फ संकेत गर्दै उनले भने, ‘उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौँ ।’
पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम तथा आतंकवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै त्यसो नभए सैन्य कारबाहीसहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका छन् ।
यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई ट्रम्पले ‘धेरै राम्रो बैठक’ भनेका थिए । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त सम्पर्कमा नयाँ कुरा नभएको बताएका छन् ।
अमेरिकासँग सम्भावित वार्ताका विषयमा इरानभित्रै पनि मतभेद देखिएको छ । केही नेताले विदेशमन्त्री अब्बास अराघचीको आलोचना गरेका छन् । यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण तथा शासन व्यवस्था अघि बढाउन छ महिनाका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ ।
योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।
उता, हर्मुज जलडमरूमध्यमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ । युद्धका कारण महत्वपूर्ण मानिएको हर्मुज जलडमरूमध्यमा व्यावसायिक आवागमनसमेत प्रभावित भएको छ ।
यसैबीच, कब्जामा रहेको वेस्ट ब्याङ्कमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते भएका छन् । इजरायली अधिकारीका अनुसार एक प्यालेस्टिनी व्यक्तिले बेइट होरोननजिकको सुरक्षा चौकीमा कार ठोक्काउँदा लेइटर घाइते भएका हुन् । भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ ।
अर्कोतर्फ, इजरायलको निर्वाचन आयोगले अर्को महिना हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा उम्मेदवारलाई सहभागी हुन अयोग्य ठहर गर्ने पक्षमा मतदान गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसहित दुई दक्षिणपन्थी दलको अनुरोधमा भएको उक्त निर्णयविरुद्ध राम पार्टीका नेता मन्सुर अब्बासले सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् ।
अक्टोबर ७, २०२३ मा हमास नेतृत्वमा भएको आक्रमणपछि इजरायलमा हुन लागेको यो पहिलो संसदीय निर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
अगस्टमा विश्व इतिहासमै अहिलेसम्मकै उच्च तापक्रम
रिपब्लिकनलाई जिताए प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर: ट्रम्प
मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत
दक्षिण कोरियामा भयाे संसारकै महँगो सम्बन्धविच्छेद
अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने
अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने
रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर
एल निनोले बढाउँदै छ खाद्य सुरक्षामा जोखिम






