सुन्दरहरैँचा(मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएको छ। विवाद समाधान नभएको भन्दै क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको क्षेत्रीय कार्यसमितिले आज हुने भनिएको अधिवेशनमा सहभागी नहुने घोषणा गरेको छ।
शुक्रबार सुन्दरहरैँचा–७ स्थित एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै तामाङले आफू क्षेत्रीय सभापतिको पदमा बहाल रहेकै अवस्थामा अर्को व्यक्तिलाई संयोजक तोकेर अधिवेशन सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।
क्षेत्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको विधान, लोकतान्त्रिक संस्कार तथा संगठनात्मक मर्यादालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा अधिवेशन अघि बढाउन खोजिएको दाबी गरिएको छ। विधान र विधिअनुसार सञ्चालन नभएको अधिवेशनलाई आफूहरूले वैधानिक तथा स्वीकार्य अधिवेशनका रूपमा मान्यता नदिने तामाङले स्पष्ट पारेका छन्।
तामाङको निर्णयमा मोरङ–६ अन्तर्गतका पाँच जना वडासभापतिले समेत साथ दिएको जनाइएको छ। मोरङ क्षेत्र नं. ६ मा कुल २० वटा वडा रहेका छन्। पाँच वडासभापतिको समर्थनसहित क्षेत्रीय कार्यसमितिले अधिवेशनमा सहभागी नहुने निर्णय सार्वजनिक गरेपछि विवाद थप पेचिलो बनेको छ।
‘अधिवेशन कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने माध्यम नभई पार्टीका सम्पूर्ण क्रियाशील सदस्यको सहभागिता, सहमति, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको साझा मञ्च हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा पार्टीभित्र उत्पन्न विवादलाई संवाद, सहमति र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा विवाद थप जटिल बनाउने अवस्था सिर्जना भएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
क्षेत्रीय कार्यसमितिले नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि समेत प्रश्न उठाएको छ। संग्रौलाको पहल तथा भूमिकाका कारण क्षेत्र नं. ६ मा पछिल्लो विवाद उत्पन्न भएको आफ्नो बुझाइ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यो क्षेत्रीय कार्यसमितिको दाबी हो।
तामाङले अधिवेशनको विषय व्यक्तिगत पद वा प्रतिष्ठाको विषय मात्र नभई पार्टीको विधि, विधान, लोकतान्त्रिक संस्कार र संगठनात्मक मर्यादा जोगाउने सवाल भएको बताएका छन्।
क्षेत्रीय कार्यसमितिले पार्टी नेतृत्व तथा सम्बन्धित पदाधिकारीलाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर विधान र संगठनको हितलाई केन्द्रमा राख्दै विवाद समाधान गर्न आग्रह गरेको छ।
यसैबीच, विधि र विधानविपरीत ढंगबाट अधिवेशन अघि बढाइए न्यायिक उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत क्षेत्रीय कार्यसमितिले दिएको छ। विज्ञप्तिमा आवश्यक परे सम्बन्धित अदालतमा गई न्याय तथा वैधानिक प्रक्रियाको मागसहित कानुनी उपचार खोजिने उल्लेख छ।
यस्तै पत्रकार सम्मेलनमा बूढीगंगा गाउँपालिकाका अध्यक्षसमेत रहेका पूर्व पार्टी सभापति जितनारायण थापा मगर, क्षेत्र नम्बर ६ (क) का सभापति दीपक भगत, क्षेत्रीय सभापतिका उम्मेदवार सोमराज काफ्लेले समेत एकतर्फी रुपमा गरिएको अधिवेशन मान्य नहुने बताए ।
उनीहरुले पार्टी सभापति गगन थापाले कांग्रेस लास दासको पार्टी होइन भने पनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप लगाए । उनीहरले सहमहामन्त्री संग्रौलाकै कारण विवाद देखिएको प्रस्ट पारे ।
यसैगरीसुन्दरहरैंचाका ४ वटा वडा सभापतिले समेत संयुक्त विज्ञप्ति निकालेर अधिवेशनमा सहभागी नहुने बताएका छन् । सुन्दरहरैंचा ४ का सभापति कैलाश बस्नेत, ५ का निलबहादुर शाही, ६ का संजित राई, ७ का कुविर नाल्बो विज्ञप्ति निकालेर एकतर्फी रुपमा गरिएको अधिवेशनमा सहभागी नहुन क्षेत्रीय प्रतिनिधिरुलाई आग्रह गरेका छन् । त्यस्तै सोही विज्ञप्तिमा बूढीगंगा गाँउपालिका वडा नम्बर २ का सभापति दीपेन्द्र न्यौपानेले पनि हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार
मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
विराटनगर कांग्रेस वडा अधिवेशनमा दुई पक्षबीच कुटाकुट
पेसागत क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी
सुन्दरहरैंचा कांग्रेसमा अर्को शक्तिको उदय
मोरङ–६ कांग्रेस अधिवेशनमा झडप सभापति तामाङको प्रतिवाद
मोरङ–६ कांग्रेस अधिवेशन विवादपछि नयाँ संयोजक तोकियो, सञ्जयकुमार मण्डललाई जिम्मेवारी
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै





