स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमण बढे सगै थप उपचारका लागि आइसोलेसन बनाउने काम तिब्र पारिएको छ । जिल्ला अस्पतालमा १० बेडको मात्रै रहेको आइसोलेसन अब स्याङ्जामा एक सय बेडको तयारी भएको हो ।
गण्डकी प्रदेश सरकारले स्याङ्जा सदरमुकाम स्थित जिल्ला अस्पताल, भीरकोट स्थित कालिका सामुदायिक अस्पताल र गल्याङ् स्थित गल्याङ् नगर अस्पतालमा आइसोलेसनका लागि सहयोग गरेको थियो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका ३ ठाँउमा सुबिधा सम्पन्न आइसोलेसन कक्ष तयार भए सगै अब कोरोना संक्रमण देखिएमा कुनै समस्या नहुने बताइएको छ । अस्पतालको पूर्वाधार भएका ठाँउलाई आईसोलेशनमा परिणत गरिएपछि उपचारमा समेत कठिनाई नहुने बुझिएको छ ।
पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको समुदायले स्थापना गरको नगर अस्पताललाई आईसोलेशनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आइसोलेशन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आइसोलेशनमा परिणत गर्नका लागि तत्काल प्रदेश सरकारबाट रु १० लाख प्राप्त भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए । यो रकम निर्माण र संक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गरिने प्रजिअ क्षेत्रीले बताए ।
क्वारेन्टीनको जिम्मा स्थानीयतहले र आईसोलेसनको जिम्मा प्रदेश सरकारले लिएको भन्दै प्रजिअ क्षेत्रीले भने, ‘आइसोलेसनका लागि अपुग रकम प्रदेशबाट शोधभर्ना हुँदै जानेछ ।’ प्रजिअ क्षेत्री स्याङ्जामा सरुवा भई आए लगत्तै गल्याङमा आईसोलेसन निर्माणका लागि सक्रियता देखाएका हुन् । जिल्लामा संक्रमित बढिरहेको जानकारी पाउनासाथ सम्भव भएको र अस्पतालका पूर्वाधार भएको ठाँउलाई सुबिधा सम्पन्न आईसोलेसन बनाउन प्रशासन सक्रिय भएको प्रजिअ क्षेत्रीले बताए ।
गल्याङको आइसोलेसनमा मंगलबार नै चापाकोटका ३ जना संक्रमितलाई राखिएको प्रजिअ क्षेत्रीले जानकारी दिए । यसअघि कालिका सामुदायिक अस्पतालमा ५० शैयाको आईसोलेशन वार्ड तयार गरी प्रयोगमा ल्याएको थियो जहाँ अहिले पनि ५० जना कोरोना संक्रमितलाई राखिएको छ । कालिका सामुदायिक अस्पताललाई आइसोलेशन वार्डमा परिणत गर्न प्रदेश सरकारबाट तत्काल १० लाख उपलव्ध गराईएको थियो भने संक्रमितहरुको खानाको व्यवस्था, उपचार खर्च र स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुबिधा प्रदेशले ब्यहोर्ने स्वास्थ्य प्रमुख शर्माले बताए ।त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा पनि १० बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड रहेको छ ।
पुतलीबजार नगरपालिकाको समन्वयमा निर्माण गरिएको आइसोलेशनको व्यवस्थापनका लागि प्रदेशले रु १० लाख उपलव्ध गराएको जिल्ला अस्पतालका प्रमुख डाक्टर शुसिल मरासिनीले जानकारी दिए । स्याङजामा हाल सम्म कोरोना संक्रमणको संख्या ६४ पुगेको छ भने ७ जना निको भएर घर फर्केका छन् । अन्यको उपचार भएको छ । एक जनाको निधन भएको छ ।






