म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको छ ।
बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि बेससहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था रहेको र चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एक÷दुई दिन लाग्न सक्ने उनको भनाइ छ ।
बुधबार कुनौटामा दुईतर्फबाट छ वटा एक्साभेटर र त्यतिकै संख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माको भनाइ छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको वर्षात्पछिको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । असोज ८ देखि ११ गतेको झरिपछि कालीगण्डकीमा आएको बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ ।
मालढुंगादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन हुनेगरी मर्मत भएको छ । पोखरेबगर देखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने र नयाँ मार्ग बनाएको ठाउँमा ग्रेड, घुम्ती मिलाउने, फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
पोखरेबगर पुलमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकले जोड्ने संरचना तयार पार्ने काम भइरहेको छ । आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजनाका प्राविधिक विनोद पौडेलले बताए ।
सुरुआती चरणमा रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।
राहुघाटको विद्युतगृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।
सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।
‘सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,’ उनले भने, ‘आर्थिक वर्ष २०७३÷७४ मा सुरु भएको यस आयोजनामा यसपालीको विपद्ले हालसम्मकै ठूलो क्षति पु¥याएको छ ।’
८० करोड रुपैयाँदेखि ९० करोड क्षति पुगेको यो सडक पुनर्निर्माणका लागि तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
काठमाडौंलगायतका सहरमा चीनबाट आयात गरिएका सामान बोकेर आउका ५०० वटा कन्टेनर सडक मर्मत सकिँदाबित्तिकै गन्तव्यतर्फ जानका लागि प्रतीक्षा गरिरहेका छन् । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ, तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।
सम्बन्धित समाचार
पर्वतको जलजलामा २५ घर बगे
बागलुङमा पहिरोबाट जनधनको ठूलो क्षति, १० जनाको मृत्यु, एक बेपत्ता
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
पहिरोले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध
प्रहरीबाट छुटेपछि चोलेन्द्रले मागे सुरक्षा
बागलुङ पहिरोः मृतकको संख्या १२ पुग्यो
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
मन्त्रिपरिषद बैठक बस्दै





