चामेमा थुनिएको मर्स्याङ्दी नदीमा पानीभन्दा बढी गेग्र्याङ

लमजुङ । हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङको सदरमुकाम चामे भएर बहने मस्र्याङदी नदीमा बाढीपहिरोका कारण थुनिएपछि खुलाउने काम थालिएको छ । चामे गाउँपालिकाको वडानं ४ र ५ को बीचमा भएर बहने सो नदीमा यतिबेला पानी भन्दा पनि बढी गेग्र्याङ थुप्रिएको हुँदा नदी खोलिएर तल्लो तटीय क्षेत्रमा नोक्सान गर्ने सम्भावना नरहेको मनाङ प्रशासनले जनाएको छ ।

सकेसम्म ‘बम ब्लास्ट’ नगर्ने सुरक्षा समितिको निर्णय

सो स्थानमा मस्र्याङदी नदी तीन दिन अघि थुनिएको हो । सोमबारदेखि पानी पर्न कम भएसँगै बाढी आउन र नदीको प्रवाहमा कमी आएसँग स्थानीयले राहत अनुभव गरेका छन् । नदीको बहाव सहज बनाउन मंगलबार बिहानैदेखि एक्स्काभेटर र डोजरसहित तीन वटा मेसिन परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदीको बहाव खुलाउने प्रयास गर्ने जिल्ला सुरक्षा समितिको निर्णय छ ।

अविरल वर्षाका कारण आएको बाढीमा लेदो, हिलो र गेग्र्याङ थुप्रिएर मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार नदीमा बाहिरबाट हेर्दा ताल जस्तो देखिए पनि त्यहाँ पानी भन्दा बढी गेग्र्याङ छ । उनले भने, ‘अब नदी खोलिएर थुनिएको पानीले बाढी रुप लिएर तल्लो तटीय क्षेत्रमा नोक्सान गर्ने भन्ने सम्भावना छैन ।’

शनिबार र आइतबारको बाढीपहिरोले चामे बजार क्षेत्रमा कम्तीमा ६ घरमा क्षति पुगेको छ । सोमबार नेपाली सेनाको प्राविधिक टोलीले ताल जमेको क्षेत्रको निरीक्षण गरी मंगलबार ब्लाष्टिङ गर्ने भन्दै चार जना सोही स्थानमा बसेका थिए । तर आज भने पानीको बहाब घटेको कारणले विष्फोट गर्ने निर्णय बदलिएको प्रशासनको भनाइ छ ।

पौडेलले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी समेत मंगलबार बिहानदेखि नदी खुलाउने काममा हामी समेत जुटेका हुन् ।’ उनका अनुसार गेग्र्याङका कारणले सडक भने अवरुद्ध नै छ पारी ५ नंबर वडाको केही घरमा आवत जावतको समस्या छ, त्यसलाई सहज बनाउने प्रयास जारी छ ।

चामे बजार क्षेत्र हुँदै बग्ने घट्टे खोलामा आइतबार आएको बाढीपहिरोले ठूलो परिमाणमा लेदो र गेग्र्याङ बगाएर मस्र्याङ्दी नदीमा थुपारेपछि नदी आंशिक रूपमा थुनिन गएको हो । नदी थुनिएपछि चामे बजारको पारिपट्टि चामे गाउँपालिका– ५ तर्फका नौ घर डुबानमा परेका हुन् ।

‘आज मेसिनको सहयोगले पानीको बहाव घटाउने र नदीको बाटो फराकिलो बनाउने काम भइरहेको,’ प्रजिअ खनालले बताए । उनका अनुसार बजारका घर र पुललाई असर पर्ने देखिएकाले तत्काल विस्फोटक पदार्थ प्रयोग गर्दैनौँ । अन्य उपायबाट नदी खुलाउन सम्भव नभएको खण्डमा मात्रै विस्फोटक प्रयोग गरिने प्रजिअ खनालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल