एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य

काठमाडौं । नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो । डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको उत्साह सधैँ ठूलो शक्ति रह्यो ।

तर खेलाडीको भविष्य, घरेलु प्रतियोगिताको नियमितता, पूर्वाधार, व्यावसायिक लगानी र संस्थागत स्थायित्वका प्रश्न सँगसँगै रहिरहे। नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवात यही पृष्ठभूमिमा भएको हो ।

यसको महत्व क्रिकेट खेलाउने अर्को प्रतियोगिता थपिनुमा मात्र होइन, खेललाई नियमित लगानी, प्रायोजन, प्रशारण, टिकट विक्री, खेलाडीको पारिश्रमिक र टोली व्यवस्थापनसँग जोड्ने प्रयासमा छ । सन् २०२४ मा शुरु भएको एनपीएलले तीन संस्करणसम्म आइपुग्दा घरेलु क्रिकेटको व्यावसायिक सम्भावना देखाएको छ ।

पहिलो संस्करणले प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनायो, दोस्रोले यसको बजार विस्तार हुने संकेत दियो र तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता तथा निर्णय पुनरावलोकन प्रणालीसहित नयाँ चरणमा प्रवेश गरेको छ । तथापि, एनपीएलको वास्तविक सफलता दर्शकको भीड वा विदेशी खेलाडीको चर्चाबाट मात्र होइन, नेपाली क्रिकेटमा यसले छाड्ने दीर्घकालीन प्रभावबाट मापन गरिनुपर्छ ।

तीन संस्करणको इतिहास, उपाधि र प्रतिष्पर्धाको बदलिँदो स्वरूप

एनपीएलको पहिलो संस्करण सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भयो । आठ टोली सहभागी प्रतियोगितामा ३२ खेल भए । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स पहिलो च्याम्पियन बन्यो । सुदूरपश्चिमले बनाएको १८४ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो संस्करण सन् २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना भयो । त्यसमा पनि आठ टोली र ३२ खेलकै संरचना कायम रह्यो । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले उपाधि जित्यो । यसरी पहिलो दुई संस्करणमा सुदूरपश्चिम लिग चरणमा बलियो देखिए पनि फाइनलमा लगातार पराजित भयो । तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तालिका छ ।

प्रतियोगिता शुरु हुनुअघि नै यसको नतिजा अनुमान गर्नु उचित हुँदैन तर घोषित संरचनाले अघिल्ला दुई संस्करणको तुलनामा ठूलो संस्थागत र प्राविधिक परिवर्तन देखाउँछ । तीनै संस्करणमा आठ टोली र ३२ खेलको मूल संरचना कायम रहनुले प्रतियोगिताले आफ्नो आधारभूत ढाँचा स्थापित गरेको देखाउँछ । अब चुनौती प्रतियोगिताको आकार मात्र बढाउनु होइन, प्रतिष्पर्धाको गुणस्तर, नेपाली खेलाडीको सहभागिता र वित्तीय स्थायित्व पनि निरन्तर सुधार्नु हो ।

खेल प्रदर्शनका तथ्यांकले देखाएको प्रतिष्पर्धा

एनपीएलका पहिलो दुई संस्करणका खेल तथ्यांकले नेपाली र विदेशी खेलाडीबीचको प्रतिष्पर्धा, ब्याटिङको गति र बलिङको प्रभाव बुझ्न मद्दत गर्छन् । पहिलो संस्करणमा जनकपुरका लाहिरु मिलान्था २९३ रनसहित सर्वाधिक रन बनाउने खेलाडी बने ।

दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ३२३ रन बनाए र प्रतियोगितामा शतकसमेत प्रहार गरे । उनले कर्णाली याक्सविरुद्ध अविजित १०८ रन बनाएका थिए । दोस्रो संस्करणमा विराटनगर किङ्सले २२० रनभन्दा बढीको टोली स्कोर बनाएर ब्याटिङको आक्रामक सम्भावना देखायो ।

बलिङतर्फ दुवै संस्करणमा स्कट कुगेलेइन प्रभावशाली रहे । दुई संस्करणका उपलब्ध खेल तथ्यांकको संकलनअनुसार उनले कुल २७ विकेट लिएका छन् । सोही संकलनमा करण केसीले २५ र अविनाश बोहराले २४ विकेट लिएको देखिन्छ । सन्दीप लामिछानेले पनि दुवै संस्करणमा प्रभावशाली प्रदर्शन गरे । यी तथ्यांकले प्रतियोगितामा केही खेलाडीको व्यक्तिगत क्षमता मात्र होइन, नियमित टोलीगत क्रिकेटले खेलाडीलाई प्रदर्शनको मञ्च दिएको पनि देखाउँछन् ।

यद्यपि तथ्यांकको स्रोत र दायरा बुझ्नु आवश्यक छ । उपलब्ध खेल विवरणमा समेटिएका खेलका आधारमा निकालिएका कुल तथ्यांक र आधिकारिक करियर तथ्यांक एउटै हुँदैनन् । पहिलो दुई संस्करणका रन र विकेट एनपीएलको प्रतियोगिता इतिहासमा सुरक्षित भए पनि ती खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आधिकारिक टी–२० करियर तथ्यांकमा गणना भएका थिएनन्। तेस्रो संस्करणदेखि यही अवस्थाको अन्त्य हुँदैछ ।

आईसीसीको मान्यताः प्रतियोगिताको सबैभन्दा ठूलो संस्थागत फड्को

तेस्रो संस्करणलाई अघिल्ला दुई संस्करणभन्दा गुणात्मक रूपमा फरक बनाउने प्रमुख परिवर्तन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक स्वीकृति हो । सन् २०२६ अक्टोबर १६ मा प्राप्त स्वीकृतिअनुसार तेस्रो संस्करणका खेलले आधिकारिक टी–२० मान्यता पाउनेछन्। यसको अर्थ प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र स्थापित गरेका व्यक्तिगत कीर्तिमान आधिकारिक टी–२० करियर तथ्यांकमा गणना हुनेछन् ।

यो परिवर्तन पहिलो र दोस्रो संस्करणमा पछाडि फर्केर लागू हुने होइन, यसको प्रभाव तेस्रो संस्करणबाट शुरु हुन्छ । आधिकारिक मान्यताले एनपीएलको विश्वसनीयता बढाउँछ, अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्छ र नेपाली खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट अभिलेखमा जोड्छ । यसले विदेशी टोली, प्रशिक्षक र प्रतिभा खोज्ने विश्लेषकको ध्यान नेपाली खेलाडीमा पर्न सक्ने सम्भावना पनि बढाउँछ ।

तर आईसीसीको मान्यता पाउनु र नेपाली खेलाडी स्वतः विदेशी लिगमा छनोट हुनु फरक कुरा हुन् । त्यसका लागि खेलाडीको सीप, निरन्तर प्रदर्शन, शारीरिक तन्दुरुस्ती, प्रतिस्पर्धात्मक स्तर र अन्तर्राष्ट्रिय अवसरसँग जोडिने व्यवस्थापन पनि आवश्यक हुन्छ । मान्यता एउटा ढोका हो; त्यो ढोकाबाट अघि बढ्न खेलाडी र नेपाली क्रिकेट संस्थाले थप काम गर्नुपर्छ ।

अर्को महत्त्वपूर्ण पक्ष, यो स्वीकृतिले तेस्रो संस्करणलाई आधिकारिक बनाएको हो, एनपीएलका सबै भावी संस्करण स्वतः स्वीकृत हुन्छन् भन्ने होइन । प्रतियोगिताले भविष्यमा पनि नियम, प्रशासन र खेल सञ्चालनका आवश्यक मापदण्ड पूरा गर्नुपर्छ ।

निर्णय पुनरावलोकन प्रणालीको प्रवेशः प्रविधि, निष्पक्षता र अम्पायरिङको नयाँ परीक्षा

तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली अर्थात डीआरएस प्रयोग हुँदैछ । यसमा एलबीडब्लू निर्णयको समीक्षा गर्न त्रिआयामिक बलमार्ग विश्लेषण, ब्याटमा बल लागेको वा नलागेको जाँच गर्न ध्वनि तथा किनारा पहिचान गर्ने प्रविधि र रनआउट, स्टम्पिङ तथा केही अन्य निर्णयको दृश्य समीक्षा समावेश छन् । अगाडिको खुट्टा सीमारेखाभन्दा बाहिर परेर गरिएको नो–बल, बलको उचाइका आधारमा दिइने वाइड र छक्काको दूरीसम्बन्धी मापनसमेत घोषित व्यवस्थामा समेटिएका छन् ।

प्रत्येक टोलीले एक इनिङमा दुईवटा असफल पुनरावलोकन लिन पाउनेछ । क्रिकेट संघ नेपालका सचिव पारस खड्काले यस प्रविधिको लागत करिव डेढदेखि दुई करोड रुपैयाँ पर्ने बताएका छन्, जसलाई क्रिकेट संघ र आठ टोलीले साझेदारी गर्नेछन् ।

डीआरएसले विवादित निर्णयको संख्या घटाउन र प्रतियोगिताप्रति विश्वास बढाउन सहयोग गर्न सक्छ । तर प्रविधि राख्दैमा प्रत्येक निर्णय विवादरहित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रणालीको सही सञ्चालन, अम्पायरको तालिम, दृश्य तथा ध्वनि विश्लेषणको गुणस्तर र समीक्षा प्रक्रिया स्पष्ट हुनुपर्छ ।

डीआरएसले खेलमा करिव २५ देखि ३० मिनेट थप्न सक्ने भएकाले समयतालिका र प्रसारण व्यवस्थापनमा पनि असर पर्छ। यसले घरेलु अम्पायरलाई आफ्ना निर्णयको गुणस्तर सुधार्ने अवसर दिन्छ, तर त्यसलाई सार्वजनिक अपमानका रूपमा होइन, प्रशिक्षण र व्यावसायिक विकासको प्रक्रियाका रूपमा लिनुपर्छ । डीआरएसको सफल प्रयोगले एनपीएललाई प्रविधियुक्त प्रतियोगिताका रूपमा स्थापित गर्न सक्छ, असफल सञ्चालनले भने खर्च बढाएर पनि अपेक्षित विश्वास सिर्जना नगर्न सक्छ ।

कीर्तिपुर मैदानको स्तरोन्नति र दर्शकको अनुभव

एनपीएलको विकास प्रतियोगिताको मैदान र दर्शक सुविधामा पनि देखिन्छ । दोस्रो संस्करणअघि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति खेल सञ्चालन गर्न सकिने गरी बत्ती जडान गरिएको थियो । यसले खेलको समयतालिका र टेलिभिजन प्रसारणका लागि थप अनुकूल परिस्थिति बनायो ।

तेस्रो संस्करणका लागि करिव दुई हजार थप दर्शक अट्ने व्यवस्था, छाना भएको दर्शकदीर्घा, आधुनिक विद्युतीय परिधि पाटी, सुधारिएको अङ्कपाटी, खेलाडीका लागि व्यवस्थित विश्रामस्थल र सञ्चारकर्मीका लागि मिडिया केन्द्रजस्ता सुविधा थपिएका छन् । खेलाडीका परिवार र दर्शकका लागि केही छुट्टै सुविधा पनि तयार गरिएको छ ।

यस्ता सुधारले मैदानमा खेल हेर्ने अनुभव मात्र बढाउँदैनन्; अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारणमा प्रतियोगिताको दृश्य प्रश्तुति र व्यावसायिक आकर्षण पनि सुधार्छन् । तर एउटा मैदानको स्तरोन्नति र देशको क्रिकेट पूर्वाधार विकासलाई एउटै मान्न मिल्दैन । लगातार धेरै खेल एउटै मैदानमा सञ्चालन गर्दा पिचको अवस्था, अभ्यास सुविधा, दर्शकको आवागमन, सवारीसाधन पार्किङ, शौचालय, सुरक्षा र खेलाडीको आरामजस्ता पक्षमा दबाब पर्न सक्छ ।

त्यसैले मैदानको सुधारलाई नियमित मर्मतसम्भार, पिच व्यवस्थापन, खेलाडी र दर्शकका लागि सुरक्षित सुविधा तथा दीर्घकालीन सञ्चालन योजनासँग जोड्नुपर्छ । एनपीएलको लोकप्रियताले कीर्तिपुरमा लगानी बढाएको छ भने अब यही अनुभवलाई देशका अन्य क्रिकेट मैदानको सुधारमा पनि उपयोग गर्न सकिन्छ ।

विदेशी खेलाडीः खेलको आकर्षणदेखि खेलकुटनीतिसम्म

तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको सहभागिता एनपीएलको प्रमुख आकर्षण बनेको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इण्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता खेलाडीले प्रतियोगिताको अन्तर्राष्ट्रिय दृश्यता बढाउने अपेक्षा छ ।

इंग्ल्याण्डका मोइन अली र न्युजिल्याण्डका जिम्मी निसमजस्ता अनुभवी बहुआयामिक खेलाडीको सहभागिताले पनि खेलको गुणस्तर र रणनीतिक विविधता बढाउन सक्छ । वार्नर अस्ट्रेलियाले जितेका सन् २०१५ र २०२३ का एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी–२० विश्वकप टोलीका महत्वपूर्ण सदस्य थिए । मिलर लामो समयदेखि दक्षिण अफ्रिकाका प्रभावशाली सिमित ओभरका ब्याटर हुन् भने रसेल विश्वभरका टी–२० प्रतियोगितामा आफ्नो आक्रामक ब्याटिङ र बलिङका लागि परिचित छन् ।

यी खेलाडीको उपस्थितिलाई उनीहरूले बनाउने रन वा लिने विकेटमा मात्र सिमित गर्न हुँदैन । विश्वस्तरीय खेलाडीको नेपाल आगमनले नेपाली क्रिकेटको छवि अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सक्छ, सामाजिक सञ्जालमा नेपालको दृश्यता बढाउन सक्छ र खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सक्छ ।

उनीहरूलाई सद्भावना दूत भन्न सकिने सम्भावना यही हो, तर त्यो प्रभाव स्वतः सिर्जना हुँदैन । खेलाडीको नेपाल बसाइ, स्थानीय समुदायसँगको भेटघाट, युवा क्रिकेट प्रशिक्षण शिविर, सञ्चार संवाद र नेपालको सांस्कृतिक तथा पर्यटन पहिचानसँग जोडिएका गतिविधि योजनावद्ध भए मात्र यो अवसर दीर्घकालीन लाभमा बदलिन्छ ।

नेपाली खेलाडीको अवसर, ज्ञान हस्तान्तरण र आर्थिक सुरक्षा

एनपीएलको सबैभन्दा महत्वपूर्ण प्रश्न विदेशी खेलाडी कति चर्चित छन् भन्ने होइन, उनीहरूको उपस्थितिबाट नेपाली खेलाडीले के सिक्छन् भन्ने हो । अन्तर्राष्ट्रिय खेलाडीको साथमा अभ्यास गर्ने, एउटै खेलाडी विश्रामकक्ष साझा गर्ने र उच्च दबाबको खेलमा उनीहरूको निर्णय प्रक्रिया नजिकबाट हेर्ने अवसर नेपाली खेलाडीका लागि मूल्यवान हुन्छ । खेलपूर्व मानसिक तयारी, शारीरिक तन्दुरुस्ती, खानपान, खेलको दृश्य विश्लेषण, विपक्षीको कमजोरी पहिचान र अन्तिम ओभरमा दबाब व्यवस्थापनजस्ता पक्ष खेलाडीले प्रत्यक्ष सिक्न सक्छन् ।

तर ज्ञान हस्तान्तरण स्वतः हुँदैन । टोलीले प्रशिक्षण सत्र, युवा खेलाडीका लागि विशेष अभ्यास, खेलपछिको विश्लेषण र अनुभवी खेलाडी तथा प्रशिक्षकसँग छलफलका अवसर सुनिश्चित गर्नुपर्छ । अर्कोतर्फ, एनपीएलले घरेलु खेलाडीलाई आर्थिक प्रतिफल पाउने मञ्च पनि दिएको छ। खेलाडी छनोट प्रक्रिया र सम्झौतामार्फत खेलाडीले प्रतियोगितामा सहभागी भएर पारिश्रमिक कमाउने अवसर पाउँछन् । यसले क्रिकेटलाई पूर्णकालीन पेसाका रूपमा अपनाउने सम्भावना बढाउँछ ।

तर पारिश्रमिकको वास्तविक असर बुझ्न खेलाडीको वर्गअनुसारको रकम, भुक्तानीको समय, करारका सर्त र चोटपटकको अवस्थामा उपलब्ध सुरक्षा सार्वजनिक हुनुपर्छ । खेलाडी मात्र होइन, प्रशिक्षक, शरीर उपचार विशेषज्ञ, तन्दुरुस्ती प्रशिक्षक, तथ्यांक विश्लेषक, अम्पायर, मैदानका हेरालु, प्रशारणकर्मी र अन्य प्राविधिक कर्मचारीका लागि पनि लिगले रोजगारी सिर्जना गर्न सक्छ । एनपीएलले प्रतिभा पलायन रोक्ने आधार दिन सक्छ, तर खेलाडीको दीर्घकालीन भविष्य सुरक्षित गर्न राष्ट्रिय टोली, उमेर समूह, घरेलु प्रतियोगिता र प्रशिक्षण पूर्वाधारमा निरन्तर लगानी आवश्यक हुन्छ ।

वित्तीय तथ्यांकः दोस्रो संस्करणको आम्दानी र तेस्रो संस्करणको बजार मूल्य

एनपीएलको व्यावसायिक विकास बुझ्न सबैभन्दा महत्वपूर्ण तथ्यांक दोस्रो संस्करणको आधिकारिक आय–व्यय विवरण र तेस्रो संस्करणका प्रशारण तथा टिकट विक्री अधिकार हुन् । क्रिकेट संघ नेपालले अनुमोदन गरेको विवरणअनुसार दोस्रो संस्करणको कुल आम्दानी ४७ करोड ३६ लाख ५९ हजार रुपैयाँभन्दा बढी थियो । प्रतियोगिता सञ्चालन खर्च २१ करोड ९६ लाख रुपैयाँभन्दा बढी भयो । खर्च कटाएपछि आम्दानी बाँडफाँटअघि करिव २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ बाँकी रह्यो ।

प्रकाशित विवरणअनुसार बाँडफाँटयोग्य रकमको ५० प्रतिशत टोलीलाई वितरण गर्ने व्यवस्था थियो, आठ टोलीलाई जम्मा करिव १६ करोड १८ लाख रुपैयाँ दिइयो भने क्रिकेट संघले करिव ९ करोड २१ लाख रुपैयाँ राख्यो। यसले एनपीएलको दोस्रो संस्करणले ठूलो आर्थिक कारोबार गर्नसक्ने क्षमता देखायो। तर आम्दानी र नाफा एउटै कुरा होइनन्, र बाँडफाँटअघिको रकमलाई अन्तिम खुद नाफा भन्न पनि मिल्दैन ।

तेस्रो संस्करणका लागि क्रिकेट संघले नेटटिभीलाई विश्वव्यापी इन्टरनेट प्रसारण अधिकार १८ करोड ४ लाख रुपैयाँमा, हिमालय टेलिभिजनलाई नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार करिव १४ करोड ६४ लाख रुपैयाँमा र इसेवालाई टिकट विक्री अधिकार ८५ लाख रुपैयाँमा दिएको छ । तीनवटै अधिकारको घोषित मूल्य जोड्दा करिव ३३ करोड ५३ लाख रुपैयाँ हुन्छ । यो रकम अधिकार सम्झौताबाट आउने मूल्य हो, प्रतियोगिताको कुल आम्दानी होइन । दोस्रो संस्करणका अधिकार सम्झौताको दायरा र तेस्रो संस्करणका सम्झौता पूर्ण रूपमा समान छन् कि छैनन् भन्ने कुरा नहेरी एउटै शिर्षकमा सिधा तुलना गर्नु पनि सावधानीपूर्ण हुँदैन । तथापि, तेस्रो संस्करणको अधिकार विक्रीले एनपीएलको व्यावसायिक बजारप्रति कम्पनीहरूको चासो बढेको स्पष्ट संकेत दिन्छ ।

काठमाडौंको सीमा नाघेरः पोखरा, भैरहवा र क्षेत्रीय विस्तार

एनपीएलको अहिलेको संरचनामा एउटा प्रमुख सीमा प्रतियोगिताका सबै खेल कीर्तिपुरमै केन्द्रित हुनु हो । आठ टोलीले विभिन्न क्षेत्रको प्रतिनिधित्व गरे पनि खेल हेर्न पाउने प्रत्यक्ष अवसर, मैदानसँग जोडिएको कारोबार र स्थानीय आर्थिक लाभको ठूलो हिस्सा एउटै क्षेत्रमा केन्द्रित हुन्छ ।

एनपीएललाई राष्ट्रिय लिगका रूपमा अझ प्रभावकारी बनाउन भविष्यमा पोखरा, भैरहवा, विराटनगर, जनकपुर, धनगढी वा नेपालगन्जजस्ता शहरमा केही खेल आयोजना गर्ने सम्भावना अध्ययन गर्नुपर्छ । पोखरामा क्रिकेटलाई पर्यटनसँग जोड्न सकिन्छ; भैरहवामा सीमापारिका दर्शक र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अवसर खोज्न सकिन्छ; विराटनगर र धनगढीमा स्थानीय समर्थकको सहभागिता बढाउन सकिन्छ । तर कुनै सहरमा क्रिकेटप्रतिको उत्साह हुनु र त्यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न आवश्यक पूर्वाधार उपलब्ध हुनु फरक कुरा हो ।

पिचको गुणस्तर, रातिको खेलका लागि बत्ती, प्रशारणका लागि भरपर्दो इन्टरनेट र विद्युत, खेलाडी तथा अधिकारीको आवास, सुरक्षा, यातायात, दर्शक क्षमता र सञ्चालन खर्चको तुलनात्मक मूल्यांकन आवश्यक हुन्छ । त्यसैले एकैपटक सबै खेल देशभर छरिनुभन्दा शुरुमा छनोट गरिएका केही खेल अन्य शहरमा आयोजना गरेर परीक्षण गर्नु व्यावहारिक हुन सक्छ ।

दीर्घकालमा घरेलु मैदान र बाहिरी मैदानमा खेल्ने शैलीको संरचनाले टोली र स्थानीय समुदायबीच सम्बन्ध बलियो बनाउन सक्छ । यसले एनपीएललाई काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताबाट देशका विभिन्न क्षेत्रमा आर्थिक र सामाजिक प्रभाव सिर्जना गर्ने लिगमा रूपान्तरण गर्न सहयोग पु¥याउन सक्छ ।

फुटबल, कबड्डी र भलिबलका लागि एनपीएलको पाठ

एनपीएलको व्यावसायिक विस्तारले नेपाली खेलकुदका अन्य विधालाई पनि सम्भावनाको सन्देश दिएको छ । नेपाल सुपर लिगमार्फत फुटबलमा टोलीमा आधारित व्यावसायिक संरचना विकास गर्ने प्रयास भएको छ । भलिबलको राष्ट्रिय लोकप्रियता र नेपाल कबड्डी लिगजस्ता प्रतियोगिताको सम्भावनाले पनि खेलकुदलाई व्यवस्थित बजारमा रूपान्तरण गर्ने अवसर देखाउँछन् ।

भारतको व्यावसायिक कबड्डी लिगले टेलिभिजन प्रश्तुति, टोलीको पहिचान, खेलाडीको बजार मूल्य र प्रायोजनमार्फत परम्परागत खेललाई व्यावसायिक मनोरञ्जनमा बदल्न सकिने उदाहरण दिएको छ । नेपालमा पनि कबड्डीलाई तुलनात्मक रूपमा कम पूर्वाधार खर्चमा आकर्षक प्रतियोगिताका रूपमा विकास गर्न सकिन्छ ।

भलिबलमा पुरुष र महिला दुवै प्रतियोगितालाई नियमित व्यावसायिक संरचनामा जोड्दा गाउँ तथा सहरमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्चमा ल्याउन सकिन्छ । तर एनपीएलको ढाँचालाई जस्ताको तस्तै सबै खेलमा लागू गर्नु उपयुक्त हुँदैन । प्रत्येक खेलको दर्शक आधार, प्रतियोगिताको अवधि, खेलाडीको उपलब्धता, प्रशारणयोग्यता, प्रायोजन बजार र सञ्चालन खर्च फरक हुन्छ ।

टोलीमा आधारित प्रतियोगिता बनाउनु मात्र व्यावसायिक लिगको समाधान होइन, स्थिर खेलतालिका, पारदर्शी वित्तीय संरचना, खेलाडीको सुरक्षा, प्रभावकारी प्रचारप्रसार र युवा विकासको योजना पनि चाहिन्छ । राज्य, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित संघहरूले एनपीएलबाट सिकेर अन्य खेलका लागि उपयुक्त नीतिगत सहजीकरण गर्नुपर्छ। खेलमा लगानी, आर्थिक दिगोपन र व्यावसायिकता एकअर्कासँग जोडिन सके मात्र नेपाली खेलकुदको समग्र विकास सम्भव हुन्छ ।

२०२७ को आईसीसी यू–१९ महिला टी–२० विश्वकपः अन्तर्राष्ट्रिय आयोजनाको तयारी

नेपालले बंगलादेशसँग मिलेर सन् २०२७ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप संयुक्त रूपमा आयोजना गर्दैछ । प्रतियोगिता सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने तय भएको छ र काठमाडौंस्थित त्रिभूवन विश्वविद्यालय मैदान तथा माथिल्लो मूलपानी मैदान नेपालमा खेल सञ्चालनका लागि तोकिएका स्थलमध्ये हुन् । यस आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय महिला क्रिकेटको महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन गर्ने अवसर दिन्छ । एनपीएलबाट प्राप्त अनुभव यसका लागि उपयोगी हुनसक्छ ।

अन्तर्राष्ट्रिय खेलाडी र अधिकारीको आतिथ्य, होटल तथा यातायात व्यवस्थापन, टिकट विक्री, दर्शक नियन्त्रण, प्रशारण समन्वय, मैदान सञ्चालन र सुरक्षा व्यवस्थामा सिकिएका पाठ विश्वकप आयोजना गर्दा काम लाग्न सक्छन्।

डीआरएस र अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालनका नयाँ अभ्यासले पनि व्यवस्थापन टोलीलाई अनुभव थप्ने सम्भावना छ । तर एनपीएल सफलतापूर्वक सञ्चालन भयो भन्दैमा आईसीसीको अर्को प्रतियोगिता स्वतः सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।

महिला विश्वकपका लागि छुट्टै योजना, महिला खेलाडीका लागि उपयुक्त सुविधा, अभ्यास मैदान, स्वयंसेवक परिचालन, सुरक्षा, चिकित्सा सेवा र आईसीसीका प्राविधिक मापदण्ड पूरा गर्नुपर्छ । एनपीएललाई विश्वकपको पूर्वाभ्यास भन्न सकिन्छ तर वास्तविक तयारीका लागि छुट्टै कार्ययोजना, जिम्मेवारी बाँडफाँट र जोखिम मूल्यांकन आवश्यक हुन्छ । यदि नेपालले एनपीएलको व्यावसायिक अनुभवलाई संस्थागत ज्ञानमा रूपान्तरण गर्न सक्यो भने भविष्यमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमताको विकास हुन सक्छ ।

वित्तीय अनुशासन, पारदर्शिता र दीर्घकालीन चुनौती

एनपीएलको तिब्र व्यावसायिक विस्तारसँगै वित्तीय अनुशासन र संस्थागत पारदर्शिताको आवश्यकता पनि बढेको छ । प्रशारण अधिकारको मूल्य बढ्नु, विदेशी खेलाडीको सहभागिता विस्तार हुनु र टिकट बिक्रीको बजार बढ्नु सकारात्मक संकेत हुन् तर लोकप्रियताको उभारमा खर्च अत्यधिक बढ्ने वा आम्दानीको स्थायी स्रोत नबन्ने जोखिम पनि रहन्छ। टोलीमा आधारित व्यावसायिक लिगको दिगोपनका लागि खेलाडी र कर्मचारीको पारिश्रमिक समयमै भुक्तानी, करारका सर्त स्पष्ट, वित्तीय विवरणको लेखापरीक्षण र आम्दानी बाँडफाँटको पारदर्शिता आवश्यक छ ।

अन्तर्राष्ट्रिय खेलाडी र ठूलो रकम जोडिँदा भ्रष्टाचार, खेल मिलेमतो र अवैध सट्टेबाजीको जोखिमलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । क्रिकेट संघ र सम्बन्धित निकायले भ्रष्टाचारविरुद्धको शिक्षा, गोप्य उजुरी प्रणाली, खेलाडी तथा अधिकारीका लागि आचारसंहिता र प्रभावकारी अनुसन्धान संयन्त्रलाई बलियो बनाउनुपर्छ ।

टोलीका लगानीकर्ताको जिम्मेवारी पनि प्रतियोगितामा टोली उतार्ने र चर्चित खेलाडी भित्र्याउनेमा मात्र सिमित हुनुहुँदैन । सम्भव भएसम्म आम्दानीको निश्चित हिस्सा उमेर समूहको क्रिकेट, स्थानीय प्रशिक्षण केन्द्र, महिला क्रिकेट र प्रतिभा पहिचानमा पुनः लगानी गर्ने व्यवस्था गर्नुपर्छ । त्यसैगरी, लिगको आर्थिक योगदान बुझ्न कुल कारोबारसँगै रोजगारी, स्थानीय सेवा, होटल, यातायात, विज्ञापन र पर्यटनमा परेको प्रभावसम्बन्धी तथ्यांक पनि संकलन गर्नुपर्छ ।

वित्तीय विवरण नियमित सार्वजनिक भएमा लगानीकर्ता, खेलाडी, समर्थक र प्रायोजकबीच विश्वास बढ्छ । दीर्घकालीन सफलता भनेको एक सिजनमा धेरै आम्दानी गर्नु मात्र होइन, प्रत्येक संस्करणमा संस्था, खेलाडी र घरेलु क्रिकेटको आधारलाई बलियो बनाउनु हो ।

प्रतियोगिताबाट दिगो खेलकुद प्रणालीतर्फ

एनपीएलका तीन संस्करणले नेपाली क्रिकेटको विकासका तीन चरण देखाएका छन् । पहिलो संस्करणले टोलीमा आधारित प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने प्रमाणित ग¥यो । दोस्रो संस्करणले ठूलो आम्दानी, दर्शक आकर्षण र व्यावसायिक सम्भावनाको तथ्यांक प्रश्तुत ग¥यो । तेस्रो संस्करणले आईसीसीको आधिकारिक टी–२० मान्यता, डीआरएस, सुधारिएको मैदान र प्रसारण तथा टिकट विक्री अधिकारको उल्लेख्य मूल्यमार्फत प्रतियोगितालाई नयाँ स्तरमा पु¥याउने आधार तयार गरेको छ ।

तर यी उपलब्धि नेपाली क्रिकेटको अन्तिम गन्तव्य होइनन्; यिनलाई स्थायी क्षमतामा रूपान्तरण गर्ने अवसर हुन् । अब एनपीएलको मूल्यांकन विदेशी खेलाडीको नाम, दर्शकको भीड वा प्रसारण अधिकारको रकमले मात्र गर्नु हुँदैन ।

नेपाली खेलाडीको प्रदर्शन र करियरमा आएको सुधार, राष्ट्रिय टोलीलाई प्राप्त लाभ, महिला तथा युवा क्रिकेटमा गरिएको लगानी, टोलीको वित्तीय स्थायित्व, खेलाडीको सुरक्षा, क्षेत्रीय विस्तार र पूर्वाधारको दीर्घकालीन उपयोगलाई पनि उत्तिकै महत्व दिनुपर्छ ।

क्रिकेटले व्यावसायिक लिगको सम्भावना देखाएको छ भने फुटबल, कबड्डी र भलिबलले आफ्ना आवश्यकताअनुसार त्यहाँबाट सिक्न सक्छन् । अबको लक्ष्य एनपीएललाई काठमाडौँको एउटा मैदानमा सिमित प्रतियोगिता नबनाई देशका विभिन्न क्षेत्र, खेलाडीका पुस्ता र खेलकुद अर्थतन्त्रसँग जोड्नु हो ।

पहिलो संस्करणले सम्भावना देखायो, दोस्रोले बजारको आकार देखायो र तेस्रोले अन्तर्राष्ट्रिय मान्यता तथा प्रविधिको नयाँ ढोका खोलेको छ । वास्तविक परीक्षा भनेको यी उपलब्धिले नेपाली क्रिकेटलाई कति प्रतिष्पर्धी, आत्मनिर्भर, पारदर्शी र दिगो बनाउन सक्छन् भन्ने हो ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँपछिको पहिलो कारोबारमै सुनको मूल्यमा भारी गिरावट