काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा सञ्चालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा तालिमरत १ हजार २९६ जना प्रशिक्षार्थी जवानहरू दीक्षित भएका छन् ।
१९ मंसिर २०८२ देखि सञ्चालन भएको करिब १० महिना अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरू बिहीबार (२९ असोज) दीक्षित भई कार्यक्षेत्र प्रवेश गरेका छन् ।
प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट १२३ जना, पाथीभरा जवान तालिम शिक्षालय झापाबाट ११७, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट ११६, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटबाट २३३ र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११९ जना दीक्षित भएका छन् ।

यसैगरी हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराबाट ११५ जना, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीबाट १२५ जना, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेबाट ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुर, कैलालीबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय बनबेहडा, कैलालीबाट ११९ जना दीक्षित भएका हुन् ।
तालिमका क्रममा प्रशिक्षार्थीहरूले हासिल गरेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, फौजी कला कौशल र दक्षताले उनीहरूमा अनुशासन, इमानदारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता तथा सांगठनिक जिम्मेवारीबोध गराउनुका साथै यसले कार्यक्षेत्रमा व्यावसायिक मर्यादा र उच्च नैतिक आचरण कायम राख्दै राष्ट्र र नागरिकको सेवामा समर्पित रहन प्रेरित गर्ने सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।
नेपाल सरकारको आर्थिक सुशासन तथा पारदर्शिताको नीतिको पूर्ण रूपमा पालना गर्दै यस आधारभूत तालिमहरूको दीक्षान्त कवाज मितव्ययी ढंगबाट सम्पन्न भएको मुख्यालयले जनाएको छ ।

संगठनको आधारस्तम्भ, शक्ति र सफलताका वास्तविक संवाहक मानिने जवानहरू एकै पटक उल्लेखित संख्यामा दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्दा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्दै आइरहेको सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षालगायतका महत्पूर्ण जिम्मेवारी निर्वाहमा टेवा पुग्ने विश्वास पनि सशस्त्र मुख्यालयले लिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरको प्रमुख आतिथ्यमा पाथीभरा जवान तालिम शिक्षालय झापा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यमा यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सञ्चालित आधारभूत तालिमको दीक्षान्त कवाज सम्पन्न भएको हो ।
यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित आधारभूत तालिमको सोही प्रष्ठिानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र खड्का, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कँडेल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी नायव महानिरीक्षक किरण बस्नेत, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारी, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र कुँवर र बडिमालिका जवान तालिम शिक्षालय बनवेहडा कैलालीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको हो ।
सम्बन्धित समाचार
संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित
चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
सुन तस्करीको ‘ट्रान्जिट हब’ काठमाडौं
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू
प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक प्रहरी कार्यक्रममा, भने–नैतिकता र निष्ठामा सम्झौता नगर्नू
बैकको केवाइसी अपडेटको बहानामा करिब ५० लाख ठगी गर्ने गिरोह पक्राउ
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
विद्यालाई अघि सारेर राष्ट्रिय भेलामा जुट्यो एमाले






