कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डगसहित सशस्त्र प्रहरी बलको निगरानी

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन देशका प्रमुख सीमा नाकाहरूमा विशेष तालिम प्राप्त कुकुरसहितको निगरानी बढाउँदै लैजाने सांगठनिक नीतिअनुसार कञ्चनपुर जिल्लास्थित गड्डाचौकी भन्सार नाकामा पनि तालिम प्राप्त डगसहितको गस्ती तथा जाँच सुरु गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले शनिबार कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा परिचालन हुने डग स्क्वाडको उद्घाटन गरे ।

२०८० सालमा झापाको काँकडभिट्टा, २०८१ सालमा पर्साको वीरगञ्ज र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त डग परिचालन गरिएको थियो भने यस वर्ष बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकी गरी थप दुई नाकामा तालिम प्राप्त डगसहितको टोली परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालले यसअघि नै चार प्रमुख सीमा नाकाहरूमा तालिम प्राप्त डगसहितको टोली परिचालन गरी सीमा सुरक्षा र जाँचलाई प्रभावकारी बनाउँदै आएकोमा मुख्य सीमा नाकाहरूमा तालिम प्राप्त डगसहितको टोली परिचालनबाट अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी र उपलब्धिमूलक नतिजा प्राप्त भएकाले संगठनको नीतिअनुसार गड्डाचौकी नाकामा पनि डग स्क्वाडको थप परिचालन गरिएको हो ।

हाल सशस्त्र प्रहरी बल, नेपालमा तालिम प्राप्त डगको कुल ३० वटा दरबन्दी रहेको छ । सीमा नाकाहरूमा हुनसक्ने गैरकानुनी गतिविधि नियन्त्रण गरी सीमा सुरक्षालाई थप चुस्त र प्रविधिमैत्री बनाउन डगको दरबन्दी पर्याप्त मात्रामा वृद्धि भएमा देशका अन्य सीमानाकाहरूमा समेत क्रमशः तालिम प्राप्त डगसहितको टोली परिचालन गर्न सहज हुने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का